काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रम गरेको छ। बैंकले मंगलबार १८ औं वर्षमा प्रवेश गरेको अवसरमा सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम गरेको हो।
कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ र चितवनको नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक र दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ।
९ वटा शाखामा ९२७ जनाले रगतदान गरेका छन्।
कार्यक्रममा नि:शुल्करुपमा आँखा, रक्तचाप र मधुमेह परीक्षण पनि गरिएको थियो। ७८३ जनाको आँखा जाँच गरिएको तथा १ हजार ४८ जनाको रक्तचाप र मधुमेह परीक्षण गरिएको बैंकले जनाएको छ।