BIZMANDU
www.bizmandu.com

प्रहरीसँग अनुसन्धानमा खटिने महँगा कुकुर, दैनिक खर्च ४ सय रुपैयाँभन्दा बढी

२०८० कात्तिक २६

प्रहरीसँग अनुसन्धानमा खटिने महँगा कुकुर, दैनिक खर्च ४ सय रुपैयाँभन्दा बढी
प्रहरीसँग अनुसन्धानमा खटिने महँगा कुकुर, दैनिक खर्च ४ सय रुपैयाँभन्दा बढी

काठमाडौं । नेपाल प्रहरीका लागि अनुसन्धानमा कुकुर निकै ठूलो सहयोगी छ। त्यसैले महँगो मूल्य तिरेर विदेशबाट कुकुर ल्याउने‚ तालिम दिने र अनुशासनमा राख्ने गरिएको छ। अहिले पनि प्रहरीसँग पाँच लाख रुपैयाँसम्म तिरेर ल्याएका कुकुर छन्।

Tata
GBIME
Zonsen

प्रहरीले अहिलेसम्म सबैभन्दा महँगो मूल्यमा बेलारुसबाट ल्याएको ब्लड हाउन्ड जातको कुकुर हो। नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रले सात लाखभन्दा बढी तिरेर बेलारुसबाट सो कुकुर ल्याएको थियो। बेलारुसबाट ल्याएका कुकुर काठमाडौं आइपुग्दा करिब पाँच महिनाको थियो। भाले र पोथी गरेर ५ महिनाका एक जोडी कुकुर ल्याइएको थियो।

कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको संख्या २५० मिलियन हुन्छ। जबकी मानिसको भने ५ मिलियन मात्र हुन्छ। अन्य कुकुरको तुलनामा ब्लड हाउन्डमा करिब ३५० मिलियन सुँघ्ने क्षमता हुन्छ।

सामान्य तालिम प्राप्त कुकुरले एक दिनको घटनामा मात्र सुँघेर पत्ता लगाउँछ। ब्लड हाउन्डले भने ४ दिनसम्मको घटनामा अनुसन्धान गर्ने केन्द्रीय कुकुर तालिम केन्द्रका डीएसपी डा. रामचन्द्र सत्यालले बताए। विदेशबाट ल्याएर करिब एक वर्षसम्म तालिम गराएपछि अनुसन्धानमा खटाएका यी दुई कुकुरहरू रिटायर भइसकेका छन्।

‘अहिले हामीसँग पाँच लाखमा किनेर ल्याएका कुकुरहरू छन्। दुई महँगा कुकुर केही महिना अगाडि रिटायर भइसके,’ डीएसपी सत्यालले भने।

नेपाल प्रहरीले युरोप र थाइल्यान्ड, अमेरिका, भारतबाट धेरै कुकुरहरू किनेर ल्याउने गरेको छ। अहिलेसम्म प्रहरीसँग जर्मन सेफर्ड र बेल्जियम सेफर्ड जातका कुकुरहरू अनुसन्धानमा खटाइएका छन्। जसलाई किनेर ल्याउँदा पाँच लाख रुपैयाँसम्म परेको थियो।

File Photo

प्रहरीले भारतबाट पनि कुकुर ल्याउने गरेको छ। भारतबाट कुकुर ल्याउँदा केही सस्तो पर्ने गरेको छ। केही समय अगाडि प्रहरीले विगल जातको कुकुर भारतबाट ल्याएको थियो। यो कुकुरको मूल्य २ लाख ५० हजार रुपैयाँसम्म परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीसँग देशभर ९० वटा भन्दा बढी तालिमप्राप्त कुकुर छन्। ती मध्ये काठमाडौंको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा सबैभन्दा धेरै जर्मन सेफर्ड छन्। यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक पदार्थ जाँच, सुरक्षा गस्ती लगायत सबै विधामा उपयोग हुन्छन्। ल्याब्राडोर जातका कुकुर हातहतियार र लागुऔषध पत्ता लगाउन मात्र प्रयोग हुन्छन्।

डग फुड, औषधि र सप्लिमेन्टमा हुन्छ खर्च

कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ह्यान्डल गरिन्छ। एउटा कुकुरलाई एक जनाले नै ह्यान्डल गर्ने गर्छन्। कुकुरले जसले तालिम दियो उसैको मात्र निर्देशन मान्ने गर्दछ। ६ महिनाको भएपछि कुकुरलाई तालिम दिन सुरु गरिन्छ।

कुकुरलाई बिहानै खोरबाट निकालिन्छ, अनि दिसापिसाब गराइन्छ। त्यसपछि करिब १ घण्टा शारीरिक व्यायाम दिइन्छ।  दैनिक लागुऔषध, हातहतियार लुकाएर खोज्न लगाइन्छ।

दैनिक ३० मिनेट कुकुरलाई मसाज समेत गराइन्छ। बिहान १० बजेतिर खाना खुवाइन्छ। १२ बजेसम्म खोरमा आराम गराएर फेरि दिउँसो २ बजेसम्म अभ्यास गराइन्छ। दिउँसो ४ बजे खोरबाट निकालेर अभ्यास गराई साँझ दिसापिसाव गराई खोरमा राखिन्छ।

तालिम प्राप्त कुकुरलाई दैनिक ‘डग फुड’ खुवाइन्छ। एउटा स्वस्थ कुकुरलाई १ केजी तौल बराबर १३२ क्लोरिनको आवश्यकता पर्छ। एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ। एक दिनमा कुकुरले ३ सय रुपैयाँ बराबरको खाना खान्छ। एउटा कुकुरको दैनिक खर्च ४०० रुपैयाँ भन्दा बढी पर्न आउँछ।

कुकुरले खाने एक किलो फुडलाई ६ सय रुपैयाँ भन्दा बढी पर्छ। यो बाहेक कुकुरको औषधि उपचार, सप्लिमेन्ट लगायतमा खर्च हुने गरेको डीएसपी सत्याल बताउँछन्।

पछिल्लो समय प्रहरीको अनुसन्धानमा कुकुर सहयोगी भूमिका देखिएको छ। त्यसैले प्रहरीले महँगो मूल्य तिरेर विदेशबाट कुकुर ल्याउने गरेको छ।