काठमाडौं। एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वमा रहेका विभिन्न किसिमका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।
यस योजनाले आफ्नो स्वामित्वमा रहेको सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषका इकाइहरु लिलामी बढाबढ गरी बिक्री गर्ने भएको हो। एनएमबि क्यापिटलले व्यवस्थापन गरेको यो फन्ड कात्तिक ८ गते परिपक्व भइसकेको छ।
सामूहिक लगानी कोष नियमावली २०६७ मा योजना खारेजीमा लैजाने क्रममा योजनाको नाममा रहेको सम्पत्तिलाई ३ महिनाभित्र नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको अनुपातमा रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ।
सोही अनुसार यस फन्डको नाममा रहेका सेयर, डिबेन्चर, सामूहिक लगानी कोषका इकाइहरु र सूचीकरण हुन बाँकी बोनस सेयर बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागिएको हो।
इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाले धितोपत्र खरिद गर्न दरभाउ खुलाइ तोकिएको समयभित्र शिलबन्दी बोलपत्र पेस गर्नु पर्ने छ।
योजनाको सेयर खरिदको हकमा न्यूनतम १०० कित्ताका लागि बोलकबोल गर्नु पर्ने छ। यस्तै ऋणपत्रको हकमा न्यूनतम १ हजार कित्ता तथा सामूहिक लगानी कोषको हकमा न्यूनतम १० हजार इकाइका लागि आवेदन दिनुपर्नेछ।