BIZMANDU
www.bizmandu.com

प्रहरीले बरामद् गरेको स्रोत नखुलेको रकममध्ये ठूलो हिस्सा हुन्डीको, अनुसन्धान भने फितलो

२०८० मंसिर १३

प्रहरीले बरामद् गरेको स्रोत नखुलेको रकममध्ये ठूलो हिस्सा हुन्डीको, अनुसन्धान भने फितलो
प्रहरीले बरामद् गरेको स्रोत नखुलेको रकममध्ये ठूलो हिस्सा हुन्डीको, अनुसन्धान भने फितलो

काठमाडौं। तपाईँ घरमा कति नगद राख्‍नुहुन्छ? मोबाइल बैंकिङको जमानामा अपेक्षित जवाफ हो – ‘खल्तीमा त नोट चाहिन्न आजकल, घरमा धेरै किन चाहियो?’

Tata
GBIME
NLIC

डिजिटल वालेटले पकड जमाइरहेको समयमा प्रहरीले करिब एक साताअघि काठमाडौंको बागबजारबाट झन्डै एक करोड रुपैयाँ नगदसहित रुपेश श्रेष्ठलाई पक्राउ गर्‍यो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ‘हुन्डी’ विरुद्धको अपरेसनका क्रममा रुपेशलाई पक्राउ गरेको हो।

रुपेशको मोबाइलमा पैसा लेनदेन गर्ने एप्लिकेसन भेटिएको छ जुन नेपालमा गैरकानुनी हो। नेपाल राष्ट्र बैंकसँग इजाजत नलिइ विद्युतीय माध्यमबाट रकम लेनदेन गर्न पाइँदैन। तर उनले ‘क्यास एप’बाट रकम लेनदेन गर्दै आएको प्रहरीको दाबी छ। यसका अलावा अनलाइन जुवा र क्रिप्टोको कारोबारसमेत हुने गरेको उनको मोबाइलबाट खुलेको छ।

उनको घरमा खानतलासी गर्दा ८९ लाख ६९ हजार रुपैयाँ नगद भेटियो। ७ हजार २६ अमेरिकी डलर पनि प्रहरीले फेला पार्‍यो। त्यो दुवै जोड्दा ९९ लाख २ हजार ८ सय २५ रुपैयाँ हुन्छ।

सीआईबी प्रमुख किरण बज्राचार्यले रुपेश हुन्डी कारोबारी भएको खुलेको बताइन्। ‘यति ठूलो परिमाणमा हुन्डीको कारोबार गर्ने व्यक्ति भएको देखिएको छ। जसलाई पुष्टि गर्ने केही कागजपत्रसमेत बरामद गरेका छौं,’ एआईजी बज्राचार्यले भनिन्।

रातिको समयमा पक्राउ गरेको भए थप रकम बरामद् हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको छ। बिहानदेखि नै हुन्डीको रकम वितरण गरेकाले बरामद भएको चाहिं ‘बाँडिसकेपछिको बाँकी रकम’ भएको अनुसन्धानबाट खुलेको छ।

रुपेशले राती १२ बजेदेखि दिउसो ३ बजेसम्म हुन्डीको रकम वितरण गर्ने तथा ग्याम्लिङ गर्ने गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

प्रहरीका अनुसार रुपेशको भक्तपुरमा चाइनिज इँट्टा भट्टा रहेको खुलेको छ। उनले आफ्ना भाइको सहयोगमा हुन्डीको कारोबार गर्दै आएका हुन्। उनका भाइले अमेरिकामा बसेर लेनदेनलाई सहज बनाइरहेको प्रहरीको दाबी छ।

हुन्डी कारोबार गैरकानुनी हो। यसमा बैंकिङ प्रक्रिया ‘बाइपास’ हुने भएकाले विदेशी मुद्रा कम भित्रिने मात्र होइन, राजस्व पनि छली हुने गर्छ। हुन्डी कारोबार बढ्दै गएपछि यसका लागि रुपेशले कर्मचारी समेत राखेको अनुसन्धानका क्रममा खुलेको छ।

स्रोत नखुलेको यति ठूलो परिमाणको रकमसहित एक व्यक्ति पक्राउ परेको यो घटनाले मुलुकमा हुन्डी कारोबार कुन हदसम्म भइरहेको छ भन्ने छर्लंग हुन्छ।

+++

पछिल्लो समय देशभित्र हुन्डीमा भर पर्नेहरु ह्‍वात्तै बढेको प्रहरीको दाबी छ। प्रहरीले दैनिकजसो २/३ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गर्दै आएको छ। त्यो रकममध्ये अधिकांश हुन्डी कारोबारको भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। प्रहरीका अनुसार, हुन्डी कारोबार काठमाडौं उपत्यकापछि भारतसँग सीमा जोडिएका जिल्लामा धेरै हुने गरेको छ।

स्रोत नखुलेको १५ लाख ८४ हजार ५ सय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको छ। बा. प्र ०२ – १७ प ९७५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा २२ वर्षीय हामित खान उक्त रकमसहित पक्राउ परेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो रकम पनि हुन्डीसँगै जोडिएको छ।

+++

स्रोत नखुलेको रकम बरामदको केही वर्षयताको परिमाणले पनि हुन्डी कारोबारको अकासिँदो अवस्थालाई झल्काउँछ। आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले स्रोत नखुलेको ९ करोड ७० लाख ३२ हजार रुपैयाँ बरामद् गरेको थियो। स्रोत नखुलेको रकम आर्थिक वर्ष २०७७/७८ मा ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ र २०७६/७७ मा ५ करोड ७६ लाख ५९ हजार रुपैयाँ बरामद् भएको प्रहरीको तथ्यांक छ।

यो आर्थिक वर्ष तीन महिनामा हुन्डी कारोबारमा संलग्न भएको आरोपमा २ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। गत आर्थिक वर्ष २ करोड ५२ लाख ३१ हजार ४२५ रुपैयाँ हुन्डी कारोबार भएको भन्दै ३१ जनाविरुद्ध मुद्दा अदालतमा पुगेको थियो।

प्रहरीको तथ्यांकमा हुन्डीको रकम र मुद्दा कम देखिनुको कारण अनुसन्धान गर्ने निकाय फरक फरक हुनु हो। स्रोत नखुलेको रकम प्रहरीले बरामद् गरेपनि यसमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्छन्। हुन्डी कारोबारमा ‘विदेशी विनिमय ऐन २०१९’ मा टेकेर मुद्दा चलाउने गरिएको छ।

हुन्डी कारोबारमा संलग्‍न भएको आरोपमा समातिएका व्यक्तिलाई प्रहरीले ती दुई विभागमा बुझाउने गरेको छ। यस्ता घटनामा अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छैन।

हुन्डीको रकममध्ये कतिपय अवैध गतिविधिमा प्रयोग हुने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। विदेशबाट सामान ल्याउँदा कम बिलबिजक बनाउने र बाँकी रकम हुन्डीमार्फत् उतैबाट तिर्ने प्रवृत्ति बढेको छ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले घरमा पैसा पठाउन हुन्डीकै बाटो समात्‍ने क्रम बढेको छ। खासगरी कोरियामा रहेका नेपाली श्रमिकले हुन्डी रोज्ने गरेका छन्। त्यसैले कोरियाबाट तुलनात्मक रुपमा कम रेमिटेन्स भित्रिने गरेको छ।