BIZMANDU
www.bizmandu.com

निजगढ विमानस्थलको इन्जिनियरिङ डिजाइनको मस्यौदा प्राधिकरणमा, ईआईएको तयारी

२०८० पुष १५

निजगढ विमानस्थलको इन्जिनियरिङ डिजाइनको मस्यौदा प्राधिकरणमा, ईआईएको तयारी
निजगढ विमानस्थलको इन्जिनियरिङ डिजाइनको मस्यौदा प्राधिकरणमा, ईआईएको तयारी

काठमाडौं। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा परामर्शदाता कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई डिटेल इन्जिनियरिङ डिजाइनको अन्तिम मस्यौदा प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
Nepal Life

परामर्शदाता कम्पनी सिजी इन्फ्राटा बीडीए अथोरिटी जेभीले इन्जिनियरिङ डिजाइनको अन्तिम मस्यौदा बुझाएकाले अब काम अगाडि बढाउने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

‘परामर्शदाता कम्पनीले इन्जिनियरिङ डिजाइनको अन्तिम मस्यौदा पेस गरिसकेको छ। अब विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अघि बढाइनेछ,’ उनले भने।

सरकारले विमानस्थल निर्माण सम्बन्धमा डेढ वर्षअघि हवाईविज्ञ वीरेन्द्रबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय विज्ञ समिति गठन गरेपछि प्राधिकरणले सिजी इन्फ्राटा बीडीए अथोरिटी जेभीलाई डिटेल इन्जिनियरिङ डिजाइन गर्ने जिम्मा दिएको थियो।

मन्त्रिपरिषद्ले विज्ञ समितिको सुझाव प्रतिवेदन अनुसार गत कात्तिक २३ गते निजगढ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार काम अघि बढाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिर २७ गते प्राधिकरणलाई निर्देशन दिएको थियो।

प्राधिकरणकी आयोजना निर्देशक चाँदमाला श्रेष्ठले विमानस्थल निर्माणका लागि चार किल्ला घोषणा गर्ने तयारी रहेको जानकारी दिइन्। विमानस्थल टाँगिया बस्तीमा बनाइनेछ। त्यसका लागि चार किल्ला तोकिएपछि अरु काम अघि बढ्छ,’ उनले भनिन्।

उनका अनुसार ईआईएका लागि १५ महिना लाग्नेछ। पहिलो चरणमा दुईवटा धावनमार्ग, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार टर्मिनल भवन लगायत पूर्वाधार निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।