BIZMANDU
www.bizmandu.com

हिप्पीहरुको ‘फ्रिक स्ट्रिट’मा नयाँ पुस्ताको चहलपहल, ठमेल ठप्प हुँदा फेरि जगमगाएको झ्व:छेँ

२०८० मंसिर ३

हिप्पीहरुको ‘फ्रिक स्ट्रिट’मा नयाँ पुस्ताको चहलपहल, ठमेल ठप्प हुँदा फेरि जगमगाएको झ्व:छेँ
हिप्पीहरुको ‘फ्रिक स्ट्रिट’मा नयाँ पुस्ताको चहलपहल, ठमेल ठप्प हुँदा फेरि जगमगाएको झ्व:छेँ

काठमाडौं। वसन्तपुरमा रहेको ‘झ्व:छेँ’ लाई नेपालको पहिलो ‘पर्यटकीय हब’ भन्दा फरक नपर्ला। विश्वको लागि नेपाल खुलेपछि हिप्पीहरुको जमघट हुने झ्व:छेँ पछि ‘फ्रिक स्ट्रिट’ नामले परिचित हुन थाल्यो। कुनै बेला विदेशीहरु भरिभराउ हुने भित्री काठमाडौंको यो ठाउँ अहिले नयाँ पुस्ताको जक्सन बनेको छ।

Tata
GBIME
Zonsen

सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी ‘एप्पल पाइ’ पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ।

सन् १९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब झ्व:छेँले नै काठमाडौंलाई विश्वमाझ चिनायो। त्यससमय धेरैजसो पर्यटक प्रेम र स्वतन्त्रताको खोजी गर्दै ‘हिप्पी’ का रुपमा नेपाल भित्रिएका थिए।

बीचमा हिप्पी कल्चर हराएसँगै झ्व:छेँले पनि आफ्नो रौनकता गुमायो। तर, अहिले भने हिप्पीहरुले स्वतन्त्रा खोज्दै ‘फ्रिक स्ट्रिट’ बनाएको झ्व:छेँमा नेपाली युवा पुस्ताको उपस्थिति चाखलाग्दो छ। कोरोना महामारीअघिसम्म फाटफुट्ट रेष्टुरेन्टमा भिड हुने यो क्षेत्रमा अहिले बिहानैदेखि युवाहरुको भिड लाग्न थालेको छ। ६० को दशकको चहलपहल अहिले झ्व:छेँमा फेरि फर्किएको छ।

जंकी हिप्पीले ‘ज्वाइन’ तान्ने स्थलमा अहिले नेपाली युवाहरुको घुइँचो लाग्ने गर्छ। अधिकांश नेपाली युवायुवतीको ‘गेट टुगेदर’ गर्न यहीँ पुग्छन्। उनीहरुकै लागि लक्षित गरेर अहिले झ्व:छेँमा नयाँ नयाँ होटल खोलिएका छन्। साँझको समयमा दरबार क्षेत्र घुम्न पुग्नेहरु झ्व:छेँमा पुगेर खानपिनमा रमाउने गर्छन्।

झ्व:छेँ आउनेका लागि अहिले लोकल चिया पसलदेखि बोनम च्या, लोकल चिप्सदेखि कोरियन परिकारसम्मका पसल छन्। नेवारी परिकार खाना पनि यहाँ मानिस पुग्छन्। दिउँसोदेखि नै बोनम च्या, कर्न डग, मटका चियादेखि मटका बिर्यानी खानेको यहाँ घुइँचो लाग्छ। हिप्पीहरुलाई ‘केक’ सर्भ गर्दै आएको स्नोम्यान क्याफेमा अहिले पनि नयाँ पुस्ताको भिड लाग्छ।

हिप्पीको हब झ्व:छेँ

सन् १९६० मा हिप्पी युगको सुरुवात भयो। भियतनाममाथि अमेरिकाले थालेको आक्रमणको विरोधमा हिप्पीहरुको जन्म भयो। उनीहरु युरोपियन पुँजीवादविरोधी आन्दोलनका समर्थक थिए। युद्ध लड्नका लागि सेनामा अनिवार्य भर्ना हुनुपर्ने घोषणा गरिएको थियो। तर, हिप्पीहरुले युद्ध नभइ शान्ति र भाइचाराको सन्देश दिन आफ्नो जन्मभूमि त्यागेर अनिश्चित यात्रामा निस्किएका थिए।

युरोपको पुँजीवादी शैली त्यागेर हिप्पीहरु युगोस्लाभिया, ग्रीस आइस्ल्यान्ड, टर्की इरान हुँदै अफगानिस्तान पुगे। हिप्पीहरुले आफ्नो लागि छुट्टै ‘हिप्पी ट्रेल’ बनाए। पछि यी ट्रेलमा बस समेत संचालन भएको थियो। अफगानिस्तानबाट पाकिस्तान हुँदै भारतको गोवा, दिल्ली पुगेका हिप्पीहरु अन्तत: विश्वको लागि भर्खरै खुलेको नेपाल पनि आइपुगे।

नेपाल हिप्पीहरुका लागि उदार थियो। नेपाललाई ‘स्वर्ग’ भन्थे उनीहरु। झ्व:छेँका सडक र गल्लीलाई उनीहरुले आफ्नो स्वतन्त्रताको प्रतीक बनाए।

सन् १९६५ सम्म नेपाल ‘हिप्पी’ को हब बनिसकेको थियो। चरेस र गाँजाको लतमा मस्त रहन ‘झ्व:छेँ’ हिप्पीको केन्द्रविन्दु थियो। वसन्तपुरतिर गाँजासँगै रक एन्ड रोल गुञ्जिन सुरु भयो। हाफ पाइन्ट, लामो कपाल, झ्याप्प दारी पालेका विदेशीहरु गल्ली गल्लीमा भेटिन्थे।

६० को दशकसम्म झ्व:छें ‘फ्रिक स्ट्रिट’ का नामले हिप्पीमाझ परिचित भइसकेको थियो।

Photo : FORMIDABLE MAG

फ्रिक अर्थात् स्वतन्त्र। त्यसबेला हिप्पीहरुलाई झ्व:छेँमा ‘फ्रिक’ हुनबाट कसैले रोक्दैन थियो। नेपालमा गाँजा चरेसमाथि प्रतिबन्ध थिएन। झ्व:छेँका घरहरुमा ‘ह्यासिस एन्ड म्यारिवाना सोल्ड हेयर'(यहाँ गाँजा चरेस पाइन्छ) भनेर लेखिएको हुन्थ्यो। अहिले बाटोमा तरकारी बेचिएझैं त्यससमय थरी थरीका गाँजा बिक्री हुन्थे।

क्याथल ओ सरकेगले हिप्पी युगका बारेमा भनेका कुरा मार्क लेटचीले आफ्नो किताब ‘फार आउट‘मा उल्लेख गरेका छन्। जसमा सरकेगले भनेका छन्,’काठमाडौंले तिमीहरुलाई परिवर्तन गर्नेछ, तिमीहरुले काठमाडौंलाई होइन।’

वास्तवमा त्यो हिप्पीको नोस्टालजिया नै हुनुपर्छ, समुद्रपारबाट उनीहरु परिवर्तनको खोजीमा नै काठमाडौं आए र काठमाडौंको केन्द्र वसन्तपुरमा अखडा जमाए। तर, उनीहरुले कहिलै काठमाडौंलाई परिवर्तन गरेनन्। बरु उनीहरुको आगमनसँगै हिप्पीहरुलाई लक्षित गर्दै सस्तो होटल र लजहरु खोलिए।

काष्ठमण्डप पछाडि रहेको क्याम्प होटलबाट नै ‘हिप्पी कल्चर’ वसन्तपुर क्षेत्रमा सुरु भएको विश्वास गरिन्छ। सम्भवत: क्याम्प होटल सो समयको सस्तो होटलमा पर्थ्‍यो। यस्तै, गाँजाकै लागि झ्व:छेँ आउने हिप्पीहरुका लागि लक्षित गर्दै होटल इडेन, क्याबिन, सेन्चुरी लज लगायत होटलहरु खोलिए।

प्रायजसो होटलका मेनुहरु गाजाँसँगै सम्बन्धित हुन्थे। यी होटलहरुमा ह्यासिस केकदेखि ‘गाँजा क’ सम्म पाइन्थ्यो। ह्यासिस पारखीहरुका लागि छुट्टै मेनु हुन्थ्यो।

Photo : FORMIDABLE MAG

हिप्पीहरु ‘पाइ’ का सौखिन थिए। त्यससमय धेरै केक पसलहरु खुले। ‘एप्पल पाइ’ तिनमा अनिवार्य हुन थाल्यो। त्यो समयको होटल ‘स्नोम्यान’अहिले पनि संचालनमै छ।

यति मात्रै कहाँ हो र। देउताका तस्वीरसँगै गाँजाको विज्ञापन समेत हुन्थ्यो। त्यसको मुख्य केन्द्र थियो इडेन ह्यासिस सेन्टर। क्यालेन्डरमा भगवानका पोस्टर राखेर त्यसको तल लेखिएको हुन्थ्यो, ‘लेट अस टेक हायर’ इडेन ह्यासिस सेन्टर। हाल ती क्यालेन्डर इन्टरनेटबाट खरिद गर्न सकिन्छ।

झ्व:छेँ पुगेर पनि हिप्पीको संगत गर्ने तर उनीहरु जस्तै ‘फ्रिक’ नहुनेहरुलाई भने ‘प्लास्टक हिप्पी’ भनिन्थ्यो। प्रोफेसर अभि सुवेदीले हिप्पीसँग धेरै संगत गरेका थिए। यसै विषयमा उनीसँग गरेको कुराका आधारमा शेखर खरेलले ‘मैले नदेखेको हिप्पी’ किताबमा गाँजा चरेस नतान्ने, हिप्पी कर्म नगर्ने तर उनीहरुको मण्डलीमा रहेनलाई ‘प्लास्टिक हिप्पी’ को रुपमा वर्गीकृत गरिएको उल्लेख गरेका छन्।

प्रतिबन्धसँगै हराएको रौनक

नेपालभाषामा ‘झ्व:छेँ’को अर्थ हुन्छ लस्करै घरहरु। त्यतिखेर वसन्तपुरस्थित नौतल्ले दरबारबाट सिधै अगाडिको बाटोमा लस्करै घर थिए। यसरी घरहरु लगनदेखि टेकुसम्म फैलिएको थियो भने ओमबहाल लगायतका स्थानहरु झ्व:छेँ अन्तर्गत नै पर्ने स्थानीय बताउँछन्। सत्तल र टेराकोटा इँटाका घरहरुमाझ हिप्पीको बास हुन्थ्यो। होटलहरु हिप्पीका कारण भरिभराउ हुन्थे। यहाँका स्थानीयहरुका लागि समेत व्यापार राम्रै हुन्थ्यो।

हिप्पी युग चल्दै गर्दा सन् १९७३ मा नेपाल सरकारले गाँजा र चरेस बिक्रीमा प्रतिबन्ध लगायो। भनिन्छ नेपालमा गाँजा चरेसमाथि प्रतिबन्ध लगाउनु अमेरिकी योजना थियो। अहिले भने अमेरिकाकै कतिपय राज्यमा गाँजालाई वैधानिक मान्यता दिइएको छ। हाल नेपालमा पनि गाँजाको प्रयोगबारे बहस भइरहेको छ। प्रतिबन्धसँगै नेपालमा हिप्पी आन्दोलनको अवसान जस्तै भयो। गाँजा चरेसलाई ‘ड्रग्स’ले विस्थापित गरेको थियो।

हिप्पीको हब हुँदा झ्व:छेँ
Photo : FORMIDABLE MAG

स्थानीय नेविनमान श्रेष्ठ भन्छन्,’ड्रग्सले यहाँका युवाहरु बिग्रिए। तर, त्यो हिप्पीको कारण होइन। हिप्पी स्वतन्त्र थिए। उनीहरु कसैलाई दु:ख दिने, झगडा गर्ने स्वभावका थिएनन्। तर, जब गाँजा चरेसको प्रतिबन्धसँगै ड्रग्सको बिक्री वितरण भयो। यहाँको अवस्था नै बिग्रियो। लामो समय लाग्यो झ्व:छेँलाई ड्रग्सबाट मुक्ति दिलाउन।’

झ्व:छेँलाई अर्को धक्का लाग्यो जब सरकारले वि सं २०५८ मा हनुमानमान ढोका प्रवेश गर्न पर्यटकमाथि शुल्क लगाउन सुरु गर्‍यो। पर्यटकले जुद्ध सालिकबाट वसन्तपुर आउने बेला त्यहाँ रहेको काउन्टरमा पैसा तिर्नुपर्‍यो। झ्व:छेँसम्म जाने मूल बाटो त्यही थियो। अर्को बाटो अलि घुमाउरो छ, त्यो समय सो बाटो पर्यटकले प्रयोग गर्दैनथे। त्यसैले महानगर र स्थानीयबीच एउटा सहमति भयो-‘जुद्ध सालिकबाट झ्व:छेँ जाने पर्यटकलाई नि:शुल्क प्रवेश गर्न दिने।’

तर, त्यो सहमति कागजमा मात्रै सीमित भयो। उल्टै महानगरपालिकाले झ्व:छेँ प्रवेश गर्ने बाटोमा नै टिकट काउन्टर राख्यो। यसले पर्यटकमाझ झ्व:छेँ प्रवेश गर्न पनि अतिरिक्त शुल्क तिर्नुपर्ने भान भयो।

यसले ठमेलतिरै बढावा मिल्यो पर्यटकका लागि। त्यसमाथि हिप्पीकै कारण खुल्ला झ्व:छेँ त्यसयता अस्तव्यस्तताको केन्द्र बन्दै गयो।

पर्यटकका लाग खुलेका लज, होटल बन्द भए। स्थानीयले आफ्नो घर बेचेर बसाइसराई गरे। कुनै बेला गुलजार हुने झ्व:छेँ विस्तारै गुमनाम हुन थाल्यो।

पछिल्लो समय स्थानीय युवाहरु मिलेर झ्व:छेँलाई ब्युताउँने प्रयास गरिरहेका छन्। महानगरले फ्रिक स्ट्रिट प्रवेश गर्ने बाटैमा राखेको टिकट काउन्टर हटाइएको छ। कुनै समय हिप्पीका कारण परिचित झ्व:छेँ हाल नयाँ पिँढीका युवायुवतीहरुको ‘जकसन’ बनेको छ।

महामारीपछि फेरि जगमगाउँदै फ्रिक स्ट्रिट

ठमेलमा सिफ्ट भएको झ्व:छेँको पर्यटकीय आकर्षण अहिले फेरि ठमेलबाट झ्व:छेँमा नै फर्किएको छ। कारण हो – २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र कोरोना महामारीको असर।

स्थानीय दिनेश सुवाल भन्छन्, ‘२०७२ साल अघि पनि यहाँ मानिस आउँथे। तर होटेल कम संख्यामा थिए। १३-१४ वटा थिए। अहिले जुद्ध सालिकदेखि प्याफलसम्म गरेर १७० भन्दा बढी छन्।’

यससँगै यहाँ ट्याटु खोप्न चाहनेका लागि पनि राम्रै पसलहरु संचालनमा छन्।

महामारीको समयमा ठमेलमा रेष्टुरेन्टहरु बन्द हुँदा झ्व:छेँमा रेष्टुरेन्टहरु खुल्न थालेको उनले बताए। हाल खोलिएका अधिकांश रेष्टुरेन्टहरु कोभिड महामारीको त्रास हटेपछि संचालनमा आएका हुन्।

सूर्यमून बिस्ट्रोका संचालकसमेत रहेका दिनेश सुवाल भन्छन्, ‘पब, क्लब बन्द भए। पर्यटक आएनन्। महामारीको असर ठमेलमा पर्दा झ्व:छेँ होटल रेष्टुरेन्ट खोलेर नयाँ व्यापार गर्नेका लागि नयाँ ठाउँ बन्यो। यहाँ विस्तारै रेष्टुरेन्ट खोल्न थाले। पछि ह्वात्तै बढ्यो।’

२०७२ सालको भूकम्पमा भत्किएका दरबार क्षेत्रका संचरना पुनर्निर्माण सम्पन्न भएपछि पनि यहाँ आउनेको संख्या बढेको उनले बताए।

महानगरले वसन्तपुरबाट झ्व:छेँ प्रवेश गर्ने ठाउँमा राखेको टिकट काउन्टर र पार्किङ हटाए पछि यो ठाउँ अझै व्यवस्थित बन्दै गइरहेको स्थानीय बताउँछन्। अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त हुने झ्व:छेँ हाल खुल्ला हुँदा यहाँ आउनेको संख्या थप बढेको उनीहरु बताउँछन्।