पोखरा। नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला। पोखरादेखि नजिकको दूरीमा रहेको पदमार्ग हो ग्रेट माछापुच्छ्रे ट्रेल। घाँसे मैदानका पाखा। जुनेली रातमा पर फाँटमा देखिने झिलिमिली पोखरा। मनमोहक दृश्य छोटो हिँडाइले देख्न सकिने। त्यसैले पनि पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चा कमाएको स्थान हो खुमै डाँडा।
टिकटकमा खुमैको मनमोहक दृश्यका भिडियोले चर्चित छ। यही चर्चाले आन्तिरक पर्यटकको संख्या खुमैमा दिनप्रतिदिन बढ्दो छ। ३ हजार ६८२ मिटरको उचाइमा रहेको कोर्चाङबाट हिमाल नियाल्दा साँच्चिकै लोभलाग्दो देखिन्छ।
माछापुच्छ्रे गाउँपालिका १ मा पर्ने खुमै डाँडा पुग्न पोखराबाट मात्र एक दिन लाग्छ। पहिलो दिन खुमै पुगेर सूर्योदयको दृश्य हेर्ने चाहने सबेरै तीन घण्टामा पुगिने कोर्चाङको यात्रा तय गर्न सक्छन्। मौसम अनुसार फरक स्वरुप लिने खुमै गुराँस फुलेको हेर्ने र हिउँ खेल्नका लागि पोखराबाट नजिकको गन्तब्य हो।