काठमाडौं। मारुती सिमेन्टको व्यापार ७१ करोड रुपैयाँले घटेको छ। रेटिङ एजेन्सी केयर रेटिङ्सका अनुसार कम्पनीले सन् २०२२/२३ मा ४ अर्ब ३३ करोड रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो।
यस्तै, २०२०/२१ मा कम्पनीले ६ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेको थियो। कम्पनीमा राठी र गोयल समूहको लगानी छ। कम्पनीसँग दैनिक १५ सय टन क्लिंकर र २ हजार टन ग्राइन्डिङ क्षमता छ।
उद्योगले अहिले ग्राइन्डिङ युनिटको क्षमता दैनिक ४ हजार टन र क्लिंकर युनिटलाई दैनिक ३३ सय टन पुर्याउँदैछ। जसका लागि कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँ लगानी गर्दैछ।
निर्माण सामग्री बजारमा देखिएको गहिरो मन्दीका कारण कम्पनीको व्यापार घटेको रेटिङ विवरणमा उल्लेख छ। मारुती सिमेन्टसँग देशभर करिब २ सय डिलर छन्।
कम्पनीले ५ अर्ब ५५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ३ अर्ब ६५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी ए माइनस र १ अर्ब ८९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एटुप्लस रेटिङ पाएको छ।