काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको वार्षिक आम्दानी २४.१७ प्रतिशतले बढेको छ। उनले राष्ट्र बैंकबाट तलब, भत्ता, विशेष भत्ता भनेर लिएको कमाइमा उच्च वृद्धि भएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, अधिकारीले वर्षभरिमा ६० लाख ९१ हजार ३३५ रुपैयाँ तलब भत्ता बुझेका छन्। अघिल्लो वर्ष उनले ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए।
गभर्नरका साथै बाँकी सदस्यको भत्तादेखि तलब बढाउनेसम्मको अधिकार सञ्चालक समितिलाई हुन्छ। उनीहरुले आफ्नो तलब, भत्ता र विशेष भत्ता वृद्धि गरेका हुन्।
गभर्नर अधिकारीको तलबको तुलनामा भत्ता अत्यधिक बढेको छ। पोहोर उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ लिएकोमा यसपालि १६ लाख ३२ हजार रुपैयाँ बुझेका छन्।
सञ्चालक समिति भत्ताका रूपमा पोहोर ३ लाख ५ हजार रुपैयाँ बुझेकामा यसपालि ४ लाख १४ हजार लिएका छन्। विशेष भत्ता भने २७.१३ प्रतिशतले बढेको छ। विशेष भत्ताबापत पोहोर उनले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएकामा यो पटक ४० लाख ९१ हजार ३३५ रुपैयाँ बुझेका छन्।
राष्ट्र बैंकमा सरकारले पदेन सञ्चालकका रुपमा अर्थ सचिवलाई पठाउँछ। गत वर्ष अर्जुनप्रसाद पोखरेल, तोयम राया, मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर सदस्य भएर गएका थिए। अर्थ सचिवमा फिर्ता भएपछि पुष्कर पुन: सदस्य भएका छन्।
उनीहरुले बैठक भत्ता र विशेष भत्ता पाउँछन्। पोखेरलले बैठक भत्ता ९९ हजार र विशेष भत्ता २९ हजार १८६ रुपैयाँ बुझेका छन्। रायाले भत्ता ९९ हजार र विशेष भत्ता ७० हजार ९९२ रुपैयाँ लिएका छन्। मरासिनीले भत्ताबापत १८ हजार बुझेका छन्। उनले विशेष भत्ता भने पाएनन्।
दुई पटक राष्ट्र बैंकको सञ्चालक बनेका पुष्करले भत्ता १ लाख ४४ हजार र विशेष भत्ताबापत १ लाख ११ हजार २२१ रुपैयाँ बुझेका छन्।
राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले तलब, बैठक भत्ता र अन्य सुविधा लिएका छन्। दुबैको तलब भत्ता बढेको छ।
वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले वर्षभरिमा ५७ लाख २ हजार ३६१ रुपैयाँ लिएकी छन्। उनले अघिल्लो वर्ष ४२ लाख ६० हजार ११३ रुपैयाँ बुझेकी थिइन्।
उनले पोहोर तलबबापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ लिएकी थिइन। उनले यसपालि १४ लाख ६० हजार ४०० रुपैयाँ तलब, बैठक भत्ता ३ लाख ४२ हजार र विशेष भत्ता २७ लाख १७ हजार ५१३ रुपैयाँ बुझेकी छन्।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पोहोर ४२ लाख २ हजार १७ रुपैयाँ बुझेकामा यसपालि ५३ लाख २२९ रुपैयाँ बुझेका छन्। उनले पोहोर तलबबापत १२ लाख ६९ हजार ६०० रुपैयाँ लिएकामा यो पटक १४ लाख ६० हजार ४०० रुपैयाँ बुझेका छन्।
उनले पोहोर बैठक भत्ता २ लाख ९६ हजार रुपैयाँ बुझेकामा यसपालि ३ लाख ७८ हजार लिएका छन्। यस्तै विशेष भत्ताबापत पोहोर २६ लाख ३६ हजार ४१७ रुपैयाँ बुझेका उनले यसपालि ३४ लाख ६१ हजार ८२८ रुपैयाँ लिएका छन्।
सञ्चालकहरुको पनि आम्दानी बढेको छ। सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटीले पोहोर १ लाख २५ हजार ५६४ र शंकर आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ बुझेका थिए। यसपालि शिवाकोटीले बैठक भत्ताबापत ४ लाख ५ हजार र विशेष भत्ता बापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ बुझेका छन्।
अर्का सञ्चालक शंकरप्रसाद आचार्यले भत्ता ३ लाख ६० हजार र विशेष भत्ता ६ लाख ४८ हजार ४०८ रुपैयाँ लिएका छन्। त्यसैगरी सञ्चालक रविन्द्र पाण्डेले बैठक भत्ता ९९ हजार र विशेष भत्ता २ लाख ४५ हजार १२ रुपैयाँ बुझेका छन्।