BIZMANDU
www.bizmandu.com

विश्‍वकप छनोटमा नेपालले भोलि यमनसँग खेल्ने, अल्टिट्युडको फाइदा उठाउने नेपालको दाउ

२०८० मंसिर ४

विश्‍वकप छनोटमा नेपालले भोलि यमनसँग खेल्ने, अल्टिट्युडको फाइदा उठाउने नेपालको दाउ
विश्‍वकप छनोटमा नेपालले भोलि यमनसँग खेल्ने, अल्टिट्युडको फाइदा उठाउने नेपालको दाउ


काठमाडौं। विश्‍वकप फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार यमनविरुद्ध खेल्दैछ।

Tata
GBIME
Nepal Life

घरेलु मैदान दशरथ रंगशालामा हुने खेलमा यमनसँग अंक खोस्ने योजना रहेको नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरण चेम्जोङले बताएका छन्।

समूह ‘एच’ मा रहेका यी दुवै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा समूहको शीर्ष स्थानमा रहेको यूएईसँग ४-० गोलले हार बेहोर्दा यमन बहराइनसँग २-० गोलले पराजित भएको थियो।

समूह ‘एच’ मा यूएई र बहराइन ३ अंक जोड्दै शीर्ष दुईमा छन्। नेपाल चौथो स्थानमा छ। समूहका चारवटै टोलीले एक अर्कासँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछन्।

नेपाल र यमनको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ। नेपालले दोस्रो पटक साँझ ७ बजे घरेलु मैदानमा खेल्न लागेको हो। एन्फा नेतृत्वले प्रशिक्षक एनेसको चाहनामा ‘होम एडभान्टेज’ लिने उद्देश्यले ७ बजे खेल राखेको हो। एनेस अल्टिट्युडको फाइदा उठाउने दाउमा छन्।

अघिल्लो संस्करणको विश्‍वकप छनोटमा ‘होम र अवे’ मा खासगरी कुवेतसँगको नतिजालाई मध्यनजर गर्दै नेपाल घरेलु मैदानको फाइदा उठाउने तरखरमा छ।

तर, यमनका प्रशिक्षक मेरिस्लाभ सोउकभले अल्टिट्युड र समयले फरक नपार्ने बताए। ‘हाम्रो पहिलो खेल पनि ९ बजे सुरु भएको थियो। यो अल्टिट्युडमा पनि समस्या छैन,’ उनले भने। बरु उनले यात्राका क्रममा ७ घण्टाभन्दा बढी होल्ड भएकाले समस्या भएको बताए। युद्धको कारण यमनको फुटबल प्रभावित भए पनि युवा खेलाडीलाई समेटेर मिश्रित टोली बनाएको उनको भनाइ छ।

यमनको राष्ट्रिय फुटबल टोलीका कप्तान र प्रशिक्षक

नेपाली टोलीका प्रशिक्षक एनेसले तयारी राम्रो गरेको भन्दै आफूहरुले जित चाहेको बताए। ‘हामीलाई अंक चाहिएको छ। यसअघि बलियो टोलीसँग खेलेर आएका छौं। हामी अब यमनविरुद्धको खेलका लागि तयार छौं,’ उनले भने।

नेपाली टोलीका कप्तान लिम्बूले पहिलो खेलको नतिजालाई बिर्सिएर यमनविरुद्धको खेलमा केन्द्रीत भएको बताए। ‘खेलाडीहरु उत्साहित छौं। हाम्रा लागि अंक महत्वपूर्ण छ। घरेलु समर्थकसामु खेल्न हामी तयार छौं,’ उनले भने।

यूएईविरुद्ध खेलेका युवा खेलाडी लाकेन लिम्बू चोटका कारण टोलीबाट बाहिरिएका छन्। अनुभवी खेलाडी अनन्त तामाङको कमब्याक हुने/नहुने टुंगो लागिसकेको छैन।  

यमन फिफा वरीयतामा १५६ औं स्थानमा छ। नेपाल भने १७३ औं स्थानमा छ। नेपाल र यमन यसअघि ४ पटक आमनेसामने भएकामा एक खेलमा बराबरी हुँदा तीन खेल यमनले जितेको थियो।

मंगलबारको खेलका लागि रंगशालामा साधारणतर्फ ४ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ शुल्क तोकिएको छ।