BIZMANDU
www.bizmandu.com

अदालतको भवन बनाउने निर्माण व्यवसायी नै अन्यायमा, काम सकिँदा पनि पाएनन् अढाई करोड भुक्तानी

२०८० मंसिर २४

अदालतको भवन बनाउने निर्माण व्यवसायी नै अन्यायमा, काम सकिँदा पनि पाएनन् अढाई करोड भुक्तानी
अदालतको भवन बनाउने निर्माण व्यवसायी नै अन्यायमा, काम सकिँदा पनि पाएनन् अढाई करोड भुक्तानी

हेटौंडा। जिल्ला अदालत मकवानपुरको भवन निर्माण सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि निर्माण कम्पनीले भुक्तानी रकम पाउन सकेको छैन। सम्पूर्ण रकम भुक्तानी नहुँदा कम्पनीले भवन हस्तान्तरण प्रक्रिया समेत रोकेको छ। रकमका लागि संघीय अर्थ मन्त्रालयले कम्पनीले ताकेता गरे पनि भुक्तानी हुन नसकेको हो।

Tata
GBIME
Zonsen

१६ करोड ठेक्कामा कविन्द्र-नवसिर्जनशिल-सेलेट जेभीले निर्माण गरेको भवनको साढे दुई करोड रुपियाँ भुक्तानी बाँकी रहेको कम्पनीका प्रतिनिधि अमर चौलागाईंले बताए।

आइतबार पनि अर्थ मन्त्रालयमा भुक्तानीको लागि पुगेका उनले बताए।

‘हामी आज अर्थ मन्त्रालय गएका थियौं। पैसा छैन भनेर भनियो। यो महिनाभित्रमा निकासा हुने भनिएको छ’, चौलागाईंले भने।

नयाँ भवन बने पनि हस्तान्तरण नहुँदा अदालत उच्च अदालत पाटन हेटौंडा इजलास परिसरभित्रबाटै सञ्चालन भइरहेको छ। भुक्तानी नपाएपछि कम्पनीले भवन हस्तान्तरण गरेको छैन।

साउन १९ गते नयाँ भवनको निर्माण सम्पन्न भएको चौलागाईंले बताए।

२०७७ माघ २१ मा भवन निर्माण सम्झौता भएको थियो। ३० महिनामा भवन तयार पारिएको थियो।

 ‘हामीले सम्झौता गरेको करिब ३० महिनाभित्रै भवन निर्माण सम्पन्न गरेका हौं। हालसम्म साढे १३ करोड हाराहारीमा पैसा आयो, अझै साढे २ करोडभन्दा बढी भुक्तानी हुन बाँकी छ’, चौलागईंले भने।

भुक्तानी नपाए पनि केही दिनमै अदालतलाई भवन हस्तान्तरण गर्ने उनले बताए।

जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले भवन नपाउँदा सेवाग्राहीले समस्या भोगिरहेको बताए।

पौडेलले भने, ‘अर्थ मन्त्रालयले रकम उपलब्ध नगराएकाले कम्पनीलाई भुक्तानी दिन सकेका छैनौं, अर्थ मन्त्रालयलगायत माथिल्लो निकायमा रकम भुक्तानीका लागि अदालतले ताकेता गरिराखेको छ तर सुनुवाइ भएको छैन।’,

अदालतमा चार न्यायाधीशसहित ५६ जना कर्मचारी छन्। पुरानो भवन भत्काएपछि अदालत उच्च अदालत परिसरमा सरेको थियो।

हेटौंडा उपमहानगरपालिका २, स्थित जिल्ला प्रशासन कार्यालय सामुन्ने बनेको भवन सात तले छ। १३१ वटा कोठा रहेको भवनमा २ वटा लिफ्ट छन्।

सात वटा इजलास कक्ष रहेको भवनमा १५० जना अट्ने सभा हल छ। भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ। १०४ वटा सोलर प्यानल पनि जडान गरिएका छन्।