काठमाडौं। कुनै बेला काठमाडौंबाट नुवाकोट आउजाउ गर्ने एकमात्र बाटो थियो शिवपुरी डाँडाको उकालीओराली। तलतिर फाट्टफुट्ट बस्ती। माथितिर एकलासे बाटो। जंगलको फेदैमा राजकुलो – काठमाडौंको प्यास बुझाउने एउटा विकल्प। उत्तरी काठमाडौंको नागार्जुन र शिवपुरी डाँडाका खोंचमा रहेको बुढानीलकण्ठमा तुवाँलो बिरलै लाग्थ्यो। राजा जानै नहुने कथन रहेको बुढानीलकण्ठ मन्दिर आफैंमा उपत्यकामा हिन्दुहरुका लागि गजबको गन्तव्य।
त्रिशूलीबाट बहने चिसो हावा यहीँबाट काठमाडौं भित्रिन्थ्यो, जुन कालान्तरमा भीभीआईपीको बसोबास बहुल भेगमा रुपान्तरित बन्यो। शिवपुरी राष्ट्रिय निकुञ्जको गेटैमा रहेको पानी मुहानसँगै टाँसिएर खुलेका छन् रेष्टुरेन्ट र रिसोर्टहरु। पारिलो घाम लाग्ने समथर पासिकोटमा खाली जमिन देख्नै हम्मे पर्छ। चपलीतिर उक्लँदै गर्दा काँठको फेरिएको स्वरुप प्रष्टै देख्न सकिन्छ। कुनै समय मन्दिर आसपास र आरक्ष क्षेत्र नजिक औंलाले गन्न सकिने सीमित घरले बसाएको सानो र पातलो बस्ती।
काठमाडौंको ‘बेभरलि हिल्स’ का रूपमा उदाएको बुढानीलकण्ठ कोलाहलबाट शान्ति खोज्नेदेखि र संत्सग गर्नेहरुका लागि पनि हबका रुपमा स्थापित भएको छ। ‘सहरी शृंखला’मा आज हामी चक्रपथ बाहिरको पहिलो सहरको कथा लिएर आएका छौं।
६० वसन्त पार गरेका उत्तमप्रसाद पौडेल हरेक दिन बुढानीलकण्ठ मन्दिर पुग्छन्। मन्दिरनजिकै उनको घर छ। यस क्षेत्रको भूगोलले कसरी कल्प फेर्यो त्यसका साक्षी पनि हुन् उनी। रिङरोड पारि तन्किएको पहिलो सहरका रूपमा उनले आफ्नो भेगलाई चिनाए।
‘२०४० सालदेखि विस्तारै यहाँ बस्ती बढ्न थाल्यो। २०५२ सालबाट थप बढ्यो। ३० वर्षको दौरानमा अति बढ्यो,’ उनले सुनाए।
हाई प्रोफाइलहरुको रोजाइको बासस्थानका लागि बुढानीलकण्ठ गन्तव्य हुनुमा धेरै कारण रहे र तिनले धेरै चरणहरु पार गरे।
बुढानीलकण्ठलाई विकासको रफ्तारमा दौडाउन २०२८ सालमा स्थापना भएको बुढानीलकण्ठ स्कुलले ठूलो भूमिका खेल्यो। ब्रिटिस काउन्सिलकी प्रतिनिधि लिन्डन क्लफसँगको परामर्शमा तत्कालीन राजा महेन्द्रले उत्तरी काँठमा स्कुल स्थापनाबारे निर्णय गरेका थिए। दुई देशको सरकारको ‘ज्वाइन्ट भेन्चर’मा स्कुल बनाउन नेपाल सरकारले जग्गा उपलब्ध गरायो भने बेलायत सरकारले प्राविधिक र आर्थिक सहयोग।
‘गाउँलेकै जग्गा लिएर स्कुल बनाइएको हो। यहाँ बस्ती छिटो हुनुमा यो विद्यालय खुल्नु पनि कारण हो,’ पौडेलले सुनाए।
काठमाडौंका अन्य भेगमा जस्तै २०५२ मा सुरु तत्कालिन विद्रोही माओवादीको सशस्त्र द्वन्द्वसँगै यहाँ बस्ती बाक्लिने क्रम बढ्यो। त्यो क्रमलाई २०७२ सालको भूकम्पले थप उचाइमा पुर्यायो। यो क्रम थामिएन। कोरोना संक्रमणको महामारीपछि शान्त वातावरण खोज्दै बुढानीलकण्ठ पुग्नेहरु बढिरहे।
काठमाडौंको धेरैजसो काँठ क्षेत्रमा सडक नपुग्दा नै बुढानीलकण्ठमा गाडी चलिसकेको थियो। सुरुमा बाँसबारीसम्म र पछि बुढानीलकण्ठ मन्दिरसम्मै गाडी सहज भयो। त्रिपुरेश्वर, रत्नपार्क, महाराजगंज हुँदै उही बेला सडकका कारण कोर काठमाडौंसँग यो लिच्छविकालीन इलाका जोडिएको थियो। पछि त भीरतिर उक्लँदै शिवपुरीको डाँडा-डाँडामा गाडी चल्न थाल्यो।
निकुञ्जको एक किलोमिटर मुनि घर छ ६० वर्षीय अरुण ठकुरीको। उनको बुझाइमा सडकको सञ्जाल विकास भएसँगै बस्ती उकालो लाग्न थालेको हो।
‘त्रिपुरेश्वरदेखि बस आउँथ्यो। २०४०/४२ सालसम्म बाँसबारीभन्दा माथि चाहिँ ट्रकमात्रै आउँथ्यो,’ सडकले सहरको रुपरेखा बदलेको सुनाए उनले, ‘पछि कच्ची बाटोमा भए पनि मन्दिरसम्मै गाडी चल्न थाल्यो खुल्यो। शिवपुरी वन्यजन्तु आरक्ष घोषणा भएदेखि मन्दिरभन्दा माथितिर पनि बाटो बन्न सुरु भयो।’
बजारको पनि यहाँ २०५० सालपछि बिस्तार भएको हो। त्यसअघि मन्दिर क्षेत्रमा एउटा हलुवाईको पसलसँगै केही पूजा पसलमात्रै थिए। गाडी पुगे पनि काँठकाअन्य भेगको झै सामान किन्न यहाँका मानिसहरु कोर काठमाडौं नै पुग्थे।
रिङरोड बाहिरको पहिलो रिसोर्ट
२० वर्षअघिसम्म चक्रपथ क्षेत्र भित्रै सीमित थिए अधिकांश आर्थिक गतिविधि। पर्यटकीय हब थियो- ठमेल। त्यहीँ काठमाडौं गेस्ट हाउस स्थापना गरेका कर्ण शाक्य सहर तन्किनेमा विश्वस्त थिए। त्यसैले रिङरोड पारि रिसोर्ट खोल्ने योजना बनाए उनले। र, चुने बुढानीलकण्ठ।
वर्षमा एकपटक धान रोपाइँ हुने, बाँकी समय बाँझै रहने खेत उनको रोजाइमा पर्यो। त्यतिखेर पटकपटक गरी ८० लाख रुपैयाँमा उनले किनेको ५० रोपनीभन्दा बढी जग्गाको भाउ अहिलेको मूल्यांकन अनुसार अर्बौंमा पुगिसकेको छ। पार्क भिलेजलाई कर्ण आफ्नो ‘सक्सेसफुल स्टोरी’को संज्ञा दिन्छन्।
‘काठमाडौंबाट नजिक, स्वच्छ वातावरण। काठमाडौंलाई पानी खुवाउने स्रोत शिवपुरी जलाधार क्षेत्र। त्यसैले मैले बुढानीलकण्ठ रोजेँ,’ उमेरले चारबिस पार गरिसकेका शाक्यले सुनाए, ‘स्याल कराउने ठमेल पर्यटकीय हब बन्यो तब मैले आउने दिनमा पर्यटकीय क्षेत्र विस्तार हुँदै जान्छ भन्ने सोचेँ र सहरबाट बाहिर जाने निर्णय गरेँ।’ उनको पार्क भिलेज रिसोर्ट उपत्यकाका गिनेचुनेका रिसोर्टमा पर्छ।
शाक्यका अनुसार ढुंगामाथि रहेको भूगोल भएकाले त्यतिबेला यहाँ धेरै रुख थिएनन्। उनले रिसोर्टमा रुख रोपे। तर, हुर्किनै सकेन।
‘रुख रोपेपछि उम्रिएन। रुखको जराले ढुंगा छोयो। पछि खनेर ५०० टिप कालो माटो किनेर हालेँ,’ पार्क भिलेज भित्रको ग्रिनरीको कथा सुनाउँदै भने, ‘सुन बेचेर माटो किनेँ। कतिले त प्रश्न पनि गरे। यो ठाउँ सुन बन्छ भन्ने थाहा थियो मलाइ। रिसोर्टका लागि भित्रै जंगल बनाएँ।’
पार्क भिलेज संचालनमा आएसँगै यहाँ अन्य व्यवसाय पनि खुले। त्यति बेलासम्म कालोपत्रे सडक भए पनि अहिलेको जस्तो फराकिलो थिएन। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बुढानीलकण्ठ बस्न सुरु गरेपछि यस क्षेत्रको बाटो सुधार भएको शाक्यले सुनाए। बाटो चार लेनको बनेपछि यहाँ व्यवसायसँगै घर बनाउने पनि ह्वात्तै बढे।
२०७२ सालको भूकम्पमा यहाँ धेरै घरमा क्षति नभएको स्थानीय बताउँछन्। बुढानीलकण्ठ ढुंगामाथि रहेकाले त्यसपछि यहाँ जग्गा किन्ने र घर बनाउनेको संख्या निकै बढेको हो। कोर काठमाडौं छाडेर बुढानीलकण्ठ पुग्नेहरुको संख्या यो क्रममा निकै बढ्यो।
फाँटदेखि भीरसम्म घरैघर
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका हो बुढानीलकण्ठ। राष्ट्रिय जनगणना-२०७८ अनुसार यस पालिकाको जनसंख्या १ लाख ७७ हजार ५ सय ५७ छ। जनगणना भएको समयभन्दा अहिले नगरमा जनघनत्व थप बढेको छ।
त्यसमा पनि वडा २ मा रहेको चपली, वडा ३ को नारायणस्थान र वडा ४ मा रहेको पासिकोटमा घरसँगै जनसंख्या बढ्दो छ। हात्तीगौंडा र गोल्फुटारबाट सहर तन्किदै जाँदा गैरीगाउँ र ठूलो गाउँका भीरपाखा समेत घरले भरिन थालेका छन्। ती भेगमा आकर्षक होटल र रिसोर्ट खुल्ने क्रम बढ्दो छ।
समथर क्षेत्र रहेको पासिकोट क्षेत्रमा आकर्षक डिजाइनका घरहरु बनेका छन्। बुढानीलकण्ठ-४ का वडाध्यक्ष श्रीराम केसीका अनुसार २०५५ सालपछि पासिकोट क्षेत्रमा जग्गा बिक्री हुन सुरु भएको हो। त्यसपछि खेतीयोग्य भूमि विस्तारै घडेरी बन्न थाल्यो।
‘पासिकोट समथर भूभाग भएको क्षेत्र हो। निकै घाम लाग्ने पारिलो ठाउँ। भौगोलिक हिसाब, हावापानी, सडकले पनि यहाँ बसाइसराई गर्ने ट्रेन्ड छ। नगरपालिकामा नै धेरै बसाइसराई भएर व्यवस्थित बसोबास भएको पासिकोट क्षेत्र नै हो,’ उनले भने।
चपलीसँगै अहिले नारायणस्थान क्षेत्रमा पनि घर, हाउजिङ र अपार्टमेन्ट बन्ने क्रम तीव्र छ। सीजी हिल्स, कम्फर्ट हाउजिङ, बुढानीलकण्ठ अपार्टमेन्टसँगै कोलोनीका लस्कर छन् बुढानीलकण्ठ क्षेत्रमा। बढ्दो जनसंख्यालाई लक्षित गरेर चेन सपिङ मार्टहरु पनि उल्लेख्य संख्यामा खोलिएका छन्।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने भएकाले अहिले बुढानीलकण्ठमा एउटा चोकको नाम नै ‘देउवा चोक’ नामकरण भएको छ। जनकवि दुर्गालाल श्रेष्ठसँगै पूर्व प्रशासक, चिकित्सक, उद्यमीको बास सन् २००५ मै निर्माण सम्पन्न भएको कम्फर्ट हाउजिङमा छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठसँगै अन्य भीभीआइपी र भीआइपीहरुको बस्ती नै छ यस भेगमा।
नारायणस्थानभन्दा माथि उक्लिँदै गर्दा हरेक मोडमा रेष्टुरेन्ट र रिसोर्ट देखिन्छ। शिवपुरी राष्ट्रिय निकुञ्जको द्वारसँगै रहेको मुहान पोखरी क्याफेमा ‘वीकेन्ड’मा भीड लाग्छ। ३० वर्षअघि सानो पसलका रूपमा संचालित यस ठाउँ पछिल्लो समय भाइरल डेस्टिनेसन बन्यो।
यस्तै, ठूलो गाउँमा समेत पछिल्लो समय ‘फुटफल’ बढेको छ। भीरमा बनाइएको विजय चैत्यसम्म पुग्ने घुमाउरो तर राम्रै बाटो छ। त्यहाँबाट बुढानीलकण्ठसँगै काठमाडौं उपत्यकाकै दृश्य हेर्न सकिन्छ। विजय चैत्यसम्म पुग्ने बाटोको अधिकांश मोडमा रेष्टुरेन्ट र रिसोर्ट खोलिएका छन्। नयाँ वर्ष सन् २०२४ बाटै यहाँ होटेल चेन लेमन ट्री प्रिमियर पनि संचालनमा आउँदैछ।
‘अहिले प्राय घरमा रेष्टुरेन्ट छन्। रिसोर्ट खुलेका छन्,’ स्थानीय अरुण ठकुरी भन्छन्, ‘यसखाले ट्रेन्ड सुरु भएको धेरै भएको छैन। त्यस्तै ४/५ वर्ष भयो।’
यस्तै, पछिल्लो समय इस्कनका कारण पनि बुढानीलकण्ठमा युवा पुस्ताको आकर्षण बढेको पाइएको छ। विशेषगरी बिदा र शनिबारका दिन कृष्णभक्तिमा लिन हुन युवा युवतीहरु इस्कन पुगिरहेका छन्। विपस्यनाका लागि त पहिलेदेखि नै केन्द्र रहँदै आएको छ यस क्षेत्र। शिवपुरी बाबाको आश्रम र त्यससँगै जोडिएर तय भएको अध्यात्मिक केन्द्रले पनि ‘इलिट’हरुलाई यस क्षेत्रमा खिचेको छ।
बफर जोनको सकस
बुढानीलकण्ठ नगरपालिका शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रसँगै जोडिएको भेग हो। नगरपालिकाका कयौं क्षेत्र मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्छ। आरक्ष क्षेत्र हुँदादेखि नै स्थानीय र प्रशासनबीचको लफडा सतहमा आइरहन्थ्यो यहाँ। निकुञ्ज क्षेत्रभित्र परापूर्वकाल देखि बस्दै आउनेहरु पनि छन्। कानुनतः उनीहरु त्यहाँबाट निस्कनुपर्ने हुन्छ।
नगरपालिकाले एकीकृत बस्ती बसाएर त्यहाँका बासिन्दालाई व्यवस्थापन गर्न चाहेको छ। वडा ४ का अध्यक्ष केसीले भने, ‘यो देशभरको समस्या हो। हामी सबैलाई मिलाएर त्यहाँ पुस्तौंदेखि बस्दै आएकाहरुको व्यवस्थापन गर्न चाहन्छौं। एकीकृत बस्ती बसाएर उहाँहरुलाई व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो।’
वर्षौंदेखि त्यहाँ बस्दै आएकाहरुको व्यवस्थापनका लागि भूमि आयोगले काम पनि गरिरहेको छ। केसीका अनुसार पुस्तौंदेखि बस्दै आएकाबाहेक संरक्षित क्षेत्रमा गैरकानुनी रुपमा कब्जा जमाएर बस्नेहरु पनि धेरै छन्। त्यस्ताप्रति भने नगरपालिका कठोर भइरहेको उनले सुनाए।
‘जनआन्दोलनताकादेखि बाहिरबाट पनि मानिस आएर अतिक्रमण गरेको देखिन्छ। जनप्रतिनिधिविहीन हुँदा पनि जग्गा संरक्षण भएको देखिँदैन,’ उनले भने, ‘जनप्रतिनिधि आएपछि जग्गा अतिक्रमण हुन रोक्ने प्रयास भयो। नौ वटा नयाँ घर भत्काएका छौं। यसमा सबैको साथ चाहिएको छ।’
+++
विष्णुका अवतार भएकाले राजाहरु जाँदा अनिष्ट हुने किंवदन्तीका कारण युगौं युगदेखि नै राजाहरु बुढानीलकण्ठमा कहिल्यै गएनन्। त्यसको विकल्पमा धेरै ठाउँमा बुढानीलकण्ठका प्रतिमाहरु तयार पारिए। राजाहरुले तिनैको दर्शन गरे। देशबाट राजतन्त्र उन्मूलन भइसक्यो। जहाँ राजा जान डराए, त्यहाँ मुलुककै भीआइपीहरुको बस्ती बस्यो। बस्ती घडेरीमा मात्र अडिएन, डाँडातिर समेत उकालो लाग्यो। बीचमा निकुञ्जको भेग हुँदैन थियो भनेमात्र पनि यतिखेरसम्म बुढानीलकण्ठ तन्किएर डाँडागाउँ कटिसक्थ्यो भन्न सकिन्छ।