काठमाडौं। त्रिभुवन विमानस्थलमा १४ किलो सुन बरामद भएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले घटनाको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।
समितिमा पौडेलसँगै प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना तथा शाखा अधिकृत मञ्जु थापा छन्।
बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका थिए। विशेष सुराकीको आधारमा फ्लाइ दुबईको विमानबाट काठमाडौं ओर्लिएका ४५ वर्षीय चन्द्र घलेलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।
चन्द्रको खानतलासी गर्दा बिस्कुट आकारको ७ थान अन्दाजी तौल १४ केजी सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ।
सुन गोर्खाका मीनबहादुर घलेको भएको खुलेको छ। मीनबहादुरलाई पनि प्रहरीले राति नै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनलाई धुम्बराहीबाट नियन्त्रणमा लिइएको हो।
घटनामा अन्यको पनि संलग्नता भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि विमानस्थलबाट साउन २ गते हङकङबाट आएको ६१ किलो सुन बरामद भएको थियो।
