BIZMANDU
www.bizmandu.com

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित, कहाँ रह्यो कमजोरी?

२०८० मंसिर २२

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित, कहाँ रह्यो कमजोरी?
नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित, कहाँ रह्यो कमजोरी?


काठमाडौं। नेपाली यू १९ क्रिकेट टोली पाकिस्तानसँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत युएई स्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।

Tata
GBIME
NLIC

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

धारिलो बलिङ गरेको पाकिस्तानसामू नेपाली ब्याट्सम्यानहरुले साझेदारी बनाउन संघर्ष गरे। खासगरी सिनियर टोलीमा समेत अनुभव बटुलेका गुलसन झा र देव खनाल क्रमश: शुन्य र एक रनमै आउट हुँदा अन्य ब्याट्सम्यानलाई दवाब पर्‍यो।

 ब्याटिङतर्फ नेपालका उत्तम थापा मगरले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५१ रन बनाउँदा दीपेश कँडेलले ३१ तथा अर्जुन कुमालले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा नेपाल सामान्य स्कोरमै समेटिन पुग्यो। पाकिस्तानका लागि मोहम्मद जिसन एक्लैले ६ विकेट लिँदा अमिर हसनले २ तथा उबइद शाह र अली अस्फन्दले समान १ विकेट लिए।

सामान्य लक्ष्य पछ्याएको पाकिस्तानविरुद्ध गुलसन झाले पहिलो ओभरमै ब्रेकथ्रू दिलाएका थिए। तेस्रो बलमै सामएल हुसैन झाको बलमा उनैबाट क्याचआउट हुँदा नेपालले सुरुवाती दवाब बनाउन सफल भएको थियो। ६.४ ओभरमा पाकिस्तानको स्कोर बोर्डमा २३ रन हुँदा पाकिस्तानले फेरि विकेट गुमायो। यसपटक झाको बलमा दीपेश कँडेलले शाहजइब खानलाई क्याचआउट गरे।

तर, यहाँको मोमेन्टमलाई नेपालले अगाडि बढाउन सकेन। पाकिस्तानी ब्याटर अजान अवाइस र कप्तान मोहम्मद जिसनले शतकीय साझेदारी बनाउँदै पाकिस्तानको इनिङस् उकासे। उनीहरुले १०७ बलमा १०८ रनको साझेदारी बनाउँदा नेपालको बलिङ आक्रमण धराशायी बन्यो।

२४.३ ओभरमा ५० रन बनाएर खेलिरहेका पाकिस्तानी कप्तान साद बाइगलाई आकाश त्रिपाठीले आउट गराए पनि खेलमा पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो। यसबेला स्कोर बोर्डमा पाकिस्तानको स्कोर १ विकेटको क्षतिमा १३१ रन थियो।

उनी पछि आएका मोहम्मद जिसनले ८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित २० रन बनाएर पाकिस्तानलाई चाँडै जिततर्फ डोहोर्‍याए। त्यसअघि बलिङतर्फ पनि उनले नेपाललाई मात्र १९ रन दिएर ६ विकेट लिएका थिए। त्यस्तै क्रिजमा अजान अविस ५६ रनमा अविजित रहे।  

आजबाट सुरु भएको यू १९ एसिया कपमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल छन्। त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

नेपालले अब २४ गते अफगानिस्तान र २६ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।