BIZMANDU
www.bizmandu.com

एनसेलको सेयर बिक्रीमा बद्‍मासी भएको रिजालको दाबी, ‘छानबिन जरुरी नै छैन’

२०८० मंसिर २४

एनसेलको सेयर बिक्रीमा बद्‍मासी भएको रिजालको दाबी, ‘छानबिन जरुरी नै छैन’
एनसेलको सेयर बिक्रीमा बद्‍मासी भएको रिजालको दाबी, ‘छानबिन जरुरी नै छैन’


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एनसेलको सेयर बिक्री प्रकरणमा बद्‍मासी भएको दाबी गरेका छन्।

Tata
GBIME
NLIC

उनले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा एनसेलको सेयर बिक्रीमा बद्‍मासी भएको कुरा छर्लंग रहेको भन्दै यसमा कुनै ‘रकेट साइन्स’ नचाहिने बताए। यो प्रकरण छानबिनका लागि सरकारले समिति गठन गरेकामा आफूलाई आश्‍चर्य लागेको उनको भनाइ छ।

‘२०८६ मा स्वत: नेपाल सरकारको स्वामित्वमा आउने सम्पत्ति आउन नदिनका लागि अहिले बिक्री गरिन्छ भने यो सरासर बद्‍मासी हो,’ उनले भने, ‘सरकारले छानबिन गर्ने रे। मलाई अचम्म लागेको छ। यसका लागि कुनै रकेट साइन्स चाहिँदैन।’

आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर एक साताअघि बिक्री गरेको थियो। यस विषयमा छानबिनका लागि सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको छ।

नेता रिजालले आजियाटाले २०८६ पछि एनसेलको स्वामित्व सरकारको हुन्छ भन्ने जानेरै यसअघि लगानी गरेको भन्दै अहिलेको बिक्रीको विरोध गर्दा विदेशी लगानीकर्ता हतोत्साही हुने कुरा गलत भएको बताए।

‘यसबाट कोहीले पनि नेपालमा लगानी गर्दैन भनी चिन्ता गर्नुपर्दैन। आजियाटाले पनि ८६ सम्मको आम्दानी हेरेर लगानी गरेको हो,’ उनले भने।