BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’पछि नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन सरकारलाई सेबोनको आग्रह

२०८० मंसिर २९

प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’पछि नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन सरकारलाई सेबोनको आग्रह
प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’पछि नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन सरकारलाई सेबोनको आग्रह

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अघि बढाउन सरकारलाई अनुरोध गर्ने भएको छ। सेबोनको शुक्रबार बिहान बसेको संचालक समिति बैठकले प्रक्रिया अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

संचालक समितिको निर्णय अनुसार सेबोनले शुक्रबार नै अर्थ मन्त्रालयमा नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन अनुरोधसहितको पत्र पठाउँदैछ। त्यही पत्रका आधारमा मन्त्रिपरिषद्‍बाट नयाँ स्टकको लाइसेन्स दिने बारे निर्णय गर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार अर्थसचिव कृष्णहरि पुष्कर, मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बराल र राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई बोलाएर नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने बारेमा छलफल गरेका थिए।

‘प्रधानमन्त्री प्रचण्डबाटै यसबारे सोधखोज भएकाले सेबोनले संचालक समिति बैठक राखेको हो,’ सेबोनका एक संचालकले भने, ‘अब नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढ्ने देखिएको छ।’

प्रधानमन्त्री प्रचण्डले प्रक्रिया अगाडि बढाउन अध्ययन समिति बनाउने बारेमा गहन छलफल गरेका थिए। त्यो छलफलपछि सेबोनले संचालक समिति बैठक राखेर सरकारलाई प्रक्रिया अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले र सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा लाइसेन्समा अर्बौं रुपैयाँको चलखेल भएको आरोप लगाएपछि विवादमा पर्ने त्रासले प्रधानमन्त्री प्रचण्डले प्रक्रिया रोकेका थिए।

उनले वैशाख २८ गते मन्त्रिपरिषद्‍ बैठकमा ठाडो प्रस्ताव राख्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेका थिए। त्यही मन्त्रिपरिषद्को बैठकबाट थप अध्ययन गर्ने निर्णय भएको थियो। अब नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍बाटै निर्णय हुनुपर्छ। नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन अध्ययन समिति गठन गर्ने प्रचण्डको तयारी छ।

त्यो समितिले दिने सुझावका आधारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढ्नेछ।

नयाँ स्टकका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघले नेस्नल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया ग्रुपका रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन्।

यी तीन कम्पनीमध्ये एउटाले नयाँ स्टकको लाइसेन्स पाउनेछ। नयाँ स्टकको होडमा हिमालयनका भट्ट र नेसनलका तिमिल्सिनाको समूह बढी सक्रिय छ। भट्ट र तिमिल्सिना समूहको बिगफाइटले नयाँ स्टकको प्रक्रिया अवरुद्ध भएको हो। विगतमा नयाँ स्टकका लागि आईएमई र विशाल ग्रुप बढी लालयित थिए। तर अहिले यी दुई समूह लाइसेन्सको दौडमै छैनन्।

अहिलेसम्म के भएको छ?

सेबोनले कानुन मन्त्रालयका तत्कालीन सहसचिव एवं बोर्ड सदस्य फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति बनाएको थियो। गौतम सचिवमा बढुवा भएर अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन्।

त्यो समितिले आवेदन दिएका तीन कम्पनीको बिजनेस प्लानको गोप्य सिलबन्दी हेरेर नम्बर दिने काम सुरु गरेकामा अचानक मन्त्रिपरिषद्‍बाट लाइसेन्स रोक्ने निर्णय भएपछि नम्बर दिने लगायत सबै प्रक्रिया रोकिएको थियो।