BIZMANDU
www.bizmandu.com

नयाँ व्यवस्थापनपछि टाइगर प्यालेसको व्यापार बढ्यो, चार महिनामा पाँच करोड आम्दानी

२०८० मंसिर ४

नयाँ व्यवस्थापनपछि टाइगर प्यालेसको व्यापार बढ्यो, चार महिनामा पाँच करोड आम्दानी
नयाँ व्यवस्थापनपछि टाइगर प्यालेसको व्यापार बढ्यो, चार महिनामा पाँच करोड आम्दानी

काठमाडौं। भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनपछि लयमा फर्किएको छ। रिसोर्टले नयाँ व्यवस्थापनपछि चार महिनामा करिब ५ करोडको व्यापार गरेको छ। रिसोर्ट गत जुलाइमा अमेरिकास्थित गैरआवासीय नेपालीको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले किनेको थियो।

Tata
GBIME
NLIC

प्रक्षेपण अनुसार नै आम्दानी भएको कम्पनीले जनाएको छ। नयाँ व्यवस्थापनले गत जुलाई १५ बाट रिसोर्ट सञ्चालन गरेको थियो।

‘हामीले सुरुमा मासिक करिब १ करोड रुपैयाँ आम्दानी गर्‍यौं। अक्टोबर लागेपछि व्यापार बढ्यो। यो नोभेम्बर महिनामा दुई करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने विश्‍वास छ,’ कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले भने, ‘रुमसँगै इभेन्टको बुकिङ उल्लेख्य मात्रामा आइरहेको छ।’

हिमालयन टाइगर इन्भेष्टमेन्टले पाँच अर्ब रुपैयाँमा रिसोर्ट किनेको हो। रिसोर्टमा १०५ कोठा छन्। रिसोर्ट अहिले आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छ।

‘हामीकहाँ अहिले रहेकामध्ये ७० प्रतिशत भारतीय र ३० प्रतिशत नेपाली पर्यटक हुन्,’ सुवेदीले जानकारी दिए। रिसोर्टले पर्यटकहरुलाई रुम सहितको सेवा दैनिक ९० अमेरिकी डलरमा उपलब्ध गराउँदै आएको छ।

रिसोर्टमा एनजीओ/आइएनजीओ र कर्पोरेट क्षेत्रबाट इभेन्टका लागि राम्रो माग छ। वैवाहिक समारोह पनि रिसोर्टका लागि आम्दानीको राम्रो माध्यम बनेको छ। सुवेदीका अनुसार मंसीरमा १० वटा वैवाहिक समारोहका लागि बुकिङ भइसकेको छ।

रिसोर्टले भारतीयहरुलाई लक्षित गरी बजार प्रवर्धन गरिरहेको छ। ‘नेपाली पर्यटकको आउजाउ राम्रै छ। तर हामीले अहिले भारतीय बजारमा प्रचार प्रसार गरिरहेका छौं,’ सुवेदीले भने।

रिसोर्टको व्यवस्थापन दीपक लेखक, यादव पाण्डे, विशान्त शाह लगायत आवद्ध ‘टाइगर फिलोक्सिनिया’ले हेर्दै आएको छ।

यो होटलको व्यवस्थापन अहिले दीपक लेखक, यादव पाण्डे, विशान्त शाह लगायत आवद्ध ‘टाइगर फिलोक्सिनिया’ले गर्दै आएको छ। हिमालयन टाइगर इन्भेष्टमेन्टले किन्नुअघि रिसोर्ट अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको स्वामित्वमा थियो। कम्पनीले राम्रोसँग चलाउन नसकेर बेचेको हो।

नयाँ व्यवस्थापनले रिसोर्टमा क्यासिनो पनि चलाउन लागेको छ। तर क्यासिनोको सञ्चालनको तयारी भने योजना अनुसार अगाडि बढेको छैन। ‘हामी ६० दिनभित्रै क्यासिनो सञ्चालनको तयारीमा थियौं। तर प्रक्रिया पूरा नभएकाले सञ्चालनमा ल्याउन सकेनौं,’ सुवेदीले भने, ‘पर्यटन विभागको प्रक्रिया पूरा भएपछि बक्यौता भुक्तानी गरेर क्यासिनो सञ्चालन गर्छौं।’

क्यासिनोले पुरानो व्यवस्थापनले सञ्चालन गर्दाको समयको १५ करोड ४० लाख रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ।

क्यासिनो सञ्चालनमा आएपछि रिसोर्टको आम्दानी अझ बढ्ने नयाँ व्यवस्थापनको विश्‍वास छ। रिसोर्ट सञ्चालनका लागि नयाँ व्यवस्थापनले अहिले विभिन्न कम्पनीसँग नेगोसिएसन गरिरहेको छ।

यसबाहेक स्विमिङ पुल, पार्किङ लगायत पूर्वाधार मर्मतका लागि रिसोर्टले दुई करोड रुपैयाँ खर्चिन लागेको छ। ‘जाडोयाममा मर्मत संभारको काम सम्पन्न गर्ने तयारी छ,’ सुवेदीले भने।