काठमाडौं। आर्थिक मन्दीबीच दुई पाङ्ग्रे सवारीसाधनको व्यापार लगातार ओरालो लाग्दै गएको छ। जसकारण पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनको आयातमा ७० प्रतिशतले गिरावट आएको छ।
दुई पाङ्ग्रे सवारीको बजारले ‘फेस्टिभ सिजन’मा समेत लय लिन नसकेको भन्सार विभागको तथांकले देखाएको छ। गत कात्तिक महिनामा जम्मा ७ हजार युनिट बाइक तथा स्कुटर आयात भएका छन्। कुनै समय यो सिजनमा २३ हजार युनिटसम्म बाइक र स्कुटर आयात हुने गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा कूल ४८ हजार ८०७ यूनिट दुई पाङग्रे आयात भएको छ। तीन महिनामा १ हजार ३७१ यूनिट दुईपाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएकोमा चौथो महिनामा मात्रै ७२९ यूनिट स्कुटर आयात भएको देखिन्छ।
गत आर्थिक वर्ष २०७९/८० मा १ लाख ११ हजार ३३५ यूनिट दुई पाङ्ग्रे सवारी साधन आयात भएका थिए। यसमा विद्युतीय स्कुटरको पनि संख्या लगभग १० हजारको हाराहारीमा रहेको थियो। गत वर्षको आयात अघिल्लो अर्थिक वर्ष २०७८/७९ मा भन्दा निकै कम हो। अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत हाराहारीले आयात घटेको देखिन्छ।
दुई वर्ष अघि इन्धन इन्जिन र विद्युतीय गरेर २ लाख ८१ हजार ७०७ यूनिट दुई पाङ्ग्रे सवारीसाधन आयात भएको थियो। जसमा इन्धन इन्जिन २ लाख ७८ हजार ४८२ यूनिट आयात भएको देखिन्छ। त्यो संख्यामा भारी गिरावट आउँदै गत आर्थिक वर्षमा १ लाखको हाराहारीमा मात्र इन्धन इन्जिन दुई पाङ्ग्रे सवारी आयत भएको देखिन्छ। दुई पाङ्ग्रेको आयात २३ हजारबाट झरेर मासिक ७ हजारको हाराहारीमा खुम्चियो।
विगतमा एक वर्षमा हुने कूल बिक्रीको ४० प्रतिशत चाडपर्वको समयमा बिक्री हुन्थ्यो। तर, यस पटकको आयात निकै निरासाजनक रहेको छ। ३ वर्षपछि भएको नाडा अटो शोले पनि दुई पाङ्ग्रेको लागि कुनै रौनक नल्याएको व्यवसायी बताउँछन्।
‘हामीले एउटै ब्रान्डको बाइक दशैंको सिजनमा ४ हजारदेखि १० हजारसम्म बिक्री गरेको रेकर्ड देखेका छौं,’ यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘तर यो वर्ष हालसम्मकै धेरै नराम्रो बिक्री दर देखियो। मासिक ७ हजार बिक्री गर्नेको सेल्स हजार १५०० मा खुम्चिएको छ।’
नेपालमा बजाज र टीभीएसले एसेम्बल गरेर दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएका छन्। बजाज र टीभीएसले कारखाना राख्दा बजारमा परेको प्रभाव अध्ययन गरेका अन्य कम्पनी पनि एसेम्बल प्लान्ट राख्न इच्छुक देखिएका थिए। तर, मन्दीका कारण नयाँ योजना सुरु गर्न कम्पनीहरु हच्किएका छन्।
एसेम्ब्ल प्लान्ट लगाएर बाइक बिक्री गर्दा लगभग ३० प्रतिशतसम्म सहुलियत पाइने व्यवसायीहरुको भनाइ छ।
क्षेत्रीका अनुसार यसरी कुनै समय लगभग ३ लाखको हाराहारीमा आयात हुने गरेको दुई पाङ्ग्रे सवारीसाधनको बजार अहिले १ लाखको हाराहारीमा खुम्चिदा धेरै असर परेको छ।
‘बजार खुम्चिदै गइरहेको छ। यो संख्या बढ्ने केही आधारहरु देख्दिन,’ उनले भने, ‘हामी व्यवसायीको बिजनेस धराशायी बन्दै गएको छ। झन ठूलो लगानीमा एसेम्बल प्लान्टहरु निर्माण गरिएको छ। संचालनमा ल्याउनको लागि टार्गेटसम्म पुर्याउन नसक्ने अवस्थामा छौं।’
अफरले पनि व्यापार बढाएन
बजाजको बिक्रेता हंसराज हुलासचन्दका सहायक प्रबन्धक अमितराज चालिसेले नाडा अटो शो र चाडवाडमा राखिएका अफर योजनाहरुले पनि काम नगरेको बताए।
‘हामीले चाडवाड लक्षित धेरै राम्रा प्याकेज र अफरहरु ग्राहक सामु ल्याएका थियौं। तर त्यही अनुसार हामीले सोचेको जस्तो व्यापार भने हुन सकेन,’ उनले भने, ‘अन्य महिनामा जस्तै यो चाडवाडको महिना पनि हाम्रो व्यापारमा मन्दी नै छाइरहयो। केही हदसम्म अरु महिनाभन्दा थोरै व्यापार बढेको जस्तो भए पनि पहिलेको तुलनामा यो निकै कम हो।’
बिक्रेताहरुले चाडवाडको अवसर पारेर हरेक वर्ष अफर योजनाहरु ल्याउने गर्छन्। व्यवसायीहरुले पनि यस पटक एउटै बाइकमा ५० हजारसम्मको नगद छुट, शून्य प्रतिशत डाउन पेमेन्टमा बाइक, शून्य प्रतिशत ब्याज जस्ता अफरहरु ल्याएका थिए। तर यो अफरले पनि ग्राहकहरुलाई आकार्षित गर्न नसकेको व्यवसायीहरु बताउँछन्।
‘केही गर्दा पनि सेल्स बढ्ने देखिँदैन। सबै कुराहरु कोसिस गरिसकियो, केही पोजिटिभ भाइब्स छैन,’ उनले भने।
यस्तै पेट्रोलियम पदार्थको मूल्य आकासिनु पनि बाइकको सेल्स घट्नु मूख्य कारण रहेको व्यवसायीहरुको भनाइ छ। चालिसेका अनुसार पछिल्लो समय विदेश पलायन हुनेको संख्या बढेको कारण पनि दुई पाङ्ग्रेको बजारमा ठुलो धक्का लागेको छ।
‘हाम्रो बाइकहरु खरिद गर्ने जमात अहिले नेपालमा कम छन्। १८ देखि ३० वर्षबीचको जेनेरेसन बाहिर गएका छन्। जसका कारण बाइकहरुको व्यापारमा ठूलो धक्का लागेको हो,’ उनले भने।
मूल्य आचक्ली बढ्दा क्रेता घटे
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार कोरोना महामारीपछिको दुई वर्षको अवधिमा कमर्सियल सवारीसाधनमा ४० प्रतिशतसम्मले मूल्यवृद्धि भएको छ। उत्पादन लागत नै बढेकाले कारखाना, अधिकृत बिक्रेता, बिक्रेता हुँदै ग्राहकसम्म चाप परेको उनको भनाइ छ। डलरको भाउ बढेको असर पनि अटोमोबाइल बजारमा सोझै परेको थापाको बुझाइ छ।
‘नेपालका आधिकारिक बिक्रेताले मात्र आफैं मूल्य बढाएका होइनन्। ग्लोबली नै उत्पादन कम्पनीहरुले मूल्य बढाएका छन्,’ उनले भने, ‘पछिल्लो समय चिप अभाव तथा स्पेयर पार्ट्स र फलामजन्य पदार्थमा मूल्य बढेको छ।’
यस्तै, मोडलहरु उत्पादक कम्पनीहरुले अपग्रेड गर्दा पनि मूल्य बढेर आएको बिक्रेताहरु बताउँछन्। उत्पादक कम्पनीहरुले पछिल्लो समय पुराना मोडलहरुलाई विभिन्न फिचरहरुसहित अपग्रेड गर्दै आएका छन्। त्यही अनुसार बाइकको मूल्य बढेका छन्।
यसरी बिक्रेताहरुले मूल्य बढाउँदा पनि ग्राहकहरु दुई पाङ्ग्रे सवारीसाधन खरिद गर्न हच्किएका एक व्यवसायी बताउँछन्।
‘बाइकहरुको मूल्य पनि नागरिकको पहुँचबाट टाढाँ हुँदै गइरहेको छ। एक वर्ष अगाडिसम्म १ लाख ९० हजारमा आउने स्कुटरको मूल्य २ लाख ३० हजारसम्म कायम गरिएको छ। यसरी बढेको मूल्यमा कसले खरिद गर्न सक्छ?,’ उनले प्रश्न गरे।