BIZMANDU
www.bizmandu.com

प्राधिकरणले चार महिनामा भारतलाई बेच्यो साढे १२ अर्बको बिजुली, कात्तिकमा घट्यो निर्यात

२०८० मंसिर ७

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत भारतमा निर्यात गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले साउनदेखि कात्तिकसम्म १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् १२ अर्ब ५० करोड ८ लाख रुपैयाँमा बेचेको हो। यो रकम पोहोर चार महिनाको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो।

प्राधिकरणले गत वर्ष पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो।

तर कात्तिकमा भने निर्यात घटेको छ। साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ।

देशभित्र खपत गरी बचत भएको विद्युत् प्राधिकरणले भारतीय बजारमा बिक्री गर्दै आएको छ। यो वर्ष गत २८ जेठबाट बेच्न थालिएको हो। त्यसयता १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ।

चार महिनाको औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो।