काठमाडौं। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान विभिन्न स्थानका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै सकिएको हो।
काठमाडौंको वाग्मती नदीको किनारमा पनि धार्मिक विधिपूर्वक छठ पर्व मनाइएको छ। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन्।