काठमाडौं। सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि योग्यता पुगेका इच्छुकसँग दरखास्त आह्वान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनोट गरेर नियुक्त गर्न शनिबार सूचना प्रकाशित गरेको हो।
मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त खुलाइएको जनाएको छ। ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ मा पदबाट राजीनामा दिएका थिए। कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्ष, विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थानीलाई सरकारले २०७८ फागुनमा तीनवर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। उनले २१ महिना काम गरे। कार्यकाल सकिनु १५ महिनाअगावै उनले पदबाट राजीनामा दिएपछि मन्त्रालयले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
थानीको कार्यकालमा निगमले आफ्नो ५० अर्ब रुपैयाँ ऋण घटाएको थियो। निगम हाल नाफामा छ। थानीले पद छाडेपछि निगममा हाल निमित्त कार्यकारी निर्देशकको सीए नगेन्द्र साह छन् ।
निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि इच्छुक उम्मेदवारले अनुभव र योग्यताका कागजातसँगै स्वघोषणा पेस गर्नुपर्ने सर्त मन्त्रालयको छ। स्वघोषणामा राजनैतिक दलको सदस्य नभएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषधको कारोबार, पुरातात्विक वस्तु वा संरक्षीत वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अभियोग लागेको वा सजाय नपाएको हुनुपर्ने सूचनामा छ।
यस्तै आफ्नो नाममा व्यक्तिगत सरकारी बेरुजु बाँकी नरहेको, प्रचलित कानून बमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको तीन बर्ष अवधि पूरा भएको, टाट नपल्टेको, बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको तथा दामासाहीमा नपरेको हुनु पर्नेछ।
साथै नेपाल आयल निगम लिमिटेडसँग कुनै चल अचल सम्पत्ति सम्बन्धी कारोबारमा आफैं वा आफ्ना परिवारका कुनै सदस्यको संलग्नता नभएको र यस संस्थासँग कुनै पनि निजी स्वार्थ नभएको र विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको तथा अन्य कुनै प्रचलित नेपाल कानून बमोजिम अयोग्य नरहेको हुनुपर्ने मन्त्रालयको सूचनामा छ।