BIZMANDU
www.bizmandu.com

टिकटकमा रमाउन धमाधम भीपीएन डाउनलोड, तर बैंकिङ सूचना नै चोरी हुने जोखिम

२०८० मंसिर १

टिकटकमा रमाउन धमाधम भीपीएन डाउनलोड, तर बैंकिङ सूचना नै चोरी हुने जोखिम
टिकटकमा रमाउन धमाधम भीपीएन डाउनलोड, तर बैंकिङ सूचना नै चोरी हुने जोखिम

काठमाडौं। सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप प्रयोग गर्नेको संख्या ह्‍वात्तै बढेको छ। तर टिकटकमा रमाउन भीपीएन रोज्दा त्यसले मोबाइलमा भएका डाटा सुरक्षित रहन्छन् त?

Tata
GBIME
Zonsen

भीपीएन हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो। यसले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेअर, माल्वेअरलाई बाटो दिन सक्छ। त्यसो भए हाम्रो उपकरणमा भएका विवरण जोखिममा पर्न सक्छन्।

नेपाल प्रहरी भीपीएन चलाउँदा सावधानी अपनाउनु पर्ने बताउँछ। मोबाइलमा भीपीएन डाउनलोड गरेर प्रयोग गर्दा डाटा चोरीको जोखिम हुने जानकारहरु बताउँछन्।

पछिल्लो समय मोबाइलमार्फत बैंकिङ कारोबार बढेको छ। जसले गर्दा धेरैको मोबाइलमा बैंकिङ एप समेत छन्। त्यसबाहेक मोबाइलमा अन्य महत्त्वपूर्ण डाटा पनि हुन्छन्। भीपीएनको प्रयोगले यस्ता डाटा चोरीको जोखिम हुने नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए।

‘भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाता र ब्याङ्किङ सूचना चोरीको जोखिम हुन्छ। ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्ने बित्तिकै हाम्रोबाट सूचना चोरी हुन्छ,’ अर्यालले भने। त्यही कारण साइबर ब्युरोले भीपीएन प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ।

‘भीपीएन आफैंमा सुरक्षित छैन। यसको प्रयोगले टिकटकमा रमाउन पाए पनि डाटा चोरीको जोखिम धेरै हुन्छ। त्यसैले हामीले भीपीएन प्रयोगलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ,’ उनले भने।

प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर टिकटकमा सजिलै पहुँच राख्‍न सक्छन्। तर अर्याल भीपीएन प्रयोग गर्नु कल बाइपास (भीओआईपी) जस्तै हो भन्छन्।

विज्ञहरूका अनुसार भीपीएन प्रयोगकर्ताको डिभाइसमा कुन सामाजिक सञ्जाल चलिरहेको छ भन्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई थाहै हुँदैन। भीपीएन प्रयोगपछि प्रयोगकर्ताले कहाँबाट चलाएको भन्ने सहजै खुल्दैन। जसले गर्दा सामाजिक सञ्जालको प्रयोगपछि कुनै घटना भएको खण्डमा अनुसन्धानमा समेत थप चुनौती थपिन्छ। आईपीभी ४ बाट चलाएको खण्डमा अनुसन्धान निकै जटिल हुन्छ। 

त्यसो त अपराध गर्नेहरुले सुरक्षित हुन यसअघि पनि प्रयोग नगरेका होइनन्। तर भीपीएन प्रयोग गर्नेको संख्या ह्‍वात्तै बढ्दा थप समस्या हुने एसएसपी अर्याल बताउँछन्।

‘अनुसन्धान गर्नै नसकिने भन्ने होइन। तर यसरी भयो भने थप जटिल र धेरै समय लाग्ने देखिन्छ,’ उनले भने।

भीपीएन प्रयोग गरेर टिकटक लगायत सामाजिक सञ्जाल चलाउँदा अन्य देशका सामग्री पनि आउँछ। कुनै देशमा त्यस्ता सामग्रीलाई वैध मानिए पनि नेपालमा कानुनले अवैध भनेको हुन सक्छ। जसका कारण नजान्दा नजान्दै पनि अपराधमा पर्न सक्ने सम्भावना रहन्छ।

भीपीएन हुँदैन सुरक्षित

भीपीएन वा अन्य कुनै पनि एप शतप्रतिशत सुरक्षित मानिंदैनन्। कमजोरी पत्ता लगाउँदै एपहरूलाई परिष्कृत गर्नुपर्ने हुन्छ। त्यसमाथि नि:शुल्करुपमा उपलब्ध भीपीएन प्रयोगले बढी नै जोखिम निम्त्याउँछ।  

साइबर सुरक्षा विज्ञहरु नि:शुल्क पाइने भीपीएनले निम्त्याउने जोखिमबारे थाहा नहुने भएकाले सकभर यसको प्रयोग नगर्नु नै उचित ठान्छन्।

‘भीपीएन निर्माता कतिको लेजिटिमेट वा ट्रस्टवर्दी छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। उसले हाम्रो ट्राफिक मनिटरिङ गरेर बसेको पो छ कि! हामीले कस्तो रिक्वेस्ट पठाइरहेका छौं, उसले त्यस्तो डेटाहरू नै स्क्रिनिङ गरेर बसेको पनि हुन सक्छ। यसमा प्रयोगकर्ता आफैं सचेत र सजग हुन जरुरी छ,’ साइबर सुरक्षा विज्ञ सुयस नेपालले भने, ‘गुगल एप स्टोर हुँदैमा त्यो शतप्रतिशत सुरक्षित हुन्छ भन्न सकिंदैन।’

लहैलहैमा लागेर भीपीएन प्रयोग गर्न नहुने नेपालको भनाइ छ। अन्धाधुन्ध डाउनलोड गरिएका अनेकौं भीपीएन भविष्यमा ठूलो साइबर थ्रेटको रुपमा देखा पर्न सक्छ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को तथ्यांक अनुसार टिकटक प्रतिबन्धपछि भीपीएन प्रयोगकर्ताको संख्या १ लाख नाघिसकेको छ।

क्यान महासंघले नि:शुल्क पाइने भीपीएनको प्रयोगले डिभाइसमा रहेका मोबाइल बैंकिङ र सामाजिक सञ्जालका विवरणदेखि अरु महत्त्वपूर्ण जानकारी चोरी हुन सक्ने भन्दै यसको प्रयोग नगर्न आग्रह गरेको छ। महासंघले भीपीएनले प्रयोगकर्ताको सबै विवरणमा नजर गाडिरहेको हुन सक्नेतर्फ सजग बन्न भनेको छ।

‘व्यक्तिगतका साथै व्यावसायिक कामका लागि समेत एउटै डिभाइस प्रयोग हुने भएकाले व्यावसायिक सूचना तथा विवरणहरूसमेत जोखिममा पर्न सक्छ। त्यसैले सचेत हुन आवश्यक छ,’ क्यान महासंघका महासचिव चिरञ्जिवी अधिकारीले भने।