BIZMANDU
www.bizmandu.com

त्रिभुवन विश्‍वविद्यालयको उपकुलपतिका लागि पुनः आवेदन माग, १५ दिनभित्र पेस गर्नुपर्ने

२०८० पुष २३

त्रिभुवन विश्‍वविद्यालयको उपकुलपतिका लागि पुनः आवेदन माग, १५ दिनभित्र पेस गर्नुपर्ने
त्रिभुवन विश्‍वविद्यालयको उपकुलपतिका लागि पुनः आवेदन माग, १५ दिनभित्र पेस गर्नुपर्ने

काठमाडौं। त्रिभुवन विश्‍वविद्यालयले उपकुलपति नियुक्तिका लागि सोमबार पुनः आवेदन माग गरेको छ। गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरखास्त आह्‍वान रद्द गर्न निर्देशन दिएका थिए।

Tata
GBIME

छनोट तथा सिफारिस समितिले शुक्रबार प्रकाशन गरेको सूचनामा ‘विश्‍वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो।

सो बुँदाले योग्य व्यक्ति उपकुलपति बन्‍ने बाटोबाट बञ्चित भएको भन्दै आलोचना भएको थियो। त्यसपछि प्रचण्डले पदाधिकारीमा ३ वर्षे अनुभव नराख्न निर्देशन दिएका थिए। प्रधानमन्त्री त्रिविका कुलपति हुन्।

विज्ञापनमा तोकिएको उक्त योग्यताले पूर्व पदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउने प्रचण्डको भनाइ छ। प्रचण्डले त्रिविको उपकुलपतिमा राजनीतिक नियुक्ति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समितिले सोमबार जारी गरेको सूचनामा कुनै योग्यता उल्लेख गरिएको छैन। जारी सूचनामा समितिले इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा आवेदन दिन भनेको छ।

सूचना प्रकाशित भएको मिति (आज) ले १५ दिनभित्र कार्यालय समयमा मन्त्रालयमा दरखास्त पेस गर्न समितिले आह्‍वान गरेको छ।