BIZMANDU
www.bizmandu.com

१०० वर्षको उमेरमा कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन, अमेरिका चीन सम्बन्ध स्थापनाका सुत्रधार

२०८० मंसिर १४

१०० वर्षको उमेरमा कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन, अमेरिका चीन सम्बन्ध स्थापनाका सुत्रधार
१०० वर्षको उमेरमा कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन, अमेरिका चीन सम्बन्ध स्थापनाका सुत्रधार


काठमाडौं । चर्चित कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन भएको छ। अमेरिकाका विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहिसकेका उनको १०० वर्षको उमेरमा निधन भएको हो।

Tata
GBIME
NLIC

किसिन्जरको जन्म सन् १९२३ मे २७ मा जर्मनीमा भएको थियो। जर्मनीमा हिटलरको शासन रहँदा उनले देश छाडेका थिए। अमेरिकामा आएपछि उनले अमेरिकाको विदेश नीतिलाई बहुपक्षीय सिद्धान्तमा चलाउने प्रयास गरेका थिए।

बुधबार कनेक्टिकमा रहेको घरमा नै किसिन्जरको निधन भएको हो। उनको मृत्युको कारण भने खुलाइएको छैन।

उनलाई भियतनाम युद्धमा अमेरिकी सेनाको संलग्नता अन्त्य गर्न भूमिका खेलेकोमा नोबेल पुरस्कार पनि प्रदान गरिएको थियो।

चीन र अमेरिकालाई मिलाएका किसिन्जर

चीन र अमेरिकासँगको सम्बन्ध स्थापना गर्न पनि उनको भूमिका उल्लेख्य रहेको छ।

शीतयुद्धको क्रममा कम्युनिस्ट परास्त गर्ने अभियानमा रहेको अमेरिकाको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व रहेको चीनसँग सम्बन्ध थिएन। च्याङ काइ सेक नेतृत्वमा शासन गरिरहेको ताइवानलाई अमेरिकाले चीनको मान्यता दिएको थियो। सोही अनुरुप राष्ट्र संघको सुरक्षा परिषद्मा पनि ताइवान प्रतिनिधि थियो। चीन सदस्य समेत थिएन।

अर्कोतिर कोरियाली युद्धका क्रममा चिनियाँ सेनाहरु उत्तर कोरियाको साथमा रहेर दक्षिण कोरियाविरुद्ध लडेका थिए। जहाँ अमेरिकी सेना दक्षिण कोरियाको साथमा उत्तरविरुद्ध लडिरहेको थियो।

त्यस्तै, भियतनाम युद्धका क्रममा अमेरिकी सेनाविरुद्ध लडिरहेका भियतकोङलाई चीनले सहयोग गर्दै आएको थियो।

यस्तो जटिल अवस्थामा सन् १९७१ को जुलाइमा किसिन्जर गोप्य रुपमा पाकिस्तान हुँदै बेइजिङ पुगेका थिए। यही भ्रमण दुई देशबीचको सम्बन्ध स्थापनाको सुत्रधार बन्यो।

चीन-अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतामा परिणत गर्न सन् १९७१ को किसिन्जरको भ्रमणले भूमिका खेल्यो। अध्यक्ष माओत्सेतुङ र प्रधानमन्त्री चाउ एनलाई तथा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र किसिन्जरले आफ्नो असाधारण रणनीतिक दृष्टिकोणका साथ चीन-अमेरिका सहकार्यको ढोका खोले।