काठमाडौं। नाडा अटोमोबाइलको नेतृत्वमा पुग्न अटोमोबाइल व्यवसायीबीच रस्साकस्सी सुरु भएको छ। सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएपछि व्यवसायी प्यानलनै बनाएर चुनावमा जाने तयारी गरिरहेका छन्।
चुनावमा जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा र सीजी होल्डिङ्सका करण चौधरी अध्यक्षमा भिड्ने भएका छन्। दुवैले प्यानल बनाएर जाने भएका छन्। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले करणलाई समर्थन गरेपछि नाडाको चुनाव रोचक बन्ने देखिएको छ। श्रेष्ठ अध्यक्षमा करणलाई सहमति गर्न छलफल भइरहेको बताउँछन्।
नाडाका महासचिव सुनिल रिजालले चुनावका लागि प्यानल तयार भइरहेको बताउँदै करण र आकाशबीच नै प्रतिस्पर्धा हुने बताए। उनले भने, ‘चुनाव करण र आकाशबीच नै हुने तय भएको छ। त्यसका लागि दुवै पक्षबाट उम्मेदवार छनोटको काम भइरहेको छ।’
सहमति टर्दै
नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले सहमतिको प्रयास भइरहेको बताए। ‘करण र आकाशलाई पालैपालो अध्यक्ष बनाउने विषयमा छलफल केन्द्रित गरिरहेका छौं,’ उनले भने, ‘यो पटक को अध्यक्ष बन्ने भन्ने विषयले सहमति हुन सकेको छैन।’
यस्तै नाडाका महासचिव रिजालका अनुसार सहमतिको प्रयास भएपनि चुनाव नै हुने सम्भावना बलियो बन्दै गएको छ।। ‘करण र आकाशको दुवै प्यानलले आफ्नो टिमका लागि पदाधिकारीहरु समेत छनोट गर्न थालेका छन्,’ उनले भने, ‘यसले सहमति हुँदा दुवै प्यानलबाट पदाधिकारी छनोटमा झन् ठूलो विवाद ल्याउँछ।’
आकाशको प्यानलमा को छन् ?
आकाशको पक्षमा हुन्डाई, बीवाइडी, निसान, एमजी लगायत गाडी बेच्ने घराना रहेको दाबी छ। यो प्यानलको सोमबार गोप्य बैठक भएको थियो।
‘सोमबार भएको बैठकले प्यानल तयार भइसकेको छ,’ बैठकमा सहभागी एक व्यवसायीले भने। जसमा आकाशको पक्षमा गाडीबाट निराकार र स्पेयर पार्ट्सबाट सुनिल रिजाल उपाध्यक्षमा उठ्दैछन्।
यस्तै साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सन्जय खेतान, प्रकाश सिक्देल, सगुन ताम्राकार, सन्जय खेतान, प्रदीपमान शाक्य, रिद्धि कार्की सदस्यमा रहनेछन्। यो टीमलाई अध्यक्ष कृष्णप्रसाद दुलाल, गोल्छा ग्रुप, जगदम्बा मोटर्स, नाडाका अध्यक्ष ध्रुव थापा, विशाल ग्रुपको साथ छ।
यस्तै कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योति रञ्जित, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदीप प्रधान, बीएस कंशाकारलगायतको पनि साथ छ।
करणको प्यानलबाट को उठ्दैछन् ?
करणको प्यानलमा अहिलेका उपाध्यक्ष राजनबाबुसहित सबै पदाधिकारी रहने निश्चित भएको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल करणको समूहमा छन्।
उपाध्यक्षमा राजनबाबु र सुरेन्द्र उप्रेती दाबी गर्नेछन्। यस्तै महासचिवमा मिलनबाबु आउनेछन्। सचिवमा विक्रम सिंघानिया हुनेछन्। यसैगरी कोषाध्यक्ष पंकज अग्रवाल हुन सक्ने सम्भावना बलियो छ।