BIZMANDU
www.bizmandu.com

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

२०८० मंसिर १३

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त
इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन्।ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

Tata
GBIME
NLIC

इप्पानका अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा इप्पानमा स्वागत गर्दै उनको कार्यकालमा इप्पानले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे।

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाई दिन आफूले सतप्रतिशत योगदान दिने बताए।

बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि उनी ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतम राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डट कममा सम्पादकीय नेतृत्वमा थिए।

देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरु आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो। इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधिन छन्। ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन्।

क्षेत्रगत लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ।