BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, मंसिर २७ गतेदेखि कार्यान्वयन हुने

२०८० मंसिर १२

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, मंसिर २७ गतेदेखि कार्यान्वयन हुने
काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, मंसिर २७ गतेदेखि कार्यान्वयन हुने


काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिने महानगरले जनाएको छ।

Tata
GBIME
NLIC

महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर आज सूचना जारी गर्दै प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानमा रोक लगाउने जनाएको हो।

कसैले प्रतिबन्धित सुर्तीजन्य पदार्थ बिक्री गरेको देखे नगर प्रहरीले जफत गर्ने चेतावनी महानगरले दिएको छ।  

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो।’  

ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र जंक फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको  ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था छ।

महानगरले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवनमा रोक लगाउने निर्णय पनि कडाइका साथ लागू गर्ने भएको छ।  २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायतका स्थलहरुमा धुम्रपान, चुरोट, विँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ।

हाल पहिलो चरणको प्रतिबन्ध लगाइएको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने पौडेलले बताए।