काठमाडौं। कर्जाको माग अपेक्षा अनुसार नबढेपछि तथा मुनाफा ह्वात्तै घटेपछि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। २० मध्ये १३ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका हुन्।
६ वटा बैंकले ब्याजदर फेरबदल गरेका छैनन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ। माछापुच्छ्रेले संस्थागततर्फ १.११३ र व्यक्तिगततर्फ ०.६१३ अंकले ब्याजदर बढाएको हो।
मंसिर महिनाका लागि प्रकाशित ब्याजदर अनुसार एनआईसी एसियाले ब्याजदर सबैभन्दा धेरै घटाएको छ। उसले व्यक्तिगत निक्षेपको ब्याजदर ११.००३ प्रतिशतबाट ८.९६८ प्रतिशतमा झारेको छ। यस्तै संस्थागत निक्षेपको ब्याजदर पनि ९.००३ प्रतिशतबाट ६.८६८ प्रतिशतमा झारिएको छ।
ब्याजदर धेरै घटाउने अर्को बैंक एनएमबि हो। उसले ब्याजदर व्यक्तिगत र संस्थागत दुवैतर्फ १.२४३ अंकले घटाएको छ। एनएमबिमा अब व्यक्तिगत निक्षेपको ब्याजदर ९.७६ र संस्थागत निक्षेपको ब्याजदर ७.७६ प्रतिशत कायम भएको छ।
अरु ११ बैंकको ब्याजदर भने १ अंकभन्दा कम घटेको छ। सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कुमारी र नेपाल बैंकले भने ब्याजदर घटबढ गरेका छैनन्। उनीहरुले कात्तिकका लागि तय ब्याजदरलाई नै निरन्तरता दिएका छन्।
कात्तिकमा ९.९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर अब ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.८५३ प्रतिशतबाट ७.५४६ प्रतिशतमा झरेको छ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीयोग्य रकम पर्याप्त भएपनि कर्जाको माग नै नरहेकाले बाध्य भएर ब्याजदर घटाएको बताए। ‘कर्जाको माग नै नभएपछि हामीसामु ब्याजदर घटाउनुको विकल्प रहेन,’ उनले बिजमाण्डूसँग भने, ‘खराब कर्जा बढेको छ। ऋणीले किस्ता बुझाउन सकिरहेको छैन। यस्तो बेला ब्याजदर घट्नु स्वाभाविक हो।’
चालु वर्ष असोज मसान्तसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ। खराब कर्जा असारसम्म २.९८ प्रतिशत थियो। कर्जाको माग अपेक्षितरुपमा नबढेपछि त्यसको असर बैंकहरुको वासलातमा देखिएको छ। यो वर्ष पहिलो त्रैमासमा बैंकहरुको नाफा १९ प्रतिशतले घटेको छ।
पोहोर तीन महिनामा १६ अर्ब ५५ करोड खुद नाफा कमाएका बैंहरुको मुनाफा यसपालि साढे १३ अर्ब हाराहारीमा सीमित छ। वितरणयोग्य नाफामा ६३ प्रतिशतको गिरावट छ।
कर्जा गुणस्तर खस्किएकाले उल्लेख्य रकम प्रोभिजनिङलाई छुट्याउँदा नाफामा असर परेको हो। पोहोरको तुलनामा प्रोभिजनिङ बापतको रकम बढेको छ। खराब कर्जा बढेकाले बैंकहरुले असोजसम्म १६ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङलाई छुट्याउनुपरेको छ।
नेपाल बैंकर्स संघका अनुसार साउनयता निक्षेप १२० अर्बले बढेपनि कर्जा त्यो अनुपातमा बढ्न सकेको छैन। साउनयता कर्जा ८४ अर्ब रुपैयाँ मात्र प्रवाह भएको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.३१ प्रतिशतमा झरेको छ। कर्जाको माग बढ्दा सीडी रेसियो ९० प्रतिशत नाघेको उदाहरण छ। कर्जाको मागमा कमीले अहिले अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतमा झरेको छ।
अहिले सेयर बजार र घरजग्गा क्षेत्र शिथिल छ। दसैंतिहार जस्ता पर्वमा नै विगतका वर्षमा जस्तो खपत बढेन। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि ल्याएका च्याङ्ग्रा तिहारमा समेत विक्री गर्न सकेन।
उपभोगमा कमीले बजार मन्दीको अवस्थामा छ। मन्दी नझेल्ने कुनै क्षेत्र छैन। यसपालि धनतेरसमा सुनचाँदी पसलमा नै विगतका तिहारमा जस्तो भिड भएन। कतिपय पसल सञ्चालक त ग्राहक नआएकाले हाइ काढेर बसेका थिए।
निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्छ। कर्जाको ब्याजदर एकल अंकमा झार्नुपर्ने उद्योगी व्यवसायीको पुरानै माग हो। ब्याजदर घटेपछि कर्जाको माग बढ्ने बैंकरहरुको विश्वास छ। ‘बाह्य क्षेत्र अहिले निकै बलियो अवस्थामा छ। ब्याजदर घटेकाले अब आन्तरिक अर्थतन्त्र पनि चलायमान हुने हाम्रो अपेक्षा छ,’ बैंकर ज्ञवालीले भने।