काठमाडौं। अवैध कारोबार गर्नेहरुले अरुले नबुझुन् भनेर कोड भाषा प्रयोग गर्ने गर्छन्। चोरीमा मात्र होइन क्रिप्टो र हुन्डीको कारोबारमा पनि कोड भाषाको प्रयोग गर्ने गरिको प्रहरीको अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत कालिमाटी वृत्तले पक्राउ गरेका तीन अभियुक्तले अवैध कारोबारमा कोड भाषा प्रयोग गरेको खुलेको हो।
भारत घर भएका ३२ वर्षीय धिरज जैसवाल, २९ वर्षीय अकबर अन्सारी र ३० वर्षीय अमर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंमा १ करोड ८२ लाख ८७ हजार रुपैयाँ बिगो दाबी सहित नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायर भएको छ।
उनीहरुलाई प्रहरीले नगद रकम र क्रिप्टो कारोबार गर्ने एपमा भएको रकम सहित पक्राउ गरेको थियो। कारोबार गर्दा ह्वाट्सएपमा उनीहरुले कोड भाषाको प्रयोग गर्ने गरेका थिए। १ लाख रुपैयाँ हुन्डी गर्दा ‘१ केजी’ र १० लाख रुपैयाँको गर्दा ‘ १० केजी’ लेख्ने गरेको पाइएको हो।
त्यस्तै, तीनै जनाले नेपाली रुपैयाँ पाँचलाई टोकन मानेर कारोबार गर्ने गरेको देखिएको छ। उनीहरुले नोटमा भएको नम्बर फोटो खिचेर ह्वाट्सएपमा पठाउने र त्यही कोडलाई आधार बनाएर भारत र नेपालबिचमा अवैधरुपमा रकमको कारोबार गर्ने गरेको खुलेको छ।
यसअघि ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पनि सुन तस्करीले १० रुपैयाँको नोटको नम्बरलाई आधार बनाएर सुन र रकम हस्तान्तरण गर्ने आधार बनाएको फेला पारेको थियो।
अवैध र ठूलो कारोबारको जानकारी नपाउनु भनेर कोड भाषा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ।