अमेरिकाको सिएटलमा विश्वका प्रमुख व्यापारिक कम्पनीहरुको मुख्यालय छन्। यही सहरबाट नै जेफ बेजोसले एउटा ग्यारेजबाट इ-कमर्स कम्पनी अमेजनको सुरुवात गरेका थिए। अहिले अमेजनको मुख्यालय रहेको रोबोटिक्स डेभलपमेन्ट सेन्टरमा आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) र मेसिन लर्निङको सहयोगबाट अनुसन्धान भइरहेको छ।
सिएटलको सेवेन्थ एभेन्यू रोडमा गगनचुम्बी भवनको क्याम्पसमा अमेजनको मुख्यालय छ। बेजोस चाहन्थे- उनको कम्पनी हरेक प्रोजेक्टमा पहिलो दिन जसरी नै काम गरोस् र सबै क्षेत्रमा पहिलो दिनदेखि नै नम्बर १ रहोस्। त्यसैले उनले सो भवनको नाम नै ‘डे-१’ राखे।
अहिले अमेजनको मुख्यालय ‘द स्फीयर्स’ विश्वभरमा अमेजनको पहिचान बनेको छ। तीनवटा गोलाकार भवनमा ३० भन्दा बढी देशका ४० हजारभन्दा बढी मानिस काम गर्छन्। त्यही क्याम्पमा डे-१ छ।
द स्फीयर्सको भित्र पस्नेबित्तिकै हरियाली पार्क देख्न सकिन्छ। द स्फीयर्सको करिब ५० मिनेटको दुरीमा बीएफआइ-१ अर्थात अमेजनको रोबोटिक्स डेभलपमेन्ट हब एन्ट फूलफिलमेन्ट सेन्टर छ। ४ लाख ४० हजार वर्ग फिटमा फैलिएको सो हबमा अनुसन्धान र नवीनतम प्रयोगहरु हुने गर्छन्।
अमेजनको सो हब भित्र गएपछि काठको पुरानो ढोकाबाट बनाइएको टेबलमा एउटा कम्प्युटर देखिन्छ। जसले अमेजनको पुराना दिनहरुको याद दिलाउँछ। जेफ बेजोसले कम्पनीको भित्र आफ्नो सुरुवाती दिनहरु भुल्न हुन्न र किफायती हुनुपर्छ भन्ने ‘संस्कार’ बसाएका छन्। त्यो दृश्य त्यसैको उपज हो। आज पनि अमेजनका कुनै कर्मचारीले किफायती आइडिया दिए उसलाई काठको ढोकाबाट बनाइएको टेबल पुरस्कार दिने गरिन्छ।
हाल अमेजनमा ७ लाख ५० हजार भन्दा बढी रोबोट डेलिभरी गर्ने काम गरिरहेका छन्। अमेजन रोबोटिक्सकी निर्देशक एमिली वेटेरिकका अनुसार रोबोट्स बनाउँदा उनीहरुले दुइटा कुरालाई ध्यानमा राख्ने गरेका छन्। पहिलो – कसैलाई चोट नलागोस् भनेर काम गर्ने ठाउँको सुरक्षा। दोस्रो – ग्राहकले आफ्नो सामान छिटोभन्दा छिटो पाउन काममा तीव्रता।
अमेजन प्राइम एयरका उपाध्यक्ष डेभिड कार्बन भन्छन्, ‘हामीले एमके३० ड्रोन लन्च गरेका छौं। यो हाम्रो अहिले भएको प्राइम एयर ड्रोनभन्दा दोब्बर माथि उड्न सक्छ। यसले पानी पर्दा पनि डेलिभरी गर्नसक्छ। अहिले अमेरिकाको दुई राज्यमा ड्रोनबाट डेलिभरी हुन्छ।’
यहाँबाट एक घण्टामा पाँच पाउण्डको पार्सल डेलिभरी हुन्छ। सन् २०२४ मा बेलायत र इटालीबाट पनि ड्रोनले डेलिभरी सुरु गर्ने कम्पनीको योजना छ। त्यसपछि विश्वभर ड्रोनबाट डेलिभरी गर्ने योजना रहेको कार्बन बताउँछन्।