काठमाडौं । २५-३० वर्ष अघिसम्म मासंगल्लीका लक्ष्मीलाल चित्रकारलाई तिहार आउनुअघि भ्याइनभ्याई हुन्थ्यो। बाजेको पालादेखि थासाबाट धनलक्ष्मीको चित्र हातैले बनाउन उनको परिवार नै लाग्थ्यो। बाजेबाट बुबामा सरेको पुस्तैनी पेसालाई लक्ष्मीलालले अहिले पनि जारी राखेका छन्। तर, धनलक्ष्मीको चित्र बनाउने पेसाको महत्त्व र मूल्य अहिले पहिलाको जस्तो छैन।
हाल काठमाडौंबाट ललितपुरको ग्वार्को सरेका छन् लक्ष्मीलाल। उनले हातैले धनलक्ष्मीको चित्र बनाउन छाडेका छैनन्। उनलाई चित्र बनाउन श्रीमतीले साथ दिँदै आएकी छन्।
‘पु’ अर्थात् चित्रकारहरुले नेपालभाषामा थासा भनिने काठको ब्लकमा लक्ष्मीको आकृति छाप्थे। र, त्यसमा हातैले रङ भर्थे। निकै मिहिनेतपछि तयार हुने ती तस्वीर लक्ष्मी पूजामा प्रयोग गरिन्थ्यो।
त्यसैले अरु दसैंको रमझममा रमाइरहेका बेला थासाबाट छापेर तस्वीर बनाउने उपत्यकाका चित्रकार परिवारहरुलाई भ्याइनभ्याई हुन्थ्यो। तिनै परिवारमध्येका एक हुन् लक्ष्मीलाल चित्रकार।
समय फेरियो। ‘हातैबाट बनाइने लक्ष्मीको तस्वीर पनि हुन्छ र?’ भन्ने जमात बढ्यो। भारतबाट आयातित तस्वीरले बजार कब्जा गर्यो। त्यसपछि चीनबाट पनि झिलिकमिलक तस्वीरहरु भित्रिन थाले। त्यसपछि चित्रकारहरुले रंगाउने तस्वीरको माग घट्न थाल्यो। अब त हातैले लक्ष्मीको तस्वीर बनाउने काम लोप हुने संघारमा छ।
लक्ष्मीको तस्वीर बनाउने आफ्नै प्रक्रिया हुन्छ। थासामा लक्ष्मीको आकृति छापेर त्यसमा रङ भरेर हातैले तस्वीर तयार पार्न घण्टौं लाग्छ। जसको मूल्य बजारबाट नउठ्ने बताउँछन् लक्ष्मीलाल।
‘एउटा चित्रलाई पूर्ण बनाउन नै ३-४ घण्टा लाग्छ। धेरैमा ठूलो तस्वीर ५० रुपैयाँमा बिक्छ। सानोको १० रुपैयाँदेखि सुरु हुन्छ। ३-४ घण्टा लगाएर ३०-४० रुपैयाँमा बेच्नुपर्छ। भारतबाट आउने लक्ष्मीका सस्तो तस्वीरका कारण त्यसले बजारमा मूल्य नपाउने नै भयो। ‘
++
नेपालमा १६ लक्ष्मी पुज्ने चलन छ। त्यस्तै नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन अर्थात् लक्ष्मीपूजामा भने धनलक्ष्मीको पूजा गर्ने प्रचलन छ।
भारतबाट आयातित लक्ष्मीका चित्रहरु वैष्णव सम्प्रदायसँग मिल्छ। लक्ष्मी पूजामा भारतमा विष्णुकी अर्धाङ्गिनीका रूपमा लक्ष्मीको आराधना गर्छन्। तर, नेपालीहरुले पुज्ने लक्ष्मी विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मी हो।
भारतमा बनेका लक्ष्मीका चित्रहरुमा गणेश, सरस्वती इत्यादि देउताका चित्रहरु पनि हुन्छन्, तर यता बनाइने चित्रहरुमा त्यस्तो हुँदैन। धनलक्ष्मीको दूतका रुपमा यसरी कोरिने चित्रमा कुवेर र सेतो ख्याक हुनैपर्छ। त्यस्तै, धनलक्ष्मीको बाहनका रुपमा कछुवा हुन्छ। धेरै जसो चित्रमा लाटोकोसेरोलाई लक्ष्मीको बाहनका रुपमा प्रस्तुत गरिएको हुन्छ। तर, त्यो गलत रहेको चित्रकारहरुको तर्क छ। उनीहरुका अनुसार लक्ष्मीको बाहन कछुवा हो। कछुवा ढिलो हिँड्ने भएकाले त्यसमा सवार धनलक्ष्मीले जथाभावी धन खर्च गर्दिनन्। कछुवाले धन संचय गर्न सिकाउँछ।
धनलक्ष्मी आकृति भएको तस्वीरमाथि झुल राखिएको हुन्छ। झुलहरु कोठामा प्रयोग हुने र ढुकुटी पनि त्यहीँ रहने भएकाले लक्ष्मी पनि ढुकुटी सञ्चय गर्न स्थानमा बस्ने देखाइएको हो। ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलाई दिने विश्वास गरिन्छ भने कुबेरले धन सञ्चय गर्ने।
त्यस्तै नेपालमा बन्ने लक्ष्मीको हातमा ज्वला न्हाय्कं (प्रकाश छर्ने ऐना) रसिन्ह: मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। ज्वला न्हायकं पित्तल वा चाँदीबाट बनाइएको हुन्छ। यसको बीच भाग ऐनाजस्तो चम्किलो गरी बनाइएको हुन्छ। नेवार समुदायमा छोरीको विवाह गर्दा यो नभई हुँदैन। यसरी धनलक्ष्मीको चित्र बनाउनु र पुजिनुको अर्थ, धन जथाभावी खेर नजाओस्, सम्हालेर सञ्चय गर्न सकियोस् भन्ने हो।
अहिले बजारमा भारतसँगै चीनबाट ल्याइएका लक्ष्मीका चित्रहरु काठमाडौंका बजार पाइन्छ। सँगै लक्ष्मीलालजस्तै चित्रकारहरुले हातैले बनाइएका धनलक्ष्मीका चित्र पनि। तर मानिसहरुको नजर धेरैजसो टिलिक्क टल्कने भारतबाट ल्याइएका लक्ष्मीमा पर्ने गरेको लक्ष्मीलाल बताउँछन्।
‘हातैले बनाएको तस्वीरमा ज्यान हुन्छ भन्ने विश्वास छ। प्रिन्टर नै नभएको बेला हाम्रो पुर्खाले सुरु गरेको हो। पहिला त यही हो बिक्री हुने। प्रिन्ट आए पछिक कम हुँदै गयो,’ उनले भने।
चित्रकारहरुले बनाउने चित्रमा ‘प्राण’ हुने बताउने लक्ष्मीलाल पछिल्लो समय भने पेरि मानिसहरुले यो चित्रको महत्त्व बुझ्दै गएको बताउँछन्। बजारमा हातले रंग्याइएका लक्ष्मीका चित्र खोज्न आउनेको संख्या केही बढेको उनको अनुभव छ।
‘अहिले फेरि यो हाम्रो संस्कृति हो भनेर मानिसले बुझिरहेका छन्। किन्ने मान्छे बढिरहेका छन्,’ उनले बताए।
अहिले श्रीमतीसँग मिलेर हातैले चित्र रंग्याइरहेका उनी आउने पुस्ताले भने यो पेसालाई निरन्तरता दिनेमा आश्वस्त छैनन्।
‘यो फाइदाको लागि होइन। हो हाम्रो पुर्खाले गरिआइरहेको कामलाई निरन्तरता दिएको मात्र हो। किन छोड्ने भनेर हामीले गरिरहेको हो। तर अब हामी पछिको पुस्ताले गर्दैन। किनभने यसको मूल्य आएन,’ उनले भने।
उनको पुस्ताले नै असनमा यस्ता चित्रहरु बनाएर बिक्री गर्ने गरेका छन्। तर, पछिल्लो समय असनमा सामान बिक्री गर्न महानगरले रोक लगाउँदा उनले तस्विर राम्ररी बेच्न पाएका छैनन्। पोहोर साल त उनी असन नै गएनन्।
‘पोहोर बेच्न नदिने भनेर भनेपछि हामी गएनौं। यो बेच्ने निश्चित पसल हुँदैन पहिला देखि नै असनमा बेच्दै आइरहेका हौं,’ उनले भने।
यसपटक भने उनी आफैले रंग्याएका तस्विर लिएर असन पुगेका थिए। तर महानगर प्रहरीले पसल हटाउन भनेपछि फेरि घर फर्किए।
यसरी निश्चित याममा पुस्तैनी पेसा धानिरहेकाहरुलाई सडक किनारमा निश्चित दिनमा व्यवसाय गर्न रोक्दा त्यस्ता सामान बजारमा पुग्न नपाएको जनगुनासो बढिरहेको छ। जसकारण ती सामान बेच्न निश्चित ठाउँ छुट्याउनुपर्ने माग पछिल्लो समय बढेको छ।