BIZMANDU
www.bizmandu.com

च्याम्पियन्स लिग: बार्सिलोना अन्तिम १६ मा, पीएसजीको बराबरी, हल्याण्डको कीर्तिमान

२०८० मंसिर १३

च्याम्पियन्स लिग: बार्सिलोना अन्तिम १६ मा, पीएसजीको बराबरी, हल्याण्डको कीर्तिमान
च्याम्पियन्स लिग: बार्सिलोना अन्तिम १६ मा, पीएसजीको बराबरी, हल्याण्डको कीर्तिमान


स्पेनिस क्लब बार्सिलोना यूएईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति सम्पन्‍न समूह ‘एच’को खेलमा एफसी पोर्टोलाई २-१ गोलअन्तरले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो।

Tata
GBIME
NLIC

खेलको ३० औँ मिनेटमा पोर्टोले खेलमा अग्रता बनाएको थियो। तर, ३२ औँ मिनेटमा क्यान्सेलोले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको खेलमा जोआओ फिलिक्सले ५७ औँ मिनेटमा बार्सिलोनाका लागि गोल थप्दै २-१ गोलको जित सुनिश्‍चित गरे।

योसँगै ५ खेलबाट १२ अंक जोड्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गर्दा समान ९ अंक जोडेका पोर्टो र शक्तर डोनेस्क प्रतिस्पर्धामा कायम छन्। एन्टवेर्प भने तालिकाको पुछारमा छ।

एम्बाप्पेको गोलले टर्‍यो पीएसजीको हार

समूह ‘एफ’को खेलमा फ्रेन्च क्लब पीएसजीले भने इङ्ग्लिस क्लब न्यु क्यासल युनाइटेडसँग हार टारेको छ। पार्क डी प्रिन्सेसमा सम्पन्‍न खेलमा अलेक्जेन्डर इसाकको गोलमा न्यु क्यासलले २४ औँ मिनेटमा खेलमा अग्रता बनाएको थियो।

बल पोजिसन बलियो बनाए पनि पीएसजीलाई गोल गर्न इन्ज्युरी समयमै पुग्नु पर्‍यो। इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरे। टिनलिभ्रामेन्टोले फ्रिकिका क्रममा ह्याण्डबल भएको भन्दै रेफ्रीले भीएआरको सहायतामा पेनाल्टी दिएका थिए।

यो समूहमा बोरुसिया डर्टमण्ड १० अंक जोडेर अन्तिम १६ मा पुगिसकेको छ भने पीएसजीले ७ तथा न्यु क्यासल र एसी मिलानले समान ५ अंक जोडेका छन्।

गएरातिकै खेलमा एसीमिलानलाई डर्टमण्डले ३-१ गोलअन्तरले हराएको थियो।

म्यानचेस्टर सिटीमा कीर्तिमानी हल्याण्ड

समूह ‘जी’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्‍न खेलमा सिटीले लाइपजिगमाथि ३-२ गोलअन्तरले जित निकाल्यो।

खेलको १३ र ३३ औँ मिनेटमा लुइस ओपेन्डाले गोल गर्दा पहिलो हाफमा लाइपजिग दुई गोलले अघि थियो। तर, दोस्रो हाफमा सिटीले पुनरागमन गर्न सफल भयो।

५४ औँ मिनेटमा अर्लिङ हल्याण्ड, ७० औँ मिनेटमा फिल फोडेन र ८७ औँ मिनेटमा जुलियन अल्भारेज गोल गर्दै जित सुनिश्‍चित गरे। यसक्रममा च्याम्पियनसन्स लिगमा सबैभन्दा चाँडो ४० गोल पुर्‍याउने खेलाडीको कीर्तिमान नर्वेजियन स्ट्राइकर अर्लिङ हल्याण्डले बनाएका छन्।

उनले ४५ खेलको कीर्तिमानलाई पछि पार्दै ३५ म्याचमा यो कीर्तिमान बनाएका हुन्। सिटी अन्तिम १६ का लागि यसअघि नै छनोट भइसकेको छ।