BIZMANDU
www.bizmandu.com

हवाई नीति अनुसार धरानमा विमानस्थल बनाउनै नमिल्ने, मन्त्री किरातीको जोडबल किन?

२०८० कात्तिक २४

हवाई नीति अनुसार धरानमा विमानस्थल बनाउनै नमिल्ने, मन्त्री किरातीको जोडबल किन?
हवाई नीति अनुसार धरानमा विमानस्थल बनाउनै नमिल्ने, मन्त्री किरातीको जोडबल किन?

काठमाडौं। हवाई नीति अनुसार तराईमा ४० र पहाडी क्षेत्रमा २० नटिकल माइलभित्र विमानस्थल बनाउन पाइँदैन। धरान र विराटनगरबीचको हवाई दूरी करिब १९ नटिकल माइल छ। विराटनगरमा विमानस्थल सञ्चालनमा रहेकाले नीति अनुसार धरानमा विमानस्थल बनाउन मिल्दैन।

Tata
GBIME
Nepal Life

हवाई नीति कार्यान्वयन गराउने मुख्य जिम्मेमवारी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हो। तर सोही मन्त्राालयको कमाण्ड सम्हालिरहेका मन्त्री सुदन किराती भने नीतिविपरीत हुने गतिविधिमा लागेका छन्।

जिम्मेवारी सम्हालेपछि काममा ध्यान दिनुको साटो एकपछि अर्को ‘स्टन्ट’मा रमाइरहेका किरातीले हवाई नीतिविपरीत हुने गरी धरानमा विमानस्थल बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अध्ययन समिति गठन गर्न लगाएका छन्। उनको निर्देशनमा प्राधिकरणले बिहीबार इन्जिनियर प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा सीए अनिल बस्नेत र वरिष्ठ कानुन अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरेको छ।

जबकी प्राधिकरणले यसअघि दुई पटक गरेको अध्ययनबाट धरानमा विमानस्थल निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष निस्किएको थियो।

प्राधिकरणले तीन दशकअघि सम्भाव्यता अध्ययन गरेको थियो। त्यस क्रममा धरानमा विमानस्थल बनाउन अनुपयुक्त देखिएको थियो। विराटनगर विमानस्थलबाट ४० किलोमिटरको हवाई दूरीमा अर्को विमानस्थल बनाउनु उपयुक्त नहुने देखिएपछि प्राधिकरणले फाइल बन्द गरेको थियो।

फाइल फोटो : धरान

धरानको डाँडाघोपामा विमानस्थल बनाउने प्रस्ताव स्वीकृत नभए पनि निजी क्षेत्रको कम्पनी यती इन्कर्पोरेटले विमानस्थल सञ्चालनका लागि भन्दै स्थानीयसँग जग्गा खरिद गरेको थियो। विमानस्थल निर्माण नहुने भएपछि पुराना जग्गाधनीले बेचेकै दाममा जग्गा फिर्ता माग्दै आएका छन्।

धरान-१७ डाँडाघोपामा २४ जनासँग ६ बिघा ४ धुर जग्गा खरिद गरेको यती इन्कर्पोरेटले उनीहरुलाई अदालत जान चुनौती दिएको छ। पुराना जग्गाधनी धरान उपमहानगरपालिका पुगेका थिए।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले भने यती समूहले विमानस्थल सञ्चालन गर्ने प्रयोजनका लागि किनेको जग्गा दुई दशकदेखि प्रयोगविहीन रहेको भन्दै विमानस्थल निर्माण प्रकृया अगाडि बढाउन पर्यटन मन्त्रालयमा पत्राचार गरेका थिए।

पर्यटनमन्त्री किरातीले प्राविधिकरुपमा अयोग्य ठाउँमा अहिले विमानस्थल निर्माणका लागि अध्ययन समिति गठन गर्न लगाउनुलाई शंकास्पदरुपमा लिइएको छ।

विराटनगरनजिक भएकाले धरानमा विमानस्थल बनाउनु हवाई नीतिविपरीत हुने प्राधिकरणका एक प्राविधिकले बताए।

‘धेरै वर्ष अगाडिदेखि धरानमा विमानस्थलको बहस चल्दै आएको हो। आवश्यकता र प्राविधिकरुपमा उपयुक्त भएको भए बनिसक्थ्यो‚’ उनले भने, ‘तराईमा ४० र पहाडी क्षेत्रमा २० नटिकल माइलभित्र विमानस्थल बनाउन नपाइने प्रावधान हवाई नीतिमा छ।’

एक नटिकल माइलमा २.२ किलोमिटर हुन्छ। धरान र विराटनगरको हवाई दूरी १९ नटिकल माइल हो। ‘हवाई नीति अनुसार धरानमा विमानस्थल बनाउनै मिल्दैन,’ उनले भने।  

पाँच वर्ष अगाडि पनि धरानमा विमानस्थल निर्माणको बहस चलेको थियो। त्यतिखेर प्राविधिक टोलीले प्राविधिकरुपमा सम्भावना नरहेको निष्कर्ष निकालेको थियो। धरान उपमहानगरपालिकाले विमानस्थल बनाउन सात बिगाह जग्गा उपलब्ध गराउने आश्‍वासन दिएकामा प्राधिकरणको टोलीले भौगोलिकरुपमा जोखिमपूर्ण रहेको र ८०० मिटरको धावन मार्ग मात्र बन्न सक्ने बताएको थियो। ८०० मिटरको धावन मार्गमा साना र कम क्षमताका जहाज मात्र उडान अवतरण गराउन मिल्छ।

फाइल तस्विर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग।

काठमाडौं-विराटनगर उडान भाडादरको तुलनामा धरान उडान धेरै महँगो पर्न जाने कारण देखाउँदै प्राधिकरणले विमानस्थल बनाउन अनुपयुक्त भनेको थियो।

प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले विमानस्थल आवश्यकताका आधारमा प्राविधिकरुपमा उपयुक्त ठाउँमा बनाउनुपर्नेमा नेताहरुको लहडमा अन्धाधुन्ध बनाउने प्रवृत्ति बढेको बताए। हुन पनि नेताहरुको लहडमा जथाभावी बनाइएकै नतिजा अहिले १८ वटा विमानस्थल सञ्चालनमै छैनन्।

‘आवश्यकता पहिचान नगरी तथा प्राविधिकरुपमा उपयुक्त छ/छैन नहेरी नेताहरु सस्तो लोकप्रियताका लागि विमानस्थल बनाउने घोषणा गर्छन्,’ गौतमले भने, ‘नेताहरुलाई बारीका पाटा देख्‍नै हुँदैन। उनीहरु जहाज उडाउन मिल्छ/मिल्दैन? आर्थिक रुपमा के कस्तो भार पर्छ? भन्ने मतलब नै गर्दैनन्। त्यही कारण ५४ मध्ये ३६ वटा मात्र सञ्चालन हुन सकेका हुन्।’

उनी विराटनगरमा विमानस्थल हुँदा हुँदै मन्त्रीले धरानमा विमानस्थल बनाउन भनेर अध्ययन समिति बनाउनुलाई ‘स्टन्टबाजी’ भन्छन्।

‘धरानबाट एक घण्टाभित्रै सडक मार्ग हुँदै विराटनगर पुग्न सकिन्छ। त्यसैले धरानमा विमानस्थल बनाउन खोज्नुको औचित्य छैन। अर्को कुरा प्राविधिकरुपमा पनि मिल्दैन,’ उनले भने, ‘अहिले मन्त्रीले स्थानीयको मन जित्‍नका लागि नयाँ स्टन्ट गरेका मात्र हुन्।’