BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर हिमालयन रिले किन्न लागेको हो?

२०८० मंसिर ४

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर हिमालयन रिले किन्न लागेको हो?
हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर हिमालयन रिले किन्न लागेको हो?

काठमाडौं। हिमालयन बैंकमा रहेको विदेशी साझेदारको सेयर नेपालको एक बीमा कम्पनीले खरिद गर्ने भएको छ। सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया थालेको हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्न लागेको हो।

Tata
GBIME
NLIC

यसअघि बेलायतको एक लगानी नियोगले खरिद गर्न चाहेको थियो। पछि त्यो डिल अगाडि बढ्न सकेन। त्यसपछि हिमालयन बैंकका अन्य संस्थापकहरुले उठाउने योजना बनाएका थिए। तर, डिल अगाडि नबढेपछि हिमालयन बैंकले मर्जरको बाटो रोजेको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर आधा पुगेपछि टुंगिएको थियो। त्यसपछि हिमालयन बैंकले सिभिल बैंकलाई गाभेको थियो।

मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत सेयर स्वामित्व थियो। सिभिललाई प्रति सेयर ८१ रुपैयाँ हाराहारीमा गाभेपछि हबिबको सेयर स्वामित्व साढे ११ प्रतिशत हाराहारीमा खुम्चिएको छ। यही सेयर हिमालयन रि इन्स्योरेन्सले खरिद गर्न लागेको हो।

हिमालयन रिले अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेको छ। सेयरका आजदेखि आवेदन खुलाइएको छ। त्यसपछि आम सर्वसाधारणलाई सेयर जारी गर्ने कम्पनीको तयारी छ। 

मंसिरमा सेयर जारी गरेर पुसभित्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गर्ने योजना कम्पनीको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर जारी गरेको हो। सेयर बिक्रीपछि हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ। 

हिमालयनले सिभिललाई ८१ रुपैयाँका दरले गाभ्दा जुन १९ रुपैयाँ जोगिएको छ, त्यसको कर तिर्न सरकारले भनेको छ। करको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यो छिनोफानो नहुन्जेल सेयर बिक्री गर्न दिन मिल्दैन।

हिमालयन रिमा शेखर गोल्छा अध्यक्ष छन् भने शाहिल अग्रवाललगायत सञ्चालक छन्। प्रमुख लगानीकर्ता दीपक भट्ट हुन्।

निजी क्षेत्रको पहिलो र देशकै दोस्रो पुनर्बिमा कम्पनी हिमालयन रिले पछिल्लो समय सम्पति वृद्धि र लगानी विस्तारलाई केन्द्रमा राखेको छ।

होटल डेला अन्नपूर्णको जग्गा खरिदका लागि पनि कम्पनीले यसअघि नै प्रकृया अगाडि बढाइसकेको छ। हदबन्दीका कारण होटलका सञ्चालकले बिक्री गर्न सकिरहेका छैनन्। वर्ष दिनदेखि प्रकृया अड्किएपछि हिमालयन रि हिमालयन बैंकमा छिर्न लागेको हो।

कम्पनी उच्च स्रोतका अनुसार, खरिद बिक्रीका बारेमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुराकानी भइसकेको छ। अधिकारीले ‘ग्रिन सिग्नल’ दिएपछि ‘फिट एण्ड प्रोपर टेस्ट’ का लागि प्रकृया अगाडि बढिरहेको छ।

तर, त्यहाँका उच्च अधिकारीहरुले भने यस बारेमा आफूलाई जानकारी नभएको दाबी गरेका छन्। ‘केही प्रकृयागत कारणले त्यो सेयर खरिद बिक्री सजिलो छैन,’ त्यहाँका एक उच्च अधिकारीले भने, ‘अर्को कुरा यहाँ स्वीकृतिका लागि निवेदन परेजस्तो लाग्दैन। तर कतिपय विषय सिधै गभर्नर कार्यालयबाट हुने भएकाले तलका निकायलाई सुरुवातमै जानकारी हुन्छ भन्ने पनि छैन।’

उनका अनुसार, हिमालयनले सिभिललाई ८१ रुपैयाँका दरले गाभ्दा जुन १९ रुपैयाँ जोगिएको छ, त्यसको कर तिर्न सरकारले भनेको छ। करको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यो छिनोफानो नहुन्जेल सेयर बिक्री गर्न दिन मिल्दैन।

‘मर्जरको दुई वर्षभित्र सेयर बिक्री गरेर जान मिल्दैन। नभए कर गुम्छ,’ ती अधिकारीले भने, ‘राज्यलाई घाटा पार्ने गरी नियामकले काम गर्न मिल्दैन। त्यसैले अहिले नै खरिद बिक्री हुने विषय होइन यो।’ 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हबिबको सेयर खरिद बिक्रीबारे विभिन्न हल्ला चले पनि त्यसमा सत्यता नभएको बताएका छन्।

तर हिमालयन रितर्फको कुरा पत्याउने हो भने प्रति कित्ता १२५ रुपैयाँका दरले सेयर खरिद गर्न सहमति भइसकेको छ। यो सहमति हबिब र हिमालयन रिबीच अनौपचारिक रुपमा भएको स्रोतको दाबी छ। हबिबले सेयर बिक्रीका लागि बढाएको प्रकृयाबारे आफ्नो मौद्रिक र पुँजीबजार निकायलाई जानकारी गराएको छैन।

नेप्सेमा हिमालयन बैंकको साधारण सेयरको मूल्य २०० रुपैयाँ हाराहारी छ। सामान्यत संस्थापक सेयर आधा मूल्यमा पाइन्छ। यस हिसाबले १०० रुपैयाँको सेयर हिमालयन रिले २५ रुपैयाँ बढी तिरेर किन्न खोजेको हो। 

यसअघि सेयर बिक्रीकै लागि भनेर सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गराउँदा प्रति कित्ता मूल्य २८२ रुपैयाँ ५० पैसा निस्किएको थियो। यो २०७७ को अन्तिमतिरको कुरा हो। यही मूल्यमा खरिद गर्नका लागि हबिबले संस्थापकहरुलाई आग्रह गरेको थियो।

तर बाँकी संस्थापकबीच हबिबले प्रस्ताव गरेको सेयर मूल्य महँगो भएको समान राय बन्यो। उनीहरुले बजार मूल्यमा खरिद गर्ने प्रस्ताव गरेका थिए।

३१ बर्ष लामो साझेदारी छाडेर जान खोजेको हबिबले राष्ट्र बैंकलाई पनि सहजीकरणका लागि आग्रह गर्दै आएको छ। 

हिमालयन बैंकको चुक्ता पुँजी अहिले २१ अर्ब ६५ करोड रुपैयाँ छ। यसको साढे ११ प्रतिशत सेयर हबिबको हो। हिमालयन रिले १२५ रुपैयाँका दरले किनेमा ३ अर्ब ११ करोड रुपैयाँ जुटाउनु पर्ने हुन्छ।