काठमाडौं। नेपाल एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानसँग पराजित भएको छ। आज सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले जम्सिद जार्डनको शतकको सहायतामा ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८८ रनमा समेटियो।
२६१ रनको औसत लक्ष्य पछ्याएको नेपालका लागि ओपनर अर्जुन कुमालले सानदार प्रदर्शन गरेपनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्।
अर्जुनले १०८ बलमा ९१ रन बनाउने क्रममा १३ चौका प्रहार गरे। उनी बाँकी सबै ब्याट्सम्यानसँग साझेदारी गर्दा सबैभन्दा ठूलो साझेदारी सुवास भण्डारीसँग ४० बलमा ५० रनको बन्यो।
कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन नै जोड्न सकेनन्। तीनजना ब्याट्सम्यान शुन्यमै पभेलियन फर्किएका थिए।
नेपाललाई लक्ष्यसम्म पुग्न नदिन अफगानिस्तानका फरिदुन दाउदजाइ र नसीर खानले समान ३, मोहम्मद जार्डनले २ तथा वाहिदुल्लाह जार्डरन र खालिल अहमेदले समान १ विकेट लिए।
योसँगै नेपाल सेमिफाइनलको होडबाट लगभग बाहिरिएको छ। नेपालले अन्तिम खेलमा भारतसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
अफगानिस्तानको इनिङ्स
यसअघि अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि जम्सिद जार्डनले शतक प्रहार गरे।
१५१ बलमा १०६ रन बनाएपछि उनी रिटायर्ड हर्ट भए। लामो समय क्रिजमा टिकेका उनले चोटका कारण पूरा समय खेल्न सकेनन्।
नेपाललाई पहिलो सफलता गुल्सनले दिलाएका थिए। गुल्सनले १५ रन बनाएका वाफिउल्लाह तराखिललाई १.५ ओभरमा देव खनालबाट क्याचआउट गराए।
दोस्रो विकेटका रुपमा १० रन बनाएका अर्का ओपनर खालिद तनिवाल बाहिरिए। उनलाई ६.२ ओभरमा हेमन्त धामीले गुल्सनबाट क्याचआउट गराए। लगत्तै आएका अर्का ब्याट्स्यमान अक्रम मोहम्मज्दाइ पनि हेमन्तकै अर्को बलमा गोल्डन डक हुन पुगे। ६.३ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको अफगानिस्तान त्यसपछि खेलमा सम्हालियो।
चौथो विकेटका लागि नेपाली बलरले संघर्ष गरे। यसक्रममा रहिमुल्लाह जुर्मती र जम्सिदले १२९ बलमा ८१ रनको साझेदारी गर्दै अफगानी इनिङ्स उकासे। ३५ रन बनाएका रहिमुल्लाहलाई दीपेशले २७.६ ओभरमा सुवासबाट क्याचआउट गराए।
तर, जम्सिद नेपालका लागि चुनौती बनिरहे। उनले नुमन शाह आघासँग रहिमुल्लाहसँगको भन्दा ठूलो साझेदारी गरे। यी दुईजनाले ८२ बलमा ९७ रनको साझेदारी गरे। ४१ बलमा ६० रन बनाएका नुमन ४१.४ ओभरमा सुवासको बलमा दीपेशबाट क्याचआउट भए।
उनी पछिका आएका मोहम्मद युनिस २ रन बनाएर सुवासको बलमा क्याच आउट हुँदा अर्का ब्याट्सम्यान खलिल अहमद ४६.३ ओभरमा आकाश चन्दबाट बोल्डआउट भए। उनले १३ रन बनाए। नसीर खान रनआउट भए। फरिदुन दाउजजाइ गुल्सनको बलमा बोल्डआउट भए।