BIZMANDU
www.bizmandu.com

ऊर्जामन्त्री बस्नेतको उद्‍घाटन मोह, सञ्चालनमा आएको २ महिनापछि प्रसारणलाइन अनावरण

२०८० मंसिर २५

ऊर्जामन्त्री बस्नेतको उद्‍घाटन मोह, सञ्चालनमा आएको २ महिनापछि प्रसारणलाइन अनावरण
ऊर्जामन्त्री बस्नेतको उद्‍घाटन मोह, सञ्चालनमा आएको २ महिनापछि प्रसारणलाइन अनावरण


काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले आयोजना उद्‍घाटनमा मोह देखाएका छन्। उनको उद्‍घाटन मोह सोमबार नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा देखिएको छ।

Tata
GBIME
NLIC

उनले काम सकिएर सञ्चालनमा आएको करिब २ महिनापछि कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड उद्‍घाटन गरेका छन्।

आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारणलाइन उद्‍घाटन गरिएको हो।

उद्‍घाटनका लागि नेपाल विद्युत प्राधिकरणले ठूलो रकम खर्चिएर औपचारिक कार्यक्रम गरेको थियो।

कुश्मा–नयाँ बुटवल प्रसारणलाइन उद्‍घाटन समारोह। तस्वीर: नेपाल विद्युत प्राधिकरण

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण गरिएको हो।

कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भइ पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण गरिएको छ। प्रसारणलाइनले करिब १ हजार २०० मेगावाट विद्युत् भार बोक्न सक्ने छ।

मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारणलाइन पूर्व–पश्चिम विद्युत् जोड्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण भएको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयरुपमा विद्युत् खपत गर्न, पूर्व–पश्चिम प्रबाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युतको ठूलो पुलिङ हवको रुपमा रहेको बताए।

एसियाली विकास बैंकका नेपाल निर्देशक आर्नोड कुश्वाले कोभिड महामारी र रुख कटानमा रहेको जटिल कानूनी व्यवस्थालाई पार गर्दै आयोजना सम्पन्न भएकामा खुशी व्यक्त गरे। कुश्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा प्रसारणलाइन निर्माण गरिएको हो।