BIZMANDU
www.bizmandu.com

युवा संघ र दुर्गा प्रसाईंको समूहसँग सीडीओ कार्यालयमा छलफल, एकै ठाउँमा प्रदर्शन गर्न नदिइने

२०८० मंसिर ४

युवा संघ र दुर्गा प्रसाईंको समूहसँग सीडीओ कार्यालयमा छलफल, एकै ठाउँमा प्रदर्शन गर्न नदिइने
युवा संघ र दुर्गा प्रसाईंको समूहसँग सीडीओ कार्यालयमा छलफल, एकै ठाउँमा प्रदर्शन गर्न नदिइने

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसीर ७ गते दुर्गा प्रसाईं र युवा संघ नेपाललाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।

Tata
GBIME

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गरी सुरक्षाको कारण देखाउँदै माइतीघरमा कार्यक्रम गर्न नदिने जानकारी गराएका हुन्।

दुवै पक्षलाई कार्यक्रम गर्न काठमाडौंका अन्य ठाउँ तोकिने भएको छ। कार्यक्रम गर्न दिने ठाउँबारे निर्णय भइनसकेको सहायक सीडीओ रविन्द्र प्रसाद आचार्यले बताए।

‘आज दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भनेका छौं। कार्यक्रम गर्न अरु नै ठाउँ तोकिने छ,’ सहायक सीडीओ आचार्यले भने।

जिल्ला प्रशासन कार्यालयले कार्यक्रम हुने स्थानमा सुरक्षा व्यवस्था कडा पार्ने समेत जानकारी दिएको छ। प्रसाईंले ७ गते प्रदर्शनको तयारी गरेपछि युवा संघले पनि त्यही दिन आफ्ना कार्यकर्तालाई सडकमा उतार्न लागेको हो।

केही समयदेखि युवा संघ र प्रसाईं एकअर्काको ‘काउन्टर’मा उत्रिएका छन्। मुठभेड हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय दुवै पक्षलाई नजिकै पर्ने गरी कार्यक्रम गर्न नदिने निर्णयमा पुगेको हो।