भित्तैपिच्छे चित्रहरु सजिएको देख्दा लाग्छ यो कुनै सानो ग्यालरी हो। कतै निकै ठूला कतै साना फ्रेमहरु झुण्डिएका छन् जसले आआफ्नै अर्थ र दर्शन बोकेका छन्। धेरै चित्रहरुमध्ये झ्याल छेउको सानो चित्र अघि गएर सुसन उभिइन् । मुस्कुराएर डाकिन्- यता हेर्नुस् त, यहाँ के के छ?
अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठ हिँड्दाहिँड्दै टक्क अडिएर कलाकारले झैं ‘ब्रिफ’ गरिरहेको सो चित्रमा दुई मानव आकृति छन् जसका तेस्रो नेत्र खुलिसकेको छ। तल स्कर्पियो गाडी कमलको फूललाई कुल्चिएर दौडिइरहेको छ।
१७ वर्षदेखि नेपालका अफ्ठेरा बाटाहरुमा एकछत्र राज गरेको महिन्द्रा ब्राण्डका हजारौं गाडी बेचिसकेकी सुसनले यही तस्वीरबाट आफ्नो काम र जीवनको अर्थ खुलाइन्।
‘अलि बृहत् आँखाले हेर्नुभयो भने यो चित्रमा पैसा र जीवन दुवैसँग जोडिएको दर्शन छ। ज्ञानले भरिएको मस्तिष्क बोकेका पुरुष र महिला दुवै छन् यहाँ, महिला पुरूषभन्दा अझ विराट आकारमा। अनि गाडीले कुल्चिएको कमलले पैसालाई संवेदनाहरु भन्दा कम महत्वको संकेत गर्छ,’ उनले भनिन्।
७०० भन्दा बढी कर्मचारीका साथमा वार्षिक करोडौंको कारोबार गर्ने अग्नि ग्रुपको पानीपोखरीस्थित भवनमा सुसनको अफिस एरिया ग्यालरी जस्तै छ। आधुनिक नेपाली चित्रकलाले सबैजसो भित्ता रंगिएका छन्। चित्रकलासँगको लगावको बेग्लै कथा छ। तर गाडीको व्यापार उनको बिजनेस लिगेसीसँग मात्र जोडिएको छैन। यो उनको’ डेडिकेसन’ र ‘फियरलेस’ स्वभावले आर्जन गरेको सफलता हो।
फेरि कम्पनीमा बढीभन्दा बढी महिलालाई जागिर दिने उनको नीतिले महिलाहरुको आत्मसम्मान र आर्थिक स्वतन्त्रताको वकालत पनि गर्छ। फ्रन्ट डेस्कमा मात्र होइन इन्जिनियर र मेकानिकलतर्फ समेत गरी हाल कम्पनीमा ३० प्रतिशतभन्दा बढी महिला स्टाफ रहेको सुसनले जानकारी दिइन्।
‘भ्यालु द लाइफ अफ अदर पिपुल’
नेपालका प्रतिष्ठित उद्योगपति विजय गजानन्द वैद्यकी छोरी सुसनको रगतमै व्यापार थियो। उनी यस्तो परिवारमा जन्मिइन् जहाँ उनले कखरा भन्दा पहिले व्यवसायका आकारहरु सिकिन्। दार्जिलिङमा स्कुल र अमेरिकामा कलेज पढेकी सुसनलाई बुवाले पढाइ सकेपछि नेपाल फर्काएर पारिवारिक व्यापारमा सहभागी गराए।
कुनै पनि कामको सुरुवात लहडमा होइन योजनाबद्ध ढंगले गर्न उनी सुझाव दिन्छिन्। योजनाबिना थालेका कामको भविष्य कहाँ पुगेर टुंगिन्छ पत्तो हुन्न।
टोयोटा गाडीहरु नेपाल भित्र्याउने युनाइटेड ट्रेडर्स सिन्डिकेटमा ‘जुनियर इक्जेक्युटिभ’का रुपमा उनको व्यावसायिक यात्रा सुरु भयो। बुवा विजय कामका दौरान विदेश गइरहन्थे। फर्किँदा बुवाले ल्याइदिने उपहार र उनले सुनाउने यात्राका रोचक किस्साहरुले सुसनलाई ‘बिजनेस वुमन’ बन्ने लक्ष्यमा उत्प्रेरकको काम गर्थ्यो। उनले बुवाकै जस्तो काम गर्ने बाहेक अरु केही सोचिनन्।
‘डाक्टर इन्जिनयर वा पाइलट बन्छु भन्ने सपना कहिल्यै देखिन। बरु सानै होस् आफ्नै केही उद्यम गर्छु भन्ने मात्र लक्ष्य थियो,’ उनले भनिन्।
अमेरिकामा कलेज सकेर उतै सेटल हुने अनेक अवसरहरु छोडर सुसन नेपाल फर्किइन्। बुवाकै व्यापारबाट सिक्दै कर्म गरिरहेकी सुसनले चाहेको जस्तै आफ्नै व्यावसायिक यात्रा भने विवाहपछि मात्र सुरु भयो।
‘सफल हुन सबैभन्दा पहिले इमोसनल इन्टेलिजेन्स चाहिन्छ। फोकस्ड, ड्रिभन अनि भ्यालु द लाइफ अफ अदर पिपुल। म्याडनेस अफ मनि होइन,’ उनले सफलताको मन्त्र सुनाइन्।
महिलाहरुलाई उद्यमी बन्नका लागि परिवारले सबैभन्दा ठूलो ‘सपोर्ट’ गर्नुपर्ने उनी बताउँछिन्। परिवारले गर्ने सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्ने उनको अनुभव छ। दोस्रो कुरा योजना हो। कुनै पनि कामको सुरुवात लहडमा होइन योजनाबद्ध ढंगले गर्न उनी सुझाव दिन्छिन्। योजनाबिना थालेका कामको भविष्य कहाँ पुगेर टुंगिन्छ पत्तो हुन्न। तर सानै भए पनि काम थाल्ने र योजना बनाएरै पाइला चाल्ने हो भने उद्यम सम्भव छ भन्छिन् सुसन।
आउन त पाइला पाइलामा फेलियर आउँछ तर धैर्यता नछोड्ने अनि काममा लगनशील भैरहने बानीले सफलता पक्कै दिलाउने उनी बताउँछन्।
‘महिलाहरुमा कति क्षमता छ भन्ने कुरा कोभिड महामारीको समयमा धेरैलाई थाहा भयो। आफूभित्र के सिप छ क्षमता छ महिलाहरु के सम्म गर्न सक्छन् भन्ने महसुस गराउन त्यही उदाहरण काफी छ। अवस्था सहज थिएन तर कति महिलाहरु घरमै बसेर जानेको सीपले रातारात अनलाइन उद्यमी बनेका थिएनन् र?,’ उनले उद्यमको आकारभन्दा पनि योजनामा जोड दिँदै भनिन्।
पैसा र क्वालिटी अफ लाइफबीचको सम्बन्ध
भारतको कर्पोरेट सेक्टरका वौद्धिक व्यक्तित्व तथा लेखक गुरचरण दासले एक प्रवचनका क्रममा भनेका थिए ‘बिजनेस पिपुल आर बेटर देन अथर।’ लामो समय व्यावसायिक क्षेत्रमै रहेका गुरचरणले लेखेका किताबहरु बेस्टसेलर छन्। गुरचरणले व्यावसायिक व्यक्तिहरुलाई लेखकभन्दा उम्दा किन भने उनै जानुन्। तर सुसनलाई गुरुचरणको त्यो कुराले भित्रैबाट छोएको छ।
‘हो त! वि एक्चुअल्ली इन्टर्याक्ट एट डिफरेन्ट लेभल्स। बिजनेसलाई सहजै न परिभाषा दिन सकिन्छ न सहजै व्याख्या गर्न,’ सफलता र असफलता दुवैको स्वाद चाखेकी सुसन भन्छिन्, ‘व्यापार त मानिस मानिसहरुबीचको यस्तो ट्रान्जाक्सन हो जहाँ पैसा भन्दा पनि कनेक्सनले अर्थ राख्छ। वस्तु वा सेवा लिँदा दिँदा जुन कनेक्सन मानिसहरुबीच हुन्छ त्यसको लामो यात्रा व्यापार हो। तर यहाँ पैसाले भन्दा जर्नी अफ कनेक्सनले चाहीँ म्याटर गर्छ। त्यो कनेक्सन कसरी गर्ने त? रफ गर्ने वा राम्रो, मोरल भ्यालु र इथिक्स सहितको गर्ने कि त्यसलाई ध्यान नदिने भन्ने चाहीँ व्यापार गर्ने व्यक्तिमा भर पर्छ।’
ओहो यति गहिरिएर व्यवसायलाई बुझ्ने कोसिस सबै व्यवसायीले गरेका होलान् त!
सुसन र उनका जीवनसाथी क्याबिनेट श्रेष्ठले बैवाहिक जीवनका यी ३० वर्षहरु ‘मोरल एन्ड इथिकल भ्यालु’सहितको व्यवसाय गर्ने कमिटमेन्टलाई पूरा गर्नमै बिताएको उनले सुनाइन्।
अबको समय पनि पैसालाई भन्दा बढी महत्व परिवारलाई दिने र असल मानिस बनेर ब्यापार गर्ने उनको आफैँसँगको प्रतिबद्धता छ।
उनी भन्छिन्, ‘अचेल युवापुस्ता बढी नै पैसामुखी देखिएका छन्। पैसा महत्वपूर्ण छ, नो डाउट! तर पैसा भन्दा क्वालिटी अफ लाइफ चाहिन्छ। परिवार चाहिन्छ भन्ने बिर्सन भएन। पैसाले जीवन सहज बनाउने हो तर पैसाको इगो हुनु हुँदैन। व्यापार भनेको पैसाको पछि कुद्ने म्याड रेस पनि होइन।’
व्यापारमा सफलता हासिल गर्ने छोटो बाटो हुँदैन। लामो यात्रा र अथक पाइलाहरु हुनुपर्छ। अधैर्य हुनेका लागि व्यापार सफलताको मार्ग होइन। यहाँ त प्रशस्तै उतारचढाव आउँछ।
बिल गेट्सको उदाहरण दिँदै सुसनले थपिन्, ‘जीवनभर कमाएर यतिबेला उ समाजलाई नै पैसा फर्काइरहेछ। अन्त्यमा माथि जाँदा सबैले खाली हातै जाने न हो!’
यसरी रित्तो हात देखाइरहँदा उनका नङहरु फुस्रा थिए। पोलिसबिनाको छोटो नङ देखाउँदै उनले ठट्यौली पारामा भनिन्, ‘मेरो नटल्किएका नङहरु हेर्दा अचम्म लाग्ला। बिजनेस वुमनका नङहरु पोलिसदार र चम्किएको हुन्छ भन्ने छ पनि। तर मलाई माली बनेर फूल रोप्दा, गोडमेल गर्दा जति आनन्द अरु केहीमा आउँदैन। त्यसैले मेरो बगैंचा फूलहरुले सुन्दर छ अनि नङहरु चाहिँ यस्तो!’
आध्यात्मिक स्वभावकी सुसनको जीवन दर्शन र बाँच्ने शैली प्रकृतिसँग बढी जोडिएको छ।
बुवाको प्रश्न र अघि बढेको यात्रा
अग्नि ग्रुपकी कार्यकारी निर्देशकका रुपमा उनले त्यहाँको एचआर र प्रोक्योरमेन्ट हेर्छिन्। जोन डेभी स्कुल र टेरेस रिसोर्टमा पनि उनको संलग्नता छ। ग्रुप अन्तर्गतका अन्य सहायक कम्पनीहरुका कामहरु पनि उनले हेर्ने गरेकी छिन्।
सुरुमा अग्नि ग्रुप खोल्दा दुई कोठाबाट सुरु भएको कम्पनीमा सुरुवातकी एडमिन, एकाउन्टेन्ट, सेल्स पर्सन सबै आफैं भएका दिनहरु सम्झिँदा अहिले पनि उनी रोमाञ्चित हुन्छन्। व्यापारमा सफलता हासिल गर्ने छोटो बाटो हुँदैन। लामो यात्रा र अथक पाइलाहरु हुनुपर्छ। अधैर्य हुनेका लागि व्यापार सफलताको मार्ग होइन। यहाँ त प्रशस्तै उतारचढाव आउँछ।
व्यावसायिक र अनुभवी पृष्ठभूमिबाट आएको भए पनि सुसनले आफ्नो व्यवासाय शून्यबाटै सुरु गरेकी हुन्। राजनीतिक परिवारका क्याबिनेट श्रेष्ठको व्यवसाय त थियो नै तर त्यो प्रोफेसनल्ली जमेको भने थिएन। सन् १९९० मा उनीहरुको बिवाहपछि दुवैले आफ्नै केही व्यवसाय थालनी गर्ने सोच बनाए।
त्यो बेला नेपालको ‘बिजनेस सेक्टर’ विस्तारै परम्परागत शैलीबाट हटेर इलेक्ट्रोनिक सिस्टमतर्फ सिफ्ट भइरहेको थियो। त्यो समयलाई ‘क्यास’ गर्न उनीहरुले भारतमा गएर विभिन्न ठूला कम्पनीहरुलाई ‘एप्रोच’ गर्न थाले। उनीहरुले टाइपराइटरबाट सिफ्ट हुँदै फ्याक्स तर्फ गइरहेको युगमा आफूहरुले पनि नयाँ उपकरणहरु ल्याउने सोच बनाए। टेलिकमको नयाँ सिस्टम ल्याउन टाटा टेलिकमसँगको सहकार्यमा अफिस अटोमेसनका लागि आवश्यक इलेक्ट्रोनिक ग्याजेटहरु नेपाल भित्र्याएर व्यावसायिक थालनी गरे।
सुरुवातमा दरबारमार्गका होटलहरु तथा भक्तपुर क्यान्सर हस्पिटलमा उनीहरुले टेलिकमको इपिबीएक्स सिस्टम जडान गरे। उनीहरुले उपकरणको जडानपछि यसको संचालनका लागि तालिम दिने तथा आफ्टर सेल्स सर्भिसको पनि सुरुवात गरे। खासमा यो पहिलो व्यवसाय उनीहरुका लागि सिकाइको राम्रो थलो पनि बन्यो।
त्यसैबेला नेपालमा भारतीय अटोमोबिल ब्राण्ड महिन्द्राले वितरक खोजिरहेको थियो। सुसनका बुवाको टोयोटाको बिजनेस थियो। महिन्द्राले एप्रोच गरेपछि सुसनका दाजु सुरज वैद्यले उनीहरुलाई अघि सारिदिए। त्यसपछि उनीहरुको अग्नि ग्रुप यस क्षेत्रमा प्रवेश गरेको हो।
टोयोटा र महिन्द्राको टार्गेट ग्रुप नै फरक थियो। महिन्द्राका गाडीहरु साहसीले चलाउने गाडीका रुपमा चिनिए। ती गाडीहरु अफ्ठेरो बाटाका लागि हुन्। सुरुमा आएका महिन्द्राका कतिपय गाडीहरुको त सुसनले नामै बिर्सिसकिन्।
‘अटोमेटिक नि थिएन त्यो गाडीहरु। टेस्ट ड्राइभ गर्दा मेरै खुट्टा दुखेर यस्तो भयो कि बयानै गर्न सक्दिन। सुरुवातका ती गाडीहरु देखेर बुवाले सोध्नुभयो- के तिमीलाई विश्वास छ तिमी यो बेच्न सक्छौं?’
‘किन नसक्नु!,’ सुसनको जवाफ।
बुवालाई बेच्न सक्छु त भनिन्। तर भित्र भित्र सुसनमा एक्साइटमेन्ट र थ्रिल दुवै थियो।
‘एक मनले भन्यो सकिन्छ। कताकता फियर अफ फेलियर पनि थियो। बिजनेस वुमनका रुपमा मैले ह्वाट इफ आइ फेल भन्ने प्रश्न आफैंलाई गरें। अनि त्यसको सम्भावित उत्तरहरु पनि आफैंले खोजें। त्यो समयको मनोदशालाई उतार्न सुसनलाई निकै कठिन भयो। जे जे आयो सामना गर्दै गइयो तर हारको मानसिकता कहिल्यै आएन,’ पुराना दिनहरुलाई सम्झिँदा उनको अनुहारमा एक किसिमको नोस्टाल्जिया झल्कियो।
‘मान्छेलाई लाग्छ गाडी बेच्यो भने पैसा तुरुन्तै कमाइन्छ। तर होइन। कुनै पनि व्यापार गर्दा हामीले सोच्नुपर्ने वान टाइम बिजनेस होइन है यो। किनेर बेच्ने मात्र हो कि दीर्घकालका लागि सर्भिस दिने त्यो पनि क्वालिटी सर्भिस। अनि जेन्युइन पार्ट्स दिन पनि सक्नुपर्छ। निकै कठिन मेहनत र लङटर्म भिजन चाहिन्छ,’ अटोमोबाइल बिजनेसमा आउनेले ख्याल गर्नुपर्ने व्यावसायिक पक्षहरु सुसनले सुझाइन्।
‘यतिबेला हाम्रो पोर्टफोलियोमा केही मिसिङ छ भने इभी नै हो। फ्रन्ट रनर हुँदाहुँदै अचानक बिलायौं पनि। तर यो पनि जीवनको चक्र जस्तै न हो, चाँडै हामी फेरि रेसमा हुनेछौं।’
नेपालमा विद्युतीय गाडीहरु ल्याउने सुरुवाती चरणमा अग्निले महिन्द्राको इटुओ भित्र्यायो। व्यापार राम्रो थियो। इटुओले अग्रपंक्तिमा आफूलाई उभ्यायो पनि। तर राम्रो रेस्पोन्स आउँदा आउँदै भारतमै महिन्द्राले उत्पादन बन्द गर्यो। जो अघि थियो उ रेसबाटै बाहिरियो। सुसन इटुओको यस उतारचढावलाई मानिसको जीवनसँग तुलना गर्छिन्।
अब हामी चाँडै नै महिन्द्राले इभीका केही भेरियन्ट नेपाल ल्याउँदैछ। केही समयअघि सुसन चेन्नइ पुगेर नया इभीको टेस्ट ड्राइभ गरेर आइन्। एक्सयुभी र केयुभी दुबैका रेन्जहरु सन् २०२४ मा आउँदैछ। उनले खुशीसाथ ल्याउने प्रक्रिया थालिएको सुनाइन्।
सुसन सडकमा बढ्दो इभीको संख्याका कारण जति उत्साहित छिन् त्यसको ब्याट्रीप्रतिको ‘कन्सर्न’ पनि उत्तिकै छ भन्छिन्। महिन्द्राका अन्य भेरियन्टलाई इभीको संख्याका कारण फरक नपर्ने सुसनको दाबी छ। बलेरो पिकअपहरु फरक भूगोलका लागि बनेका हुन्। इभी गुड्ने सडक र यस्ता गाडीको टेरियन फरक हो।
सुसनका अनुसार नेपालमा युवा वर्गले महिन्द्राको थार मन पराउँछन् भने आम वर्गले स्कर्पियो। यसको एक्सयुभी ७०० लाई अन्तराष्ट्रिय स्तरको भन्छिन् सुसन।
चित्रसँगको ‘इमोस्नल एट्याचमेन्ट’
गाडीको व्यापारसँगै सुसन २२ वर्षदेखि कलाको प्रवर्द्धनमा पनि लागेकी छिन्। कला त्यसमा पनि कन्टेम्पोररी आर्ट। पोहोरदेखि त अनलाइन आर्ट बिजनेस पनि सुरु भएको छ। नेपालको थांका कला, पौवा चित्र, परम्परागत चित्रकलाप्रति धेरैको नजर परेको छ तर कन्टेम्पोररी आर्टलाई प्रवर्द्धन गर्न बढी गाह्रो भएको महसुस भएपछि उनी यसतर्फ लागेकी हुन्। नेपाल आर्ट काउन्सिलकी बोर्ड मेम्बरसमेत रहेकी सुसनको चित्रकलासँग इमोसनल कनेक्सन छ।
उनकी बहिनी जस्मिन ३२ वर्ष अघि थाइ एयरवेजको जहाज दुर्घटनामा परिन्। पढाइपछि सुसनले पारिवारिक बिजनेस सम्हालिरहँदा जस्मिन भने मार्केटिङ र पिआरमा रमाउँथिन्। सफ्ट स्किल जबमै खुशी हुने उनको बानी थियो। त्यसमाथि जस्मिन चित्र कोर्थिन्। उनमा कलाप्रतिको असाध्यै बढी लगाव थियो।
एयरक्र्यासमा बहिनीको निधन भएपछि उनकै सम्झनामा सुसनले आर्ट फाउन्डेसन खोलिन्। त्यस फाउन्डेसनमार्फत सुसनले कला सिक्न चाहने बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गरिन्।
त्यही क्रममा उनको कनेक्सन काष्टमण्डप आर्ट ग्रुपसँग भयो। सन् १९९९ मा उनले पहिलोपटक एकसय कलाकारहरुलाई सहभागी गराएर पहिलो कला प्रदर्शनी आयोजना गरिन्। त्यसको दुई वर्षपछि उनले दिल्लीमा पनि नेपाली कन्टेम्पोररी आर्टको प्रदर्शनी गरिन्। विस्तारै कलातर्फ उनको एक्सपोजर बढ्न थाल्यो। खासमा बहिनीको कलाप्रतिको प्यासनलाई उनले आफ्नो जीवनसँग जोडिन् र त्यसमार्फत बहिनीका सम्झनाहरु जिवित राखिरहिन्।
सातौं वार्षिक हिमालयन आर्ट फेस्टिभल भर्खरै सकेकी सुसनका लागि यो क्षेत्र कलाप्रतिको सम्मान र शिक्षाका लागि अत्यावश्यक लाग्छ। महिला उद्यमीका नाताले नेपाली कलाको प्रवर्द्धन र विकासमा पनि योगदान गरिरहेकी छिन् उनले।
सुसनलाई उनकी बौद्धमार्गी आमाले सिकाइन्, ‘जति सकिन्छ बाँड्नु’। थोरै भएपनि दिनुपर्छ भन्ने ज्ञान आमाले दिइन्। उनलाई बुवाले पनि सिकाए ,’काम यस्तो गर्नु जसले सानै भएपनि अरुको जीवनमा सकारात्मक परिवर्तन ल्याओस्।’
बुवा र आमा दुवैको सिकाइलाई सुसनले आफ्नो आदर्श बनाइन् उनले आफ्नो कम्पनीमार्फत परोपकारका कामहरुमा ठूलो राशी खर्च गर्दै आइरहेकी छिन्। ५ वर्षअघि शिक्षण अस्पतालमा उनीहरुले १ करोड खर्चिएर एनआइसियू युनिट बनाए। देशका विभिन्न दुर्गम भूभागमा बर्थिङ सेन्टरहरु निर्माण गराए। हाल उनी अपांग र मानसिक रुपमा कमजोर बालबालबालिकाका लागि विद्यालय निर्माणमा लागेकी छिन्।
सफल बिजनेस वुमनमा हुनुपर्ने इमोसनल इन्टेलिजेन्स, एम्प्याथी र कम्प्यासन, यी सबै गुणहरु आफूमा भएजस्तो उनलाई लाग्छ।
बोलेर होइन व्यवहारिक रुपले मानिसको जीवनस्तर उकास्न सहयोग गर्नुपर्छ भन्ने सुसनलाई लाग्छ। उनी अब महिलाहरुलाई उद्यमशीलतातर्फ लैजाने स्टार्टअपहरुमा सघाउन चाहन्छिन्। उनीहरुका लागि भोकेसनल ट्रेनिङ स्कुलहरु खोल्ने योजना पनि छ उनको। समाजमा महिलाहरुले पनि समाजमा पुरुषहरु सरह नै देखिन र सुनिन पाउनुपर्छ भन्छिन् उनी।
लामो रेसको घोडाका रुपमा आफूलाई फरक फरक विधाहरुमा स्थापित गराइसकेकी सुसन विदेशबाट पढाइ सकेर फर्किएका तीन सन्तानलाई पनि विस्तारै व्यावसायिक यात्रातर्फ डोहोर्याइरहेकी छिन्।
सफल बिजनेस वुमनमा हुनुपर्ने इमोसनल इन्टेलिजेन्स, एम्प्याथी र कम्प्यासन, यी सबै गुणहरु आफूमा भएजस्तो उनलाई लाग्छ।
योग र अध्यात्मलाई आत्मसाथ गरेकी सुसन भन्छिन्- ‘यतिबेला हाम्रो पोर्टफोलियोमा केही मिसिङ छ भने इभी नै हो। फ्रन्ट रनर हुँदाहुँदै अचानक बिलायौं पनि। तर यो पनि जीवनको चक्र जस्तै न हो, चाँडै हामी फेरि रेसमा हुनेछौं।’