BIZMANDU
www.bizmandu.com

‘गाजामा नरसंहार रोक’ भन्दै कवि रुपी कौरले अस्वीकार गरिन् ह्वाइट हाउसको दिवाली आमन्त्रण

२०८० कात्तिक २२

‘गाजामा नरसंहार रोक’ भन्दै कवि रुपी कौरले अस्वीकार गरिन् ह्वाइट हाउसको दिवाली आमन्त्रण
photo : Getty images


भारतीय मूलकी क्यानडियाली कवि रुपी कौरले दिवालीको अवसरमा अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा गरिएको आमन्त्रण अस्वीकार गरेकी छिन्। इजरायलले गाजामा गरिरहेको अमानवीय प्रतिकारमा अमेरिकाको भूमिकालाई लिएर उनले विरोध जनाउँदै ह्वाइट हाउसमा नजाने निर्णय गरेकी हुन्।

Tata
GBIME
NLIC

सामाजिक संजालमा उनले सर्वसाधारणलाई दिइने कुनै पनि सामुहिक दण्डको समर्थन गर्ने संस्थाको आमन्त्रण स्विकार नगर्ने घोषणा गरेकी हुन्।

उनले अन्य दक्षिण एसियाली मूलका नागरिकलाई समेत अमेरिकालाई जवाफदेही बनाउन आग्रह गरेकी छिन्।

ह्वाइट हाउसमा यही नोभेम्बर ८ मा दिवालीको अवसरमा कार्यक्रम हुँदैछ।  सो कार्यक्रम अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले ‘होस्ट’ गर्नेछिन्। उनले भने कौरको प्रतिक्रिया बारे कुनै जवाफ दिएकी छैनन्।

कौरको मिल्क एन्ड हनी किताब निकै चर्चित छ। उनले अमेरिकी सरकारले प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको ‘नरसंहार’ लाई जायज ठहराएको आरोपसमेत लगाएकी छिन्।

View this post on Instagram

A post shared by rupi kaur (@rupikaur_)

हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्ध एक महिनादेखि जारी छ। हमासको आक्रमणमा इजरायलमा १ हजार ४०० भन्दा बढी मारिएका छन्। जवाफी कारबाहीमा इजरायलले हमासलाई सिध्याउने भन्दै गाजामा आक्रमण गरिरहेको छ। जसमा १० हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा ४ हजार बढी बालबालिका छन्। संयुक्त राष्ट्रसंघले गाजा बालबालिकाको चिहान बन्दै गरेको भन्दै मानवीय सहायताका लागि युद्धविरामको माग गरिसकेको छ। राष्ट्रसंघको महासभाले पनि युद्धविरामको लागि प्रस्ताव पारित गरिसकेको छ। जसमा इजरायल र अमेरिकाले विपक्षमा मतदान गरेका थिए।

इजरायलले पानी, खाद्यान्न र औषधिसमेत रोकेर गाजामा पूर्ण नाकाबन्दी लगाएको छ। गाजालाई चारैतिरबाट घेरेर इजरायलले प्यालेस्टाइनीमाथि आक्रमण गरिरहेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्।

अरब राष्ट्रले पनि तत्काल युद्धविरामको माग गरिरहेको छ। विश्वभर हमासको आक्रमणको निन्दासँगै प्यालेस्टाइनी नागरिकको सुरक्षाको माग गरिँदैछ। तर, इजरायल भने अहिले युद्धको समय भएको भन्दै आक्रमणमै केन्द्रित छ।

अमेरिका पनि युद्धविरामको पक्षमा छैन। युद्धविरामबाट हमासलाई फाइदा पुग्ने भन्दै अमेरिका पन्छिरहेको छ। पश्चिमा देशहरु पनि इजरायलको आक्रमणविरुद्ध बोल्न सकेका छैनन्। अरब राष्ट्रले अमेरिका र पश्चिमा देशको दोहोरो चरित्रको विरोध गरिरहेको छ।