काठमाडौं। सरकारले घरजग्गा कारोबारलाई पनि सेयर किनबेच सरह अघि बढाउने भएको छ।
ल्यान्ड मार्केटसम्बन्धी कानुन बनाउनुपर्ने भन्दै घरजग्गा व्यवसायीहरुले छलफल थालेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) का अध्यक्ष भेषराज लोहनी नेतृत्वमा गएको टोलीले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सचिव उदयराज सापकोटासहितका पदाधिकारीहरुसँग बुधबार भेटेर घरजग्गाको किनबेच गर्न ल्यान्ड मार्केटका लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेका हुन्।
घरजग्गामा औपचारिकभन्दा अनौपचारिक च्यानलबाट धेरै कारोबार भइरहेको अवस्थामा अनौपचारिक च्यानललाई रोकेर औपचारिक च्यानलमा ल्याउनुपर्ने माग व्यवसायीहरुको छ। जसका लागि महासंघले सेयरको खरिद बिक्री नेप्सेमा ब्रोकरमार्फत गरेजस्तै घरजग्गाको किनबेच गर्न यस्तै अभ्यास थाल्नुपर्ने भन्दै सरकारसँग छलफल अघि बढाएको हो।
घरजग्गा कारोबारका लागि सरकारले छुट्टै संयन्त्र स्थापना गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक कानुन निर्माण गर्न सुझाव व्यवसायीले दिएका छन्।
व्यवसायीहरुले त्यो संयन्त्रलाई ल्यान्ड मार्केट वा रियल इस्टेट मार्केट वा भूमि बजार जुनकुनै नाम दिन सकिने बताएका छन्। ‘यस किसिमको संयन्त्र निर्माण गरेर घरजग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्छ। कानुनमन्त्री, कानून सचिवलगायतको टिम यस विषयमा सकारात्मक देखिएको छ। ल्यान्ड मार्केटसम्बन्धी ऐन छिटोभन्दा छिटो ड्राफ्ट गर्ने विषयमा समझदारी बनेको छ,’ बैठकमा सहभागी एक घरजग्गा व्यवसायीले भने।
ल्यान्ड मार्केटलाई अघि बढाउन कानुन आवश्यक पर्ने भएकाले सरकारसँग छलफल अघि बढाएको महासंघले जनाएको छ।
मन्त्री गुरुङले घरजग्गा व्यवसायीहरुलाई ल्यान्ड मार्केटसम्बन्धी कानुन निर्माणका लागि आवश्यक सुझाव दिन आग्रह गरेका छन्। उनले सचिवसहितका कर्मचारीहरुलाई तुरुन्तै ल्यान्ड मार्केटसम्बन्धी ऐनको मस्यौदा निर्माण थाल्न निर्देशनसमेत दिएका छन्।
‘रियल इस्टेट कम्पनीलाई लाइसेन्स प्रणालीमार्फत नियमन गर्ने व्यवस्था होस्। यो गर्यो भने घरजग्गाको कारोबार व्यवस्थित हुन्छ, पारदर्शी हुन्छ। सरकारले राजस्व गुमाउनु पर्दैन। व्यवस्थित सहरीकरणमा योगदान पुग्छ। यसो भएमा नेपालको रियल इस्टेटमा स्वर्णिम युग सुरु भयो भन्ने स्थिति निर्माण हुन्छ। हामी त्यसमा लागिरहेका छौं,’ ती व्यवसायीले भने।