काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दलको समेत सहमतिमा टिकटक बन्दको निर्णय गरेको बताएका छन्।
नेपाल सम्वत् ११४४ को अवसरमा मध्युपुर थिमिमा मंगलबार गरिएको कार्यक्रममा उनले सत्ता पक्षका साथै प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलसँगको लामो बहस र सहमतिपछि टिकटक बन्दको निर्णय गरेको बताएका हुन्।
‘समाजमा विकृति, विसंगति र अराजकता फैलने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई रोक्ने विषयमा लामो छलफलपछि, सत्ता पक्ष र प्रतिपक्षको सहमतिपछि टिकटक बन्द गरिएको हो,’ उनले भने, ‘सामाजिक सद्भाव र पारिवारिक एकता खल्बल पार्नबाट बचाउने सरकारको उद्देष्य हो।’
उनले प्रतिपक्षी दलको पनि सहमतिमा टिकटक बन्दको निर्णय गरेको भनिरँदा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी थिए।
प्रधानमन्त्रीले लामिछानेलाई लक्षित गर्दै भने, ‘समाजमा अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिमा टिकटक बन्द गरिएको हो। यसमा केही साथीको चित्त बुझेको छैन। कन्भिन्स गर्ने प्रक्रिया हुँदै जाला।’
सरकारले बन्दको निर्णय गर्नुअघि लोकतान्त्रिक र विकसित देशले अपनाएका मापदण्ड अध्ययन गरेको उनको भनाइ छ।
रास्वपाका सभापति लामिछानेले भने दाहालले भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
प्रधानमन्त्रीज्यूले मेरै अगाडि गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनुभयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्तापक्षीय र विपक्षी सबै दलको सहमति र छलफलपछि निर्णयमा पुगेको बताउनुभयो। म लगायत रास्वपाका कुनै नेतासँग यस विषयमा कुनै औपचारिक/अनौपचारिक छलफल वा सहमति भएको छैन,’ उनले कार्यक्रमपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले टिकटक बन्दका लागि कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।