काठमाडौं। हतियार डिलरहरुबीच एउटा भनाइ प्रसिद्ध छ – नो बिजनेस विथआउट एनिमी। अर्थात शत्रु बिना व्यापार सम्भव छैन। ‘ग्लोबल साउथ र ग्लोबल नर्थ’ मा बाँडिएको विश्व मित्र र शत्रुले भरिएका छन्।
अहिले रसिया र युक्रेनको युद्धले पूरै विश्वको अर्थतन्त्रलाई मन्दीको मारमा पारेको छ। खाडीमा इजरायल र हमासको युद्धको चपेटामा १५ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। कंगोको सशस्त्र द्वन्द्व, नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीचको युद्धले पनि विश्वलाई झक्झकाइरहेको छ।
विश्व नै आर्थिक मन्दीको सिकार भइरहँदा जारी युद्धमा खर्बौं रुपैयाँ लगानी भइरहेको छ।
युद्धमा योजना, संगठन र सेना जति आवश्यक छन् त्यो भन्दा महत्त्वपूर्ण पक्ष हो हतियार। हतियारको व्यापार विश्वको सबैभन्दा सफल ‘कर्पोरेट बिजनेस’ मध्ये एक हो। विश्वका टप १०० फर्मले हरेक वर्ष ४०० बिलियन डलर (५३१ खर्ब रुपैयाँभन्दा बढी)को हतियार निर्माण गर्छन्। हाल विभिन्न रुपमा भइरहेको युद्धमा हतियार र सेनाको होडबाजी चलिरहेको छ। सँगै हतियार निर्माताहरु पनि हतियारको डिलिङका लागि देश देश पुगिरहेका छन्।
मुख्य हतियार उत्पादन गर्ने कम्पनीहरू उच्च स्तरको सैन्य खर्च र हतियार निर्यात भएका देशहरूमा छन्। विश्वमा हतियार उत्पादन गर्ने कम्पनीहरुमध्ये अमेरिकामा मात्रै ५७ प्रतिशत छन्। रसियामा ९.५ र युरोपमा २२ प्रतिशत कम्पनी छन्। यससँगै जापान, इजरायल, भारत र दक्षिण कोरियामा पनि मुख्य हतियार उत्पादकहरु छन्।
स्टाटिस्टा रिसर्च डिपार्टमेन्टले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०१८ देखि सन् २०२२ सम्म हतियार बजार निर्यातमा अमेरिकाको ४० प्रतिशत सेयर छ। सबैभन्दा बढी हतियार निर्यात गर्ने दोस्रो देशमा रसिया छ। विश्व बजारमा रसियाले १६ प्रतिशत हतियार निर्यात गर्ने गर्छ। अमेरिका र रसियाले सन् २०१७ देखि सन् २०२२ बीच हतियार निर्यातमा आधाभन्दा बढी योगदान दिएका थिए।
सन् २०२१ को तथ्यांक हेर्ने हो भने हतियार बिक्रीमा अमेरिकी कम्पनी अगाडि देखिन्छ। अमेरिकाको लकहिड मार्टिन कर्पले सो वर्ष ८ अर्ब रुपैयाँभन्दा बढीको हतियार बिक्री गरेको थियो। यस्तै, अमेरिकाकै रेथनले ५ अर्बभन्दा बढीको हतियार बिक्री गरेको थियो।
अमेरिकाकै बोइङेले ४ अर्बको हतियार बिक्री गर्दा नर्थरोप ग्रुम्यानले पनि करिब ४ अर्बकै र जेनेशल डाइन्यामिक्सले मात्रै ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको हतियार बिक्री गरेको थियो।
अमेरिकीपछि बेलायती कम्पनी बीएइ सिस्टम्सले ३ अर्ब २९ करोडको डलरको हतियार बिक्री गरेको थियो। त्यसपछि भने हतियार बिक्रीमा चिनियाँ कम्पनीअघि छन्।
सन् २०२१ मा चीनको चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पले २ अर्ब ८३ करोड, एभिएसन इन्ड्रस्ट्रि कर्प अफ चाइनाले २ अर्ब ६७ करोड, चाइना एरोस्पेस एन्ड टेक्नोलोजी कर्पोरेसनले २ अर्ब ५४ करोड, चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पले करिब दुई अर्को र चीनकै सिएसिकले १ अर्ब ९३ करोड रुपैयाँको हतियार बिक्री गरेको थियो।
हतियार बिक्रीको तथ्यांक (मिलियन अमेरिकी डलरमा)*
कम्पनी | देश | हतियार बिक्री (२०२१) | हतियार बिक्री (२०२०) | कुल बिक्री (२०२१) |
Lockheed Martin Corp. | अमेरिका | ६०३४० | ५८२१० | ६७०४४ |
Raytheon Technologies | अमेरिका | ४१८५० | ३६७८० | ६४३८८ |
Boeing | अमेरिका | ३३४२० | ३२७४० | ६२२८६ |
Northrop Grumman Corp. | अमेरिका | २९८८० | ३०४२० | ३५६६७ |
General Dynamics Corp. | अमेरिका | २६३९० | २५८४० | ३८४६९ |
BAE Systems | बेलायत | २६०२० | २४०२० | २६८५१ |
NORINCO | चीन | २१५७० | १७९३० | ८१६०७ |
AVIC | चीन | २०११० | १६९८० | ८०४४६ |
CASC | चीन | १९१०० | १६८८० | ४३४०८ |
CETC | चीन | १४९९० | १४६१० | ५५४४३ |
CASIC | चीन | १४५२० | ११८७० | ४६०९३ |
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार २०२२ मै सेनामा सर्वाधिक खर्च गर्ने राष्ट्र पनि अमेरिका नै हो। सो वर्ष अमेरिकाले ८७७ बिलियन अमेरिकी डलर खर्च गरेको थियो। चीनले २९२ बिलियन अमेरिकी डलर सेनामा खर्च गर्दा रसियाले ८६.४ बिलियन डलर खर्च गरेको थियो। रसियापछि सेनामा सबैभन्दा बढी खर्च गर्ने राष्ट्र भारत हो। भारतले सन् २०२२ मा सेनामा ८१.४ बिलियन डलर खर्च गरेको थियो।
सन् २०२२ मा विश्वव्यापी सैन्य खर्च ३.७ प्रतिशतले बढेर २.२४ ट्रिलियन डलर पुगेको छ। मध्य र पूर्वी युरोपियन देशले शीतयुद्धपछि युक्रेन र रसियाको युद्धबीच सेन्य खर्च बढाएको हो। सेनामा सबैभन्दा बढी खर्च गर्ने देश अमेरिका हो। त्यसपछि रसिया र चीनले सेनाम बढी खर्च गरिरहेको छ। यी ३ देशले कुल सैन्य खर्चको ५६ प्रतिशत ओगट्छ।
१४५ देशको सैनाको संख्या, सैन्य उपकरण, हतियार, भौगोलिक अवस्था लगायतलाई आधार बनाएर ग्लोबल फायरपावरको मिलिटरी स्ट्रेन्थ र्याङ्किङ्स २०२३ सार्वजनिक भएको छ। जसमा अमेरिका सबैभन्दा माथि छ। नेपाल १४५ देशमा १२९ स्थानमा छ।
र्यांक / देश | पावर इन्डेक्स | कुल सेनाको संख्या (अनुमानित) | सैन्य खर्च |
१ – अमेरिका | ०.०७१२ | १,८३२,००० | ८७७ बिलियन |
२ – रसिया | ०.०७१४ | १,३३०,९०० | ८६.४ बिलियन |
३ – चीन | ०.०७२२ | ३,१३५,००० | २९२ बिलियन |
४ – भारत | ०.१०२५ | ५,१३२,००० | ८१.४ बिलियन |
५ – बेलायत | ०.१४३५ | २३१,००० | ६८.५ बिलियन |
६ – दक्षिण कोरिया | ०.१५०५ | १,१३०,००० | ४६.४ बिलियन |
७ – पाकिस्तान | ०.१६९४ | १,७०४,००० | १७.९ बिलियन |
८ – जापान | ०.१७११ | ३०९,००० | ४६ बिलियन |
९ – फ्रान्स | ०.१८४८ | ४१५,००० | ५३.६ बिलियन |
१० – इटाली | ०.१९७३ | २९७,००० | ३३.५ बिलियन |
आणविक हतियारमा खर्बौं खर्च
सन् २०२२ मा आणविक हतियार निर्माणमा ८२.९ बिलियन अमेरिकी डलर (११० खर्ब रुपैयाँ बढी) खर्च भएको छ। १२ हजार ५०० आणविक हतियार निर्माण गर्न सो रकम खर्च भएको वेस्टेड: २०२२ ग्लोबल न्युक्लियर विपन स्पेन्डिङमा उल्लेख छ।
सो रकम सन् २०२१ मा खर्च भएको भन्दा ३ प्रतिशत बढी हो। यो भनेको हरेक मिनेट १ लाख ५७ हजार ६६४ अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ) आणिवक हतियारमा खर्च भइरहेको छ। आणविक हतियारमा खर्च गर्नेमा पनि अमेरिका अगाडि छ। अमेरिकाले सन् २०२२ मा ४३.७ बिलियन डलर (करिब ५८ खर्ब) आणविक हतियारमा खर्च गरेको छ। त्यसपछि चीनले ११.७ बिलियन (१५ खर्ब ५८ अर्ब रुपैयाँ बढी) र रसियाले ९.६ बिलियन डलर (१३ अर्ब बढी) आणविक हतियारमा खर्च भएको छ।
भारतले आणविक हतियारमा आफ्नो लगानी २१.८ प्रतिशतले बढाएको छ। बेलायतले भने आणविक हतियारमा ११ प्रतिशतले लगानी बढाएको छ।
सन् २०२२ मा आणविक हतियार उत्पादकले १६ बिलियन अमेरिकी डलर (करिब २१ खर्ब)को नयाँ कन्ट्रयाक्ट पाएको रिपोर्टमा उल्लेख छ। कम्पनीले आणविक हतियारको खरिदका लागि अमेरिका र फ्रान्सका सरकारसँग लबिङ गर्न मात्रै ११३ मिलियन अमेरिकी डलर (१५ अर्ब) खर्च गरेको छ।