BIZMANDU
www.bizmandu.com

एक्चुअरीका लागि बीमा कम्पनीलाई अझै पनि विदेशीकै भर, बाहिरिन्छ वार्षिक ४ करोड

२०८० माघ १

एक्चुअरीका लागि बीमा कम्पनीलाई अझै पनि विदेशीकै भर, बाहिरिन्छ वार्षिक ४ करोड
एक्चुअरीका लागि बीमा कम्पनीलाई अझै पनि विदेशीकै भर, बाहिरिन्छ वार्षिक ४ करोड

काठमाडौं। स्वदेशमा बीमकको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने (एक्चुअरी) जनशक्ति नहुँदा बीमा कम्पनीको वर्षेनि ४ करोड रुपैयाँ हाराहारी रकम बाहिरिने गरेको छ।

Tata
GBIME
Nepal Life

बीमकहरुका अनुसार प्रति वर्ष जीवन र पुनर्बीमा कम्पनीको प्रति बीमक १५ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीको प्रति बीमक १० लाख रुपैयाँसम्म एक्चुअरीमा खर्च हुने गरेको छ। बीमाङ्कीय जनशक्ति अभावमा नेपालका बीमा कम्पनीले भारत लगायत देशमा एक्चुअरी गर्दै आएका छन्।

बीमकको बीमाङ्कीय सम्बन्धी निर्देशिकाले बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र बीमाङ्कीय मूल्यांकन प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ। बीमा कम्पनीहरुले प्रस्ताव गरेको प्रडक्ट एक्च्युअरीले जोखिम मूल्यांकन तथा व्यवस्थापन गर्छ।

सोही अनुसार कम्पनीहरुले बजारमा आफ्नो प्रडक्ट बेच्छन्। बीमाङ्कीले गरेको मूल्यांकनकै आधारमा कम्पनीहरुले बोनसदर निर्धारण गर्ने गर्छन्।

जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक पौडेल कम्पनीले लिने सेवा तथा प्रडक्टको आधारमा एक्चुअरी खर्च फरक हुने बताउँछन्।

‘एक्चुअरी खर्च कम्पनीको प्रडक्ट र उसले लिने सेवा अनुसार फरक हुन्छ,’ उनले भने।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश खत्री जीवन बीमा कम्पनीको १५ लाख रुपैयाँसम्म एक्चुअरी खर्च हुने गरेको बताउँछन्।

‘एक्चुअरी कम्पनीको ‌ओभरल बिजनेसको दायित्व हेरेर ट्रयाप गर्नुपर्ने कुरा हो,’ उनले भने, ‘औसतमा हेर्दा जीवन बीमा कम्पनीको वार्षिक १५ लाख रुपैयाँसम्म खर्च हुने गरेको देखिन्छ।’

सानिमा जीआईसीका सीईओ सुद्युम्नप्रसाद उपाध्यायले निर्जीवन बीमा कम्पनीको एक्चुअरीमा हरेक वर्ष १० लाख रुपैयाँसम्म खर्च हुने गरेको बताए।

‘बीमा कम्पनीहरुले प्रत्येक वर्ष लायबिलिटी एक्चुअरी टेस्ट गर्नुपर्छ। कम्पनीको यस भ्यालुयसनमा वार्षिक प्रति कम्पनी ५ देखि १० लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘यो जीवन बीमाको तुलनामा कम हो।’

Photo: Reuters

नेको इन्स्योरेन्सका सीईओ अशोक खड्काले निर्जीवन बीमा कम्पनीको एक्चुअरी खर्च जीवन बीमा कम्पनीको तुलनामा कम रहेको बताए। उनले भने, ‘जीवनको तुलनामा निर्जीवन बीमा कम्पनीको एक्चुअरीमा धेरै खर्च हुँदैन।’

बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी कम्पनीले लिने एक्चुअरी सेवाका आधारमा रकम पनि फरक हुने बताउँछन्।

‘बीमा कम्पनीले प्रत्येक वर्ष आफ्नो सम्पत्ति र दायित्वको भ्यालूएसन गर्नुपर्ने हुन्छ। उनीहरुले एक्चुअरी गराउँदा लिने सेवा र प्रडक्टको फिचरका आधारमा रकम पनि फरक पर्छ,’ उनले भने।

एक्चुअरीमा प्राधिकरणकै वार्षिक ३५ देखि ४० लाखसम्म बाहिरिने गरेको छ।

‘बीमा कम्पनी धेरैजसोले भारतमा एक्चुअरी गर्दै आएका छन्। प्राधिकरणको हकमा पनि त्यहीँ हो।

‘हामीसँग एक जना मात्रै परामर्शदाता छन्। यसका लागि वर्षमा ३५ देखि ४० लाखसम्म प्राधिकरणकै खर्च हुन्छ,’ प्राधिकरणका एक अधिकारीले भने।

हाल नेपालमा एक जना मात्रै एक्चुअरी छन्। उनले प्राधिकरणमा कन्सल्ट्यान्टको रुपमा काम गर्दै आएका छन्।

बीमकको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त संस्थाबाट बीमाङ्की उपाधि हासिल गरेको हुनुपर्छ। त्रिभुवन विश्‍वविद्यालयले एक्चुअरी पढाउन सुरु गरे पनि पढाइ पूरा गर्नेले पूर्णरुपमा काम गर्न नपाउने प्राधिकरणका अधिकारीको भनाइ छ।

‘अहिलेसम्म नेपालमा प्रोफेसनल रुपमा एक्चुअरी पढाइ छैन। त्रिविले पढाउन सुरु गरे पनि एकेडेमिक मात्रै हो। त्यसकारण नेपालमा एक्चुअरी पढेकाहरुले पूर्णरुपमा एक्चुअरीको काम गर्न पाउँदैनन्,’ प्राधिकरणका सूचना अधिकारी अधिकारीले भने।