BIZMANDU
www.bizmandu.com

डीपफेक भिडियो के हो? कसरी छुट्याउन सकिन्छ भिडियो रियल हो कि फेक?

२०८० मंसिर ४

डीपफेक भिडियो के हो? कसरी छुट्याउन सकिन्छ भिडियो रियल हो कि फेक?
डीपफेक भिडियो के हो? कसरी छुट्याउन सकिन्छ भिडियो रियल हो कि फेक?


प्रविधिले फड्को मारिरहँदा त्यसको दुरुपयोग पनि बढिरहेको छ। पछिल्लो समय चर्चामा रहेको डीपफेक भिडियो पनि त्यसैको उपज हो।

Tata
GBIME
Nepal Life

केही समयअघि एक युवतीको भिडियोमा भारतीय अभिनेत्री रश्मिका मन्दनाको अनुहार हालेर बनाइएको डीपफेक भिडियोले भारतमा ठूलै तरंग ल्यायो। अभिनेता अमिताभ बच्चनले समेत सामाजिक संजालमार्फत त्यसरी भिडियो बनाउनेमाथि कानुनी कारबाहीको माग राखे। रश्मिकाले त्यस प्रकारको भिडियो निकै डरलाग्दो हुने भन्दै त्यसले सबैलाई प्रभावित बनाउन सक्ने बताइन्।

रश्मिकाको अनुहार भएको भिडियो भाइरल भएपछि डीपफेक भिडियोबारे चर्चा चुलियो। फ्याक्ट चेकिङ वेबसाइट अल्ट न्यूजका अनुसार सो भिडियो डीप फेक प्रविधिको प्रयोग गरेर बनाइएको थियो। जसमा देखिएकी महिला रश्मिका मन्दना होइनन्। तर सामाजिक सञ्जालहरुमा उनी नै हुन् भन्ने चर्चा चुलियो। जसका कारण डीपफेक भिडियोबारे उत्सुकता बढ्यो।

के हो डीपफेक ?

डीपफेक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर भिडियो र अडियोमा हेरफेर गर्ने प्रविधि हो। यसको प्रयोगबाट कुनै दोस्रो व्यक्तिको तस्विर वा भिडियो अरु कसैको भिडियोमा हुबहु लगाएर बदलन सकिन्छ।

सरल भाषामा भन्नु पर्दा एआईको प्रयोग गरेर रियल भिडियो जस्तै देखिने गरि फेक भिडियो बनाउनु नै डीपफेक भिडियो हो। रियल र फेक भिडियो छुट्याउन निकै गाह्रो हुने भएकाले नै यसलाई डीपफेक भनिएको हो।

बीबीसीलाई आधार मान्ने हो भने डीपफेक भिडियो शब्द प्रयोगको सुरुवात सन् २०१७ बाट भएको थियो। एक रेडिट प्रयोगकर्ताले अश्लिल भिडियोमा अनुहार बदलेर सो प्रविधिको प्रयोग गरेका थिए। पछि रेडिटले ‘डीपफेक पोर्न’लाई प्रतिबन्धित गरेको थियो।

यो प्रविधिले कसरी काम गर्छ?

डीपफेक निकै झनझटिलो प्रविधि हो। यसका लागि मेसिन लर्निङ अर्थात कम्पयुटरबाट सम्पादन गर्ने दक्षता चाहिन्छ।

डीपफेक कन्टेन्ट दुईवटा एल्गोरिदमको उपयोग गरेर बनाइन्छ। ती एल्गोरिदमले एकअर्कासँग प्रतिष्पर्धा गर्छ। जसमा एउटालाई डिकोडर भनिन्छ भने अर्कोलाई इन्कोडर।

यसबाट फेक डिजिटल कन्टेन्ट बनाइन्छ र डिकोडरलाई कन्टेन्ट सक्कली हो कि नक्कली भनेर पहिचान गर्न भनिन्छ। हरेकपटक डिकोडरले कन्टेन्ट सक्कली हो कि नक्कली भनेर सही ढंगबाट पहिचान गर्न सफल हुन्छ। त्यसपछि त्यसले सो जानकारी इन्कोडरलाई पठाउँछ। बनाइने डीपफेक भिडियोमा भएका गल्तीहरु सुधारेर त्यसलाई राम्रो बनाउन सकियोस् भनेर यसो गरिन्छ।

दुवै प्रक्रियालाई मिलाएर जेनेरेटिव एड्वरसेरियल नेटवर्क बनाइन्छ, जसलाई जीएएन भनिन्छ।

कहाँ हुन्छ डीपफेक भिडियोको प्रयोग?

डीपफेक भिडियो बनाउनुको सुरुवात अश्लिल कन्टेन्टबाट भएको हो। पोर्नोग्राफीमा यो प्रविधिको धेरै नै प्रयोग हुने गरेको छ। पुरुष र महिलाको अनुहार बदलेर अश्लिल कन्टेट साइटहरुमा राख्ने गरिन्छ।

डीपट्रेसको रिपोर्ट अनुसार सन् २०१९ मा अनलाइनमा उपलब्ध डीपफेक भिडियोमा ९६ प्रतिशत अश्लिल कन्टेन्टका थिए।

यसका साथै यसप्रकारको भिडियो मनोरञ्जन क्षेत्रमा पनि प्रयोग हुन्छ। चलचित्रहरुमा यसको प्रयोग हुने गरेको छ। कतिपय युटयुब च्यानलमा फिल्मका सीनको डीपफेक भिडियोनै पोस्ट हुने गरेको छ।

पछिल्लो केहि वर्षदेखि यो प्रविधिको प्रयोग ‘नस्टेल्जिया’को लागि पनि भइरहेको छ। यसबाट मृत्यु भइसकेका आफन्तको तस्विरमा अनुसार एनिमेट गर्ने गरिएको छ। यसको प्रयोग गरेर मानिसहरुले आफ्नो पूर्वज र ऐतिहासिक व्यक्तिलाई डीपफेक भिडियोमा पेश गरेका छन्।

डीपफेकको प्रयोग अहिले राजनीतिक क्षेत्रमा पनि भइरहेको छ। चुनावमा राजनीतिक दलहरुले एकअर्का विरुद्ध डीपफेक प्रविधिको सहयोगले गलत सामाग्री प्रचारप्रसार गर्ने गरेका छन्। युक्रेन रसिया युद्ध भइरहँदा धेरै डीपफेक भिडियो सार्वजनिक भएका छन्।

कसरी गर्ने डीपफेक कन्टेन्टको पहिचान?

डीपफेक कन्टेन्ट बढ्दै गर्दा त्यसको पहिचान गर्न चनाखो हुनुपर्छ। भिडियो फेक भएको शंका लागेमा त्यसको तथ्यजाँच गर्न सकिन्छ।

कसैलाई भिडियो डीपफेक हो भनेर शंका लागेमा सो व्यक्तिले भिडियोमा देखाइएको अनुहारको पोजिसनमा विशेष ध्यान दिनुपर्छ। डीपफेक प्रविधिबाट बनाइने भिडियोमा धेरैजसो आँखाको पोजिसन मिल्दैन।

यदि तपाईंलाई भिडियोमा देखाइएको अनुसारमा आँखा र नाक अरु कतै चलिरहेको जस्तो लाग्छ भने त्यो डीपफेक कन्टेन्ट हो। यस्तै, आँखा झिमिक्क नपारे त्यस्तो भिडियो पनि डीपफेक हो भनेर बुझ्नुपर्छ।

डीपफेक कन्टेन्ट भिडियोको कलरिङबाट पनि पत्ता लगाउन सकिन्छ। यस्तै, फ्याक्ट चेकिङ वेबसाइटहरुले पनि यस्ता भिडियोबारे तथ्यजाँच गरिरहेको हुन्छ।