काठमाडौं। पार्टी नेताहरुको सुझाव विपरीत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको शक्ति प्रदर्शनको प्रतिकार गर्न राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुलाई निर्देशन दिएका छन्। प्रसाईंले मंसिर ७ गते गर्न लागेको प्रदर्शनकै दिन युवा संघ र अनेरास्ववियुले शक्ति प्रदर्शन गर्न नहुने सुझाव एमाले नेताले ओलीलाई दिएका थिए। तर, ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको दबाबका कारण युवा संघ र अनेरास्ववियुले शक्ति प्रदर्शन गर्ने भएका हुन्।
महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ओली निवास बालकोटमै पुगेर प्रसाईंको आन्दोलनकै दिन एमालेका संगठनहरुले प्रदर्शन गर्दा मुठभेड हुन सक्ने भएकाले अर्को दिन मात्रै शक्ति प्रदर्शन गर्नुपर्ने प्रस्ताव गरेका थिए। जनजीविकाका सवाल उठाएर सरकारविरुद्ध प्रदर्शन गर्नु उचित भए पनि प्रसाईंको प्रदर्शनकै दिन एमालेको शक्ति प्रदर्शन गर्नु ठिक नभएको तर्क पोखरेल र ढकालको थियो। तर, ओली र बस्नेतले प्रसाईंलाई नै काउन्टर दिनेगरी प्रदर्शन गर्नुपर्ने अडान राखेपछि शनिबार ओलीले पार्टी कार्यालय च्यासलमा सम्बोधन गरेर प्रदर्शनबारे निर्देशन दिने तय भएको थियो।
युवा संघका अध्यक्ष क्षितीज थेबेले धेरै पटकको छलफलपछि मात्रै प्रदर्शनबारे तय भएको बताए। ‘हामीले वृहत् छलफल गरेऊँ, प्रशासनलाई पनि समन्वय गरेऊँ। के के न हो भनेर जनतलाई भय पैदा गर्न खोजिएको छ त्यसलाई निरुत्साहित गर्ने भन्ने छलफलको निष्कर्ष अनुसार आयोजना भएको हो,’ थेबेले भने।
यद्यपि ढकालले भने ओलीसँगको भेटमा प्रदर्शनबारे छलफल भए पनि प्रदर्शन गर्न नहुनेबारे आफूले धारणा नराखेको बताए। ‘अध्यक्षलाई भेटेर छलफल गर्नु कुन ठूलो कुरा भयो र? एमालेको डायरीमा नगर्ने भन्ने छैन। यसबारे अध्यक्ष र महासचिवले सम्बोधन गरिसक्नुभएको छ,’ उनले भने
प्रसाईं र युवा संघले काठमाडौंको माइतीघरमै प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले भने दुवै पक्षलाई माइतीघरमा विरोधका कार्यक्रम गर्न नदिने भएको छ। सोमबारदेखि ३० दिनसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
ओली र बस्नेतविरुद्ध प्रसाईंले लगातार आक्रोश व्यक्त गर्न थालेपछि बस्नेतले प्रतिकार गर्नुपर्ने भन्दै ओलीलाई दबाब दिँदै आएका थिए। प्रसाईं पछिल्लो पटक ओली र बस्नेतविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन्। प्रसाईंको प्रदर्शनलाई निस्तेज पार्न एमालेको युवा संघ र अनेरास्वियुले शक्ति प्रदर्शनको आयोजना अघि सारे पनि प्रसाईंको अराजनीतिक गतिविधिको प्रतिकारमा उत्रिनु पार्टीका लागि हितकर नहुने भन्दै एमाले भित्रै विरोध भइरहेको छ। असोज २२ मा युवा संघले प्रसाईंलाई कालो मोसो दलेको थियो। त्यसयता प्रसाईं झनै आक्रामक बने। प्रसाईं आक्रामक बन्न थालेपछि ओलीले पनि उनको प्रदर्शनलाई प्रतिक्रियावादी शक्तिको संज्ञा दिँदै विरोधमा उत्रन निर्देशन दिएका थिए।
‘लोकतन्त्रविरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रविरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ,’ ओलीले प्रसाईंविरुद्ध आक्रोश व्यक्त गर्दै मंसिर २ गते पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा भनेका थिए। उनले प्रसाईंले गर्ने प्रदर्शनको अर्थ नहुने टिप्पणी गरे। ‘एउटा कोही व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्ति जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिस उतार्न। ती मानिस आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो,’ ओलीको भनाइ थियो।
प्रसाईंविरुद्ध उत्रिन नहुने विचार केही नेताले राखिरहेको भए पनि ओली निकट केही नेताहरूले भने कोही व्यक्ति विशेषलाई लक्षित गरेर कार्यक्रम गर्न नलागेको भन्दै प्रदर्शनको बचाऊ गरिरहेका छन्। एमाले संयमित भए पनि एमालेविरुद्धका गतिविधि सह्य नहुने पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए। ‘एमाले सुतेर बसिरहन सक्दैन। जब हामीले प्राप्त गरेका उपलब्धिलाई चुनौती दिने गरी कोही आउँछ भने त्यसविरुद्ध त उभिनै पर्यो नि,’ भट्टराईले भने।
ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकता गराउन भूमिका खेलेको दाबी प्रसाईंले गर्दै आएका छन्। एमालेको १०औं महाधिशेनबाट प्रसाईंलाई ओलीले नै केन्द्रीय सदस्य बनाएका थिए। तर, प्रसाईंसँगको सम्बन्ध बिग्रिएपछि एमालेले उनलाई केन्द्रीय सदस्यबाटै हटाएको थियो। अहिले प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा वकालत गरिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्।