काठमाडौं । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न सरकारसँग माग गरेका छन्।
होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी संचालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल संचालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्नेमा जोड दिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूहरूको मागको सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुने बताए।
सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरूपमा संचालनमा नआउनु दुर्भाग्य भएको बताए। उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिए।
यस्तै, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए। कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष रचना पन्त, पत्रकारद्वय माधव ढुंगाना र नरेश केसी, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशी लगायतले पोखरा र लुम्बिनीबीचको पर्यटकीय साझेदारीमा जोड दिएका थिए।
उक्त अवसरमा होटल संघ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरेको थियो। अभियानअन्तर्गत संघले विभिन्न पाँच प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन्। होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका तीन हजारदेखि २६ हजार मूल्यबीचका छन्।