काठमाडौं। सेयर बजारको सबैभन्दा प्रभावशाली क्षेत्र नै मन्दीको चपेटामा परेपछि नेप्से २१.४६ अंकले घटेको छ। नेप्से १८२६.२३ अंकमा ओर्लिएको छ।
वाणिज्य बैंकहरुले शुक्रबार निराशाजनक खालको त्रैमासिक विवरण प्रकाशित गरेका थिए। जसको असरस्वरुप आइतबार खुलेको सेयर बजारमा बिक्रेता हाबी भएका छन्। लगानीकर्ताको सम्पत्ति ३३ अर्ब रुपैयाँले घटेको छ।
बैंकका सेयरधनीले मात्र ११ अर्ब रुपैयाँ बराबरको पुँजी गुमाएका छन्। वाणिज्य बैंक समूहको सूचक डेढ प्रतिशतले घटेको छ। वाणिज्य बैंकले खराब कर्जा उल्लेख्य रुपमा बढेको विवरण सार्वजनिक गरेपछि सेयरको भाउ सस्तो भएको हो।
वाणिज्य बैंकको खराब कर्जा ३.४ प्रतिशत पुगेको छ। खराब कर्जा बढेकाले बैंकहरुले असोजसम्म १६ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङलाई छुट्याउनुपरेको छ। जबकि राष्ट्र बैंकले असल कर्जा बापत बैंकहरुले छुट्याउँदै आएको १.३ प्रतिशत कर्जा जोखिम प्रोभिजनिङ रकम १.२५ प्रतिशतमा झारेको छ।
सरकारी स्वामित्वको कृषि विकास बैंकले असोजमै नोक्सानी बेहोर्यो। बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत नाघिसकेको छ। बैंक शीघ्र सुधारात्मक कारबाही (पीसीए) मा पर्दैछ। पाँच बैंकको यस्तो कर्जा ५ प्रतिशत नजिक छ।
पीसीए लागेमा बैंकहरूप्रतिको विश्वासमा त कमी आउँछ नै, नियामकले दिने सुविधा पनि खोसिनेछ।
बैंकहरुको नाफा १९ प्रतिशतले घटेको छ। पोहोर असोजमा १६ अर्ब ५५ करोड नाघेको खुद नाफा यसपालि साढे १३ अर्ब हाराहारीमा सीमित छ। वितरणयोग्य नाफामा ६३ प्रतिशतको गिरावट छ।
वाणिज्य बैंकप्रति कारोबारीहरुको नकारात्मक प्रतिक्रया सेयर बजार घट्नुको प्रमुख कारण भएको ब्रोकरहरुको भनाइ छ। उनीहरुका अनुसार सेयर बजारको सबैभन्दा ठूलो हिस्सेदार मन्दीको चपेटामा पर्दा बजार प्रभावित भएको हो।
‘कुनै एक वाणिज्य बैंकको व्यवसाय खस्किँदा त बजारको लयमा गडबढी हुन्छ भने यहाँ त समग्र क्षेत्र नै प्रभावित भएको छ। बजारमा यसैले गर्दा कम्पन महसुस गरियो,’ एक ब्रोकरले भने।
सेयर बजारमा ३२ प्रतिशत हिस्सा वाणिज्य बैंकहरुको छ। नबिल बैंक मात्रैले साढे ६ प्रतिशत ओगट्छ।
विकास बैंक र फाइनान्स कम्पनीहरुको व्यावसायिक दौड पनि त्यति राम्रो छैन। विकास बैंक समूहको सूचक १.६४ र फाइनान्स समूहको सूचक १ प्रतिशतले घटेको छ। बजार पुँजीकरणमा विकास बैंकको ४.६१ र फाइनान्स कम्पनीको १.७२ प्रतिशत हिस्सा छ।