BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी, एक वर्षमा ४५ लाख ४१ हजारले गरे यात्रा

२०८० पुष २८

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी, एक वर्षमा ४५ लाख ४१ हजारले गरे यात्रा
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाई यात्रा गरेका छन्।

Tata
GBIME
Nepal Life

सन् २०२२ मा ७९ लाख ५४ हजार ४ सय ९५ जनाले हवाई यात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा ९ दशमलव २ प्रतिशतले बढी हो। कुल यात्रु आवागमन (आन्तरिक र अन्तर्राष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई यात्रा गरेका थिए। विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १ सय ३७ ले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो।

यो सङ्ख्या कोभिड-१९ अघि सन् २०१८ को भन्दा ४ दशमलव ५ प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कुल यात्रु आगमन पनि बढेको जानकारी दिए। कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा ९ दशमलव २ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार ४ सय ६० (गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले) वृद्धि भएको छ। जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ। उक्त अवधिमा कार्गो आवागमन २२ हजार ९ सय ४६ टन भएको छ। जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ।

आन्तरिकतर्फ हवाई यात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार ३ सय २६ पुगेको छ। जुन गत वर्षको तुलनामा ७ दशमलव ०७ प्रतिशत कम हो। उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९ सय ८९ उडान अवतरण भएका छन्। उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ।

आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले वृद्धि भई ३ हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए। उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ ९ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्‍चालनमा छन् भने अन्तर्राष्ट्रियमा ३ नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन्।

नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो। रासस