BIZMANDU
www.bizmandu.com

देउवाविरुद्ध आवाज बुलन्द पार्दै कांग्रेस नेताहरु, नेतृत्व छाड्न सार्वजनिक मञ्चबाटै दबाब

२०८० मंसिर १८

देउवाविरुद्ध आवाज बुलन्द पार्दै कांग्रेस नेताहरु, नेतृत्व छाड्न सार्वजनिक मञ्चबाटै दबाब
देउवाविरुद्ध आवाज बुलन्द पार्दै कांग्रेस नेताहरु, नेतृत्व छाड्न सार्वजनिक मञ्चबाटै दबाब


काठमाडौ। नेपाली कांग्रेसमा महासमिति बैठकका लागि जिल्ला जिल्लामा सम्मेलन जारी छ। लुम्बिनी प्रदेशमा भएको प्रदेश सम्मेलनमा भने नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध आवाज बुलन्द पार्न थालेका छन्।

Tata
GBIME

शुक्रबारमात्र संस्थापनइतरका नेता डा शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए। ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मानपूर्वक नेतृत्व छाड्नुपर्छ,’ कोइरालाले भनेका थिए।

सोही मञ्चमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले शेखर कांग्रेसको सभापति भएको हेर्न जनताले चाहेको बताएका थिए। ‘एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेका छन्, वर्तमान र भविष्य हेर्न सक्ने नेता डा शेखर कोइराला हुन्,’ उक्त सभामा भण्डारीले भनेका थिए।

बुद्ध देखाउँदै नेतृत्व छाड्न आग्रह

शनिबार महामन्त्री विश्वप्रकाश शर्माले अब देउवाले प्रधानमन्त्री बन्छु भनेर लाग्न नहुने धारणा राखे। बुटवलमा भएको लुम्बिनी कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै शर्माले गौतम बुद्धले एकपटक पनि सत्ताको कूर्सीमा नबसी बुद्धत्व प्राप्त गरेको उल्लेख गर्दै नयाँ पुस्ताको लागि ठाउँ छाड्न देउवालाई आग्रह गरेका हुन्।

‘भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कूर्सीमा एकपटक पनि नबसी। त्यसकरण आदरणीय सभापतिजीले पाँचपाँचपटक प्रधानमन्त्रीको बनिसक्नुभयो,’ शर्माले भने, ‘अब प्रधानमन्त्री बन्ने कुराको चाहि – लौ अघि बढ, मेरो समकालीन कोही साथीहरु र आउ कोही युवाहरु भन्दै गर्दा अर्कै उर्जा देशव्यापी रुपमा बढ्नेछ। सभापतिको जुन शालीनता छ। त्यसैले त्यो दिन पनि आउला।’

शर्माले आफ्नो भनाई राख्दा देउवा सम्बोधन गरेर कार्यक्रमबाट बिदा भइसकेका थिए। अर्का महामन्त्री गगन थापाले पनि शर्माको भनाईमा सहमति जनाउँदै कांग्रेस जोगाउने हो भने देउवाले नेतृत्व छाड्नुपर्ने भनाई राखे।

‘शीर्ष नेताहरुप्रति सम्मान राख्दैं, सभापतिलाई मैले भनेको छु। यो पार्टीमा तपाईको पुस्ताका साथीहरु पनि थुप्रै हुनुहुन्छ। नयाँ पुस्ताका साथीहरु पनि हुनुहुन्छ,’ थापाले सोही मञ्चबाट भने, ‘केही समयपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ। विश्वप्रकाश शर्माले भन्नुभएजस्तो यत्रो वर्ष मैले पार्टीमा हुर्काएको साथीहरु हुनुहुन्छ यिनीहरुलाई सिकाएको छु। पार्टीको मात्र हैन देशको भारी पनि बोक्नसक्छन् भनेर भन्नुभयो भने पार्टी पनि बाँच्छ, देश पनि बाँच्छ।’

चन्द्र भण्डारीलाई देउवाको कटाक्ष

शनिबारको मञ्चमा पनि केन्द्रीय सदस्य भण्डारीले देउवालाई नेतृत्व छाड्न आग्रह गरे। ‘शेरबहादुर दाइ अब अन्तिम हो, विधानत तपाईं अब पार्टी सभापति बन्ने हैन,’ भण्डारीले भने। पार्टीको जिम्म शेखरलाई दिनुपर्ने उल्लेख गर्दै भण्डारीले भने, ‘उहाँले अब यो मुलुक बनाइदिनुपर्छ। भोलि पार्टी सम्हाल्ने कोही छन् भने विचारका धनी महामन्त्रीहरूलाई साथ लिएर बढ्ने डाक्टर साब हो, बेस्ट सर्जन पनि हो, थेरापिस्ट पनि हो। अब उहाँ अगाडि लागेर देश बनाउनुपर्छ।’

सम्मेलनमा भण्डारीलाई देउवाले कटाक्ष गर्न भ्याए। ‘म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ। कम बोल्ने, काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ,’ देउवाले भने।

भण्डारीसँग बाझाबाझ चल्ने उल्लेख गर्दै देउवाले अब काम गर्नसमेत सुझाव दिए। ‘अत्यन्तै विलपावर भएको मान्छे। धेरै कमलाई विश्वास थियो उहाँ बाँचेर आउनुहुन्छ भनेर। उहाँको विलपावर धेरै रहेछ। उहाँ बाँचेर आउनुभयो त्यसका लागि हार्दिक बधाई उहाँलाई,’ देउवाले भने, ‘उहाँसँग जहिले पनि बाझाबाझ हुने नै। उहाँले छाड्नुहुन्न। उहाँले काम गर्ने पनि बेला आएको छ। भाषणभन्दा बढी काम गर्नुपर्छ।’

गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए। ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उनलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो। लामो समयको उपचारपछि भण्डारी नेपाल फर्किएका हुन्।