काठमाडौं। नेपाल टेलिकमले आगामी वैशाखमा सकिने आफ्नो जीएसएम मोबाइल सेवाको लाइसेन्स पुन: प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।
टेलिकमको १६औं वार्षिक साधारण सभामा बोल्दै टेलिकमका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले जीएसएम मोबाइल सेवाको लाइसेन्स अवधि २०८१ वैशाखमा पूरा हुने भएकाले कानुनअनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन्।
नयाँ लाइसेन्स प्राप्तिको प्रक्रिया अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिसकिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
टेलिकमको जीएसएम सेलुलर मोबाइलको लाइसेन्स २०८१ वैशाख २९ गते २५ वर्ष पुग्दैछ। त्यसअघि नै टेलिकमले पुन: लाइसेन्स प्राप्तिको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। दूरसञ्चार ऐन २०५३ ले टेलिकम कम्पनीको अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष तोकेको छ।
टेलिकमले सेलुलर मोबाइल दूरसञ्चार सेवाको लाइसेन्स शुल्क ३५ करोड ७५ लाख रुपैयाँ तिरेर नयाँ लाइसेन्स लिनेछ। जसको अवधि १० वर्ष हुने कानूनी व्यवस्था छ।
सुवेदीले फाइभजीको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहेको दाबी गर्दै
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट परीक्षणको स्वीकृति पाएपछि काम अघि बढ्ने बताए।